प्रोस्टेट ग्रन्थी बढ्दा र प्रोस्टेट क्यान्सर हुँदा देखिने लक्षणहरु उस्तै हुन्छन्

डा रोविन जोशी
सेप्टेम्बर महिनालाई विश्वभर प्रोस्टेट क्यान्सर सचेतना महिनाका रुपमा लिने गरिन्छ । यो महिनाभर प्रोस्टेटका बारेमा छलफल गर्ने तथा जनचेतनामूलक कार्यक्रमहरु गर्ने तथा प्रोस्टेट क्यान्सर स्क्रिनिङ क्याम्पहरु गर्ने गरिन्छ । पाठेघरको मुखको क्यान्सरले महिलालाई सताए जस्तै पुरुषलाई सताउने क्यान्सरको रुपमा प्रोस्टेट क्यान्सरलाई लिइन्छ । प्रोस्टेट भनेको पुरुषमा हुने एक प्रकारको ग्रन्थी हो । जुन सामान्य अवस्थामा ओखर आकारको हुन्छ । यो पिसाबनलीको तलतिर रहेको हुन्छ भने यसको बीचबाट पिसाब नली गएको हुन्छ ।
उमेर बढ्दै जाँदा टेस्टोस्टेरोन पुरुष हर्मोनका कारण प्रोस्टेट ग्रन्थी पनि बढ्दै जान्छ । जब यो ग्रन्थी बढ्छ त्यसपछि पिसाब सम्बन्धी समस्या आउने गर्छ । सामान्यतया ४० वर्षपछि यो ग्रन्थी बढ्ने गरेको पाइन्छ । यसैगरी प्रोस्टेटको संक्रमण तथा प्रोस्टेट क्यान्सर पनि पुरुषमा हुने मुख्य समस्याहरु हुन् । उमेर बढ्दै जाँदा प्रोस्टेट ग्रन्थीमा समस्या त छँदैछ क्यान्सर हुने सम्भावना पनि बढ्दै जान्छ।
प्रोस्टेट बढेपछि वा क्यान्सर भएपछि आउने लक्षणहरु के के हुन् त ?
-पिसाब छिटो छिटो लाग्ने
-राती धेरैपटक पिसाब फेर्न उठ्न पर्ने
-पिसाबको धारा मसिनो हुने
-पिसाब फेरेर आएपछि पनि अझै लागे जस्तै हुने
-पिसाब गर्न बल लगाउन पर्ने
-पिसाबमा रगत देखा पर्ने
-पिसाब गर्दा पोल्ने, दुख्ने
माथिका यी लक्षण देखिएमा जाँच गराउन गइहाल्नुपर्ने हुन्छ । सुरुवाती अवस्थामा जाँच गराएमा औषधि उपचारबाटै यसलाई निको बनाउन सकिन्छ । तर ढिला भएमा एडभान्स स्टेजमा गएमा शल्यक्रिया गर्नुपर्ने तथा उपचारमा बढी समय लाग्न सक्छ । प्रोस्टेट ग्रन्थी बढेर आउने लक्षण र प्रोस्टेटको क्यान्सर भएर आउने लक्षण उस्तै उस्तै हुने भएकाले हामीले प्रोस्टेटको स्क्रिनिङ गर्दा कतै क्यान्सर पो होकी भनेर पनि जाँच गर्ने गर्छौ। प्रोस्टेटको जाँच गर्दा हातले छामेर, अल्ट्रासाउन्ड गरेर तथा प्रोस्टेटको विशेष जाँच पीसीएस भन्ने गरिन्छ । यसबाट प्रोस्टेट ग्रन्थी कति बढेको छ, कुन अवस्थामा छ, कति कडा छ पत्ता लाग्छ । यी जाँचमा क्यान्सरको शंका लागेमा बायोप्सी तथा एमआरआई गरेर कन्फर्म गर्ने गरिन्छ ।
यदि क्यान्सर नै भएको भए कुन स्टेजमा छ साथै बिरामीको उमेर कति छ सो अनुसार उपचार सुरु गरिन्छ । शल्यक्रिया, रेडियोथेरापी, कस्तो उपचार भन्ने बिरामीको अवस्था हेरेर निर्णय हुन्छ । प्रोस्टेट ग्रन्थीको क्यान्सर स्लो ग्रोइङ क्यान्सर हो । यो बेलैमा पत्ता लगाएर उपचार गरेमा निको हुन्छ र बिरामी धेरै वर्षसम्म स्वस्थ भएर बाँच्न सक्छन । तर हामीकहाँ जहिले पनि बिरामीहरु ढिलो गरी उपचारमा आउने कारणले उपचारमा समस्या आउने गर्छ । परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएमा परिवारका अन्य पुरुषले वर्षको एकपटक प्रोस्टेट जाँच गराउन आवश्यक हुन्छ । यसलाई सुरुवाती चरणमै उपचार गर्न सके निको पार्न सकिन्छ ।
(कन्सल्टेन्ट यूरो अंकोलोजिस्ट डा जोशी नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा यूरो अंकोलोजी युनिट हेड हुन् ।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै