बहु प्रतिभाकी धनी प्राडा श्रेष्ठ, गर्दैछिन् दोस्रोपटक एकल चित्रकला प्रदर्शनी
हेल्थ टिभी अनलाइन : प्राडा सविना श्रेष्ठ पेशाले बाल आँखा रोग विशेषज्ञ हुन् र सोही विषयको प्राध्यापक पनि । तर उनको परिचय त्यतिमै मात्र सिमित छैन्। उनी आफनो पेशासँगै गायन क्षेत्रमा पनि उत्तिकै अब्बल छिन्। एकल र संयुक्त गरेर उनले थुप्रै गित गाइसकेकी छिन्।
यसैगरी उनका कविता संग्रह तथा संस्मरण किताब पनि बजारमा आइसकेका छन्। उनको अर्को ठूलो शोख र रुचि हो चित्र कोर्नु । चित्र कोर्ने मात्र होइन । कुनै व्यावसायिक चित्रकार भन्दा उनका चित्र कम छैनन्। आफूलाई सधैं व्यस्त राख्न रुचाउने डा श्रेष्ठले यसअघि पनि ४ वर्ष अघि एकल चित्रकला प्रदर्शनी गरिसकेकी छिन् । शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उनले सो प्रदर्शनी गरेकी थिइन । त्यसबेला उनले १०१ वटा चित्र प्रदर्शनीमा राखेकी थिइन । यसपटक उनले शनिबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा दोस्रो एकल चित्रकला प्रदर्शनी गर्न लागेकी छिन्। जसमा १२४ वटा चित्र प्रदर्शनीमा राख्न लागिएको छ ।
उनलाई चित्र कोर्न केले प्रेरित गर्यो भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ , ‘मलाई स्केच गर्न स्कुल पढ्ने बेलादेखि नै रुचि थियो । तर पढाई, डाक्टरी पेशा, परिवारको जिम्मेवारी सबैले त्यो त्यसै दबेर बस्यो । पछि जब म नेपाल आँखा अस्पतालको मेडिकल निर्देशक हुँदा सन् २०१५ मा विश्व दृष्टि दिवसको दिन आर्ट गर्ने कार्यक्रम राखें त्यहाँदेखि फेरि म भित्रको त्यो रुचि जाग्यो र त्यही दिनदेखि चित्र कोर्न सुरु गरें। रुचिलाई अब पूरा गर्नुपर्छ भनेर चित्र कोर्न थालेकी हुँ । त्यति बेला सम्म मलाई राम्ररी ब्रस समाउन पनि आउँदैनथ्यो । अहिले त समय पायो की म क्यानभास लिएर बसिहाल्छु । यही ठाउँ भन्ने नै हुँदैन ।’ उनी भन्छिन, इच्छाशक्ति सबैभन्दा ठूलो हो रहेछ, आफूले गर्छु भनेर लागेपछि सकिंदोरहेछ । मेरो हकमा पनि त्यही भएको हो । उनले अहिले प्रदर्शनीमा राख्न लागेको चित्र ४ वर्ष भित्र उनले बनाएका चित्र हुन् ।
उनका चित्रहरु जीवन, जगत, प्रकृति माया, जनजीवनसँग सम्बन्धित हुन्छन् । चित्र कोर्दा के कुरा मनमा आउँछ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म चित्र कोर्दा शतप्रतिशत त्यसमै डुब्छु । कहिलेकाहीं त के बनाउने भनेर होइन के बन्छ भनेर पनि चित्र बनाउन थाल्छु त्यही चित्र झन उत्कृष्ट बनेको हुन्छ । तर कहिलेकाहीं भने आफूले देखेका, भोगेका भेटेका ठाउँहरु पनि चित्रमा उतार्छु । म अझै व्यावसायिक चित्रकार जस्तो भइसकें जस्तो लाग्दैन किन की यो मेरो शौख हो । रहर पूरा गर्न यो सब गरिरहेकी छु । धेरै सिक्दै पनि छु उनी थप्छिन्। तर धेरै जनाले राम्रो छ भनेर प्रशंसा गरिंदिदा भने आफू फुरुंग पर्ने उनी बताउँछिन्।
चित्र कोर्नु भनेको मेडिटेसन गर्नु जस्तै हो । उनी आफूले यसलाई एक किसिमको मेडिटेसन कै रुपमा लिएको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो चित्रकलाको एउटै उद्धेस्य चित्रमार्फत सबैमा पोजेटिभ म्यासेज फैलाउनु हो ।’
डा श्रेष्ठको एकल चित्रकला प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिल बबरमहलमा शनिबारदेखि बुधबारसम्म ५ दिन चल्नेछ ।
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन