यसरी जोगिन्छ विश्वको वार्षिक ७२ खर्ब : सबै आमाले गराउनुपर्छ बच्चालाई स्तनपान

नेपालमा मात्र होइन विश्वका धेरै देशमा स्तनपानको महत्त्वबारे जानकारी नहुँदा धेरै आमाले आफ्ना सन्तानलाई आफ्नै दूध खुवाइरहेका छैनन्। स्तनपानबारे समाजमा विभिन्न भ्रम छ, बिगौती दूध बच्चालाई खुवाउन हुँदैन, निरन्तर स्तनपान गराउँदा आमाको स्वास्थ्य बिग्रिन्छ, आमाको दूधभन्दा बजारका बट्टाका दूध बढी पौष्टिक हुन्छन्, इत्यादि।
बालबालिकाको स्वास्थ्यमा पर्ने असर
गलत धारणाका कारण धेरै आमाले आफ्ना सन्तानलाई स्तनपान गराउँदैनन्, जसले गर्दा नवजात शिशुहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुन्छ। कुपोषण हुन्छ। कैयौँ बालबालिका विभिन्न किसिमका रोगबाट पीडित हुन्छन्। यसैका कारण कैयौँ बालबालिका ज्यान गुमाउन बाध्य हुन्छन्।
स्तनपान अभ्यासको सुधार गरिए वार्षिक रूपमा आठ लाख ८२ हजार शिशुहरुको ज्यान जोगाउन सकिने एक तथ्यांकले देखाएको छ।
आर्थिक रूपमा पर्ने असर
यो त भयो स्तनपान नगराउँदा बालबालिकाको स्वास्थ्यमा आउने दुस्परिणाम। आर्थिक दृष्टिले पार्ने असर पनि कम छैन। पछिल्लो समय आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीमा अत्यधिक वृद्धि भएको छ। सन् २०१४ मा ४५ खर्ब खर्च भएको थियो भने सन् २०१९ मा यो खर्च बढेर ७२ खर्ब हुने अनुमान गरिएको छ। जसका कारण परिवार, समाज र देशलाई आर्थिक भार बढिरहेको छ।
विश्वव्यापी तथ्यांक हेर्ने हो भने स्तनपान नगराउँदा हुने वार्षिक अनुमानित खर्च तीन सय खर्ब छ। यसलाई आमाबाट निःशुल्क आउने स्तनपानबाट कम गर्न सकिन्छ। आमाले आफ्ना बच्चालाई स्तनपान मात्र गराउने हो भने उनीहरूलाई कुपोषणबाट जोगाउन सकिन्छ। पोषणमा भएको लगानीको प्रतिफल बढाउन पनि यसले त्यत्तिकै मद्दत गर्छ।
कामकाजी महिलाको सन्दर्भमा
कतिपय सन्दर्भमा कामकाजी महिलाहरू चाहेर पनि बच्चालाई आफ्नै दूध खुवाउन सक्दैनन्। तर सार्क देशमध्ये बंगलादेश र भारतमा महिलालाई स्तनपानकै लागि छ महिना सुत्केरी बिदा दिइन्छ। श्रम ऐनमा १४ हप्तासम्म तलबी बिदा दिनुपर्ने र थप दुई महिना बेतलबी बिदा दिनुपर्ने उल्लेख गरेको छ। नेपालमा बच्चालाई स्तनपान गराउनकै लागि दुई महिना मात्र सुत्केरी बिदा दिइने सन्दर्भबाट पनि यसकाे महत्त्व उजागर हुन्छ।
नीति के भन्छ?
त्यसो त नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली २०५१) छ। यसले स्तनपानको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणसम्बन्धी बुँदाहरु स्पष्ट उल्लेख गरेको छ। यसअन्तर्गत : स्तनपानको उचित प्रवर्धन गर्नुपर्ने स्वास्थ्य कार्यकर्ताकताहरुले उत्पादक वा वितरकबाट कुनै प्रकारको आर्थिक वा भौतिक उपहार स्वीकार गर्न नहुने, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवर्धन गर्न नहुने, रेडियो, टेलिभिजन, सिनेमा, टेलिफोन, पत्रिका आदिमा विज्ञापन गर्न नहुने लगायतका बुँदा छन्।
समाधान के?
नेपालमा शिशु जन्मेको तीन दिनभित्र ५७ प्रतिशत शिशुलाई बट्टाको दूध ख्वाउने गरिएको तथ्यांक छ। नेपालका फार्मेसी पसलहरुमा आमाको दूधलाई प्रतिस्थापन गर्ने अनेकौँ खाद्यपदार्थ सजाएर राखिएकोे हुन्छ। सञ्चार माध्यममा समेत यस्ता वस्तुका आकर्षक विज्ञापन आउने गरेकाले मानिसहरू यतापट्टि लोभिने गरेको हेलेन केलर इन्टरनेशनल नेपालका सिनियर प्रोगाम म्यानेजर डा.अतुल उपाध्याय बताउँछन्।
‘स्तनपानको महत्त्वबारे सर्वप्रथम आमालाई बुझाउन जरुरी छ’ उपाध्याय भन्छन्, ‘यस्ता वस्तु बेच्ने पनि सूचित हुनुपर्छ।’ उनका अनुसार आमा सचेत भएर स्तनपान गराउने हो भने विश्वकै आर्थिक भार कम हुने पक्का छ। ‘आमाको दूधलाई विश्वका अन्य कुनै पनि वस्तुले प्रतिस्थापन गर्नै सक्दैन भन्ने कुरा सबैले बुझ्नुपर्छ’, उनी थप्छन्’, त्यसपछि स्वतः यस्ता वस्तुहरू आफैँ कम हुँदै जान्छन्।’
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा