बुढेसकालमा बिर्सने रोग निम्त्याउने ‘अल्जाइमर्स’

डा रमेश कँडेल
आज सेप्टेम्बर २१ ‘अर्थात विश्व अल्जाइमर्स दिवस । अल्जाइमर्सबाट हुने डिमेन्सियाका बारेमा कुरा गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । अल्जाइमर्स उमेर बढ्दै जाँदा आउने एक किसिमको बिर्सने रोग हो । अल्जाइमर्स रोग हो भने यसबाट उत्पन्न हुने बिर्सने समस्यालाई डिमेन्सिया भनिन्छ । डिमेन्सिया हुने ७० प्रतिशत कारण अल्जाइमर्सलाई मानिन्छ । यसको मतलब १ सय डिमेन्सियाका बिरामी आउँदा ७० जनालाई डिमेन्सिया हुने कारक अल्जाइमर्स रहेको पाइन्छ ।
यो रोग जेष्ठ नागरिकहरुमा देखिन्छ र बिस्तारै मानिसले आफूले भर्खरै गरेका गतिविधिीहरु पनि बिर्सन थाल्छन्। यदि उपचार गरिएन भने रोग कडा हुँदै गएर आफू आफनो परिवार समाज सबै बिर्सेर बिरामीले आफैलाई हानी समेत गर्ने खालको स्थितीमा पुग्छन्।
नेपालमा अल्जाइमर्सका बारेमा अझै पनि धेरै जनालाई थाहा नै छैन्। यसको बारेमा चेतना बढ्न जरुरी छ । चेतना बढ्दै गएपछि मात्र यी रोगका बिरामी समयमै उपचारमा आउँछन् र समस्या कम गर्न सजिलो हुन्छ । अल्जाइमर्स रोग लागेको शुरुका ५ वर्ष देखि ८ वर्षमा यो रोग निकै कडा लक्षणका साथ देखा पर्न थाल्छ। त्यसैले निदान सकेसम्म छिटो गरेर बिरामीलाई उपचार गर्न जरुरी हुन्छ । शुरुमा भएमा उपचार सहज पनि हुन्छ ।
नेपालमा यकिन तथ्याकं त छैन् तर सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार ७८ देखि ८० हजारको हाराहारीमा अल्जाइमर्सका बिरामी रहेको पाइएको छ । जेष्ठ नागरिकमा मात्र देखिने यो समस्यामा परिवारले खासै वास्ता गर्दैन्न। शुरु शुरुमा केही कुरा बिर्सदा बुढेसकाल लाग्यो यस्तै त हो नि भनेर वास्ता नगर्ने चलन धेरै परिवारमा छ । त्यसो त बुढेसकाल लाग्दै गर्दा अनेक स्वास्थ्य समस्या देखिने गर्छन्। जुन समस्यालाई परिवारले नियमित र सबैलाई जेष्ठ नागरिकलाई यस्तै हुन्छ भनेर सामान्य रुपमा लिने गर्छन । हामी धेरैले साना साना नानी घरमा सामान्य बिरामी पर्दा समेत दौडेर अस्पताल जान्छौं तर वृद्धवृद्धालाई समस्या देखिँदा भने उमेरका कारण आएको हो केही हुँदैन भनेर सामान्य रुपमा लिंदै बस्छौं । जसका कारण बुढाबुढीको रोगलाई सिरियस रुपमा लिइँदैन्। त्यसमध्ये अल्जाइमर्स पनि पर्छ ।
सामान्यतया ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम बढी हुन्छ भने हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले समस्या बढ्दै जान्छ । यो रोग के कारणले हुन्छ भन्ने कारण पत्ता नलागे पनि शुरुदेखि नै क्यान्सर, मुटुरोग, मधुमेह ,उच्च रक्तचाप, धुम्रपान मद्यपान गर्ने लाई अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढी हुने पाइएको छ ।
अल्जाइमर्स हुँदा बिरामीले शुरुमा आफूले भर्खर मात्र गरेको काम बिर्सन्छ । जस्तो एक छिन अघि खाना खाएको भए पनि खाएको छैन् भन्ने ठानेर खान बस्नु, एउटै काम दोहोर्याएर गर्नु जस्ता क्रियाकलाप गर्न थाल्छ । पछि यही समस्यालाई वेवास्ता गर्दा आफनो परिवारका सदस्यलाई नै बिर्सने समेत हुन्छ । रोग कडा हुँदा यतिसम्म हुन्छ की श्रीमान श्रीमती पनि चिन्न सक्दैनन्। उनीहरु सम्पूर्ण रुपमा अरुमा भर पर्न बाध्य हुन्छन्। परिवारको एक जनाले छोड्नै नमिल्ने हुन जान्छ । विश्वमा अहिले दीर्घ स्याहार केन्द्रमा सबैभन्दा बढी अल्जाइमर्सका बिरामी रहेका छन् ।
त्यसैले अल्जाइमर्स जेष्ठ नागरिकमा देखिने दीर्घरोग हो । यसलाई सम्पूर्ण रुपमा निको पार्न नसकिए पनि नियन्त्रण गरेर बिरामीको जीवनयापन सजिलो बनाउन भने सकिन्छ । त्यसैले घरमा जेष्ठ नागरिक भएका हरेकले अल्जाइमर्स बिर्सने रोग हो यसलाई उपचार गरे नियन्त्रण गर्न सकिन्छ भन्ने बुझ्न जरुरी छ ।
(डा कँडेल जेष्ठ नागरिक रोग विशेषज्ञ हुन्।)
भिडियो:
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु