Health TV Online
Health TV Online
Health TV Online

‘मधुमेहको उपचारमा इन्सुलिन अन्तिम विकल्प हो भन्ने भ्रम छ’

‘मधुमेहको उपचारमा इन्सुलिन अन्तिम विकल्प हो भन्ने भ्रम छ’

डा रूपक भारी
मधुमेह रोग विशेषज्ञ,  आरुस लाइफस्टाइल अस्पताल

रगतमा जब आवश्यकताभन्दा बढी ग्लुकोज वा चिनीको मात्रा हुन्छ, त्यस अवस्थालाई मधुमेह भएको भनिन्छ । धेरै जनाले बोलीचालीको भाषामा यसलाई चिनीरोग पनि भन्ने गर्छन । हामीले खाएको जुनसुकै खानेकुरा पनि पाचन भइसकेपछि अन्तिममा ग्लुकोजमा परिणत हुने गर्छ । उक्त ग्लुकोजलाई रगतबाट शरीरको विभिन्न कोषमा पुर्‍याउने काम इन्सुलिनले गर्छ । जसबाट शरीरलाई उर्जा प्राप्प्त हुन्छ । इन्सुलिन उत्पादन गर्ने काम चाहिं प्याङ्क्रियाज ग्रन्थीले गर्छ । कहिलेकाहीं प्याङ्क्रियाजले विभिन्न कारणले इन्सुलिन उत्पादन गर्न सक्दैन वा कम उत्पादन गर्छ । त्यस अवस्थामा रगतमा भएको ग्लुकोजको मात्रा बढ्छ र समस्या देखिन थाल्छ ।

इन्सुलिनको उत्पादन कति हुन्छ भन्ने अवस्थाका आधारमा मधुमेहलाई दुई भागमा विभाजन गरिन्छ । टाइप १ र टाइप २ । टाइप वान मधुमेहमा इन्सुलिन उत्पादन नै हुँदैन । त्यसैले यस्ता बिरामीलाई बाहिरबाट सुईका माध्यमबाट इन्सुलिन दिनैपर्छ । यो खालको मधुमेह विशेष गरी बालबालिकामा हुने गर्छ । यो भनेको प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन कति पनि उत्पादन गर्न नसक्ने अवस्था हो । यो मधुमेहमा प्याङ्क्रियाज ग्रन्थी पूर्ण रुपमा निष्क्रिय हुन्छ । दिनमा कतिपटक इन्सुलिन लगाउने भन्ने कुरा चाहिं बिरामीको अवस्था हेरेर विज्ञ डाक्टरले निर्णय गर्छन । यस्ता बिरामीको लागि इन्सुलिन नै जीवन बचाउने एउटा उपाय सुई हो ।

टाइप २ मधुमेह वयस्कहरुमा देखिने मधुमेह हो । यो खासगरी जीवनशैलीका कारण हुने गर्छ । बढी मोटा व्यक्ति, शारीरिक रुपमा निस्क्रिय व्यक्ति, खानेकुरामा ध्यान नदिने, बढी तनावका कारण यो रोग बढी देखिन्छ । यसमा इन्सुलिनले केही मात्रामा काम गरेको हुन्छ तर चाहिए जति भने उत्पादन भएको हुँदैन वा काम गरेकाे हुँदैन। यसमा पनि उच्च सुगर लिएर आएका बिरामीहरू छन् भने तुरुन्तै नियन्त्रण गर्न सुरुकै अवस्थामा इन्सुलिन दिइन्छ ।

इन्सुलिन लिन आनाकानी !

डाक्टरले आफूखुशी इन्सुलिन लेख्ने कुरा हुँदैन । तर मधुमेहको उपचारमा सबैभन्दा बढी समस्या भनेको बिरामी इन्सुलिन लिनै मान्दैनन् । इन्सुलिन लिने भनेको अन्तिम विकल्प हो भन्ने भ्रम रहेको छ । त्यसैले इन्सुलिन लगाउनपर्नेले पनि अहिले औषधि मात्र खान्छु भनिरहेका हुन्छन् । इन्सुलिन भनेको लाइफ सेभिङ सुई हो । इन्सुलिन लगाउनैपर्ने बिरामीले म खाना बारेर, औषधि खाएर सुगर नियन्त्रण गर्छु भनेर हुँदैन । इन्सुलिन लगाएर सुगर नियन्त्रण गर्दैै पछि नर्मल लेबलमा आएपछि त्यसलाई बिस्तारै हटाउन मिल्छ । तर सुरुमै लगाउँदिन भन्दा सुगर नियन्त्रण नहुने मात्र होइन जोखिम पनि बढेर जान्छ ।

इन्सुलिनलाई खासमा  विकसित देशहरुमा पहिलो प्राथमिकतामा राखिन्छ। तर हामीकहाँ यो त अन्तिममा केही उपाय नलागेपछि मात्र लगाउने हो भन्ने सोचेर बिरामी आफै लगाउनै मान्दैनन । यो समस्या गाउँघरमा नजानेका भन्दा पढेलेखेका बिरामी मै बढी छ । यो एकपटक लगाउन सुरु गरेपछि सधैं लगाइरहनपर्छ, बानी पर्छ भन्ने भ्रम छ । त्यसैले मधुमेहमा इन्सुलिन सुरु गर्नै गाह्रो छ । टाइप वान मधुमेहमा त इन्सुलिन लगाउनुको विकल्प नै छैन् भने टाइप २ मधुमेहमा पनि कतिपय बिरामी असाध्यै धेरै सुगर लिएर आउने, वषौंदेखिको पुरानो रोग तथा अन्य जटिलता पनि हुने अवस्था भएमा सुरुमै इन्सुलिन चलाउनैपर्ने हुन्छ । तर यो कुरा बिरामीलाई उहाँहरुकै फाइदाको लागि हो भनेर बुझाउन सकिएको छैन्।

कतिपय अवस्थामा इन्सुलिनले तत्काल मधुमेह नियन्त्रणमा राख्छ र त्यसपछि औषधि मात्रै खाए पनि हुनसक्छ । वा औषधि पनि कम गर्दै लान सकिन्छ । हामीकहाँ कयौं त्यस्ता बिरामी हुनुहुन्छ जसले दिनमै ३ \४ पटक इन्सुलिन लगाएर पनि अहिले साे बन्द गरेर  सामान्य औषधिले मात्र काम गरिरहेको छ । उहाँहरु स्वस्थ जीवनयापन गरिरहनुभएको छ । कतिपय अवस्थामा औषधिले मात्र नियन्त्रणमा राख्न नसकिने हुँदा इन्सुलिन लाउनुपर्ने हुन्छ यो बिरामीले बुझ्न जरुरी छ । वर्षौ इन्सुलिन लिएर मधुमेहलाई व्यवस्थापन गरेर सफल भएका थुप्रै बिरामीहरुका उदाहरण हामीसँग छन्। त्यसैले इन्सुलिनसँग बानी पर्छ, सुई हो भनेर डराउन पर्दैन । यसले तपाइँकाे जीवन बचाउने तथा विभिन्न जटिलताबाट जाेगाउन पनि सहयोग गर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?