जडिबुटी चिन्ने र स्वास्थ्यप्रति सचेत बन्ने दिन

साउन १ अर्थात् साउने संक्रान्ति। यो पर्वको साँस्कृतिक, सामाजिक महत्त्व त छँदैछ, स्वस्थ रहन आम मानिसमा सचेतना फैलाउन पनि यसको महत्त्व छ।
यो दिन घरघरमा लुतो फ्याँक्ने काम गरिन्छ। नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टाे चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ। त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास रहेको छ। याे अन्धविश्वास मात्र हाेइन।
नेपाल कृषिप्रधान देश हाे। असारमा अधिकांश मानिस खेतीपातीमा व्यस्त हुन्छन्। अधिकांश समय हिलोमा रहनुपर्दा आँखाले देखिने नदेखिने किराले छालामा विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी लुतोलगायतका समस्याले सताउँछ।
खेतबारीमा काम गर्ने क्रममा सरसफाइमा ध्यान नपुग्दा यस्ता समस्या आउँछन्। सार्काेटिप्स स्क्याबीनामक सूक्ष्म जीवाणुबाट लुतो सर्छ। यसकाे उपचार हाम्रै घरआँगन, वनजंगललगायतमा पाइने जडिबुटीबाट गर्न सकिन्छ। लुतोको आधुनिक उपचारपद्धति र औषधि धेरै भए पनि आयुर्वेदिक औषधी नै उपयुक्त हुने देखिएको छ।
चर्मराेगमा गाउँघरमा सहजै पाइने निमका बिरुवा प्रयाेग गर्न सकिन्छ। निमका साथै शुद्ध बेसार पनि प्रयोग गर्न सकिन्छ। घ्युकुमारीको प्रयोगले पनि धेरै चर्मरोग निको पार्न सकिन्छ।
साउने संक्रान्तिमा यस्ता वनस्पति जम्मा गर्ने मात्र हाेइन प्रयाेग गरेर लाभ लिनु पनि भनेकाे हाे। अहिलेचाँहि यी वनस्पति शरीरमा छुवाएर मात्र बाहिर फ्याँक्ने चलन छ।
दियाे वा अगुल्टो बालेर घुमाउनुको अर्थ किराफट्यांग्रा धपाउनु हाे। तितेपातीलगायत वनस्पतिलाई सुकाएर बाल्दा बर्खायाममा आउने लामखुट्टेजस्ता किराहरू निर्मूल हुन्छन्। त्यसैले हाम्रा खेतबारीमा भएका जडिबुटी चिन्न, तिनकाे महत्त्व बुझेर लाभ लिन तथा स्वास्थ्यप्रति सचेत बन्न याे पर्वकाे विशेष महत्त्व छ।
आयुर्वेदका जानकार डा. सम्माेद आचार्यसँग आयुषा अर्यालले गरेकाे कुराकानीमा आधारित।
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति