ल्याब जाँचसम्बन्धी भ्रम र यथार्थ !

डा प्रतिक राजकर्णिकार
हामीकहाँ जनमानसमा ल्याब जाँचसम्बन्धी धेरै नै भ्रमहरु रहेको पाइन्छ । पहिलो कुरा त अझै पनि ल्याबमा गएर स्वास्थ्य परीक्षण गर्ने भनेको बिरामी भएपछि मात्र हो भन्ने गलत धारणा रहेको पाइन्छ ।
यसले गर्दा अन्य समयमा कोही ल्याबमा केही परीक्षण गर्न गयो भने के भएछ भन्ने प्रश्न गरिन्छ । यसैगरी अर्को भ्रम भनेको ल्याबको जाँचपछि आउने परिणामलाई आ आफनो ढंगबाट मूल्यांकन गर्ने । कुनै व्यक्तिको तौल, उचाई, स्वास्थ्य अवस्था, उमेर धेरै कारणहरुले गर्दा उसको रिपोर्टको प्यारामिटरहरु फरक पर्न सक्छन । तर धेरैले अर्को मेरो व्यक्तिको त यस्तो रिपोर्ट हुँदा यस्तो भएको थियो मेरो पनि त्यही हो की भन्दै अनुमान लगाएको देखिन्छ । वास्तमा त्यस्तो गर्नु उचित होइन । रिपोर्ट आइसकेपछि आफूले हेरेर अनुमान गर्ने, अरुलाई देखाउने, दाँज्ने भन्दा पनि आफनो चिकित्सकलाई देखाएर के भएको हो सोध्नुपर्ने हुन्छ । यसो गर्दा आफूलाई भएको समस्या वा अवस्थाबारे विस्तृतमा जानकारी हुन्छ ।
अर्को कुरा ल्याबमा जाँच गर्न जाने भनेपछि कतिपय व्यक्ति बिहानैदेखि भोको बसेर पानी पनि खाएको छैन भन्दै आउनुहुन्छ । तर सबै ल्याब जाँचहरुमा भोकै बस्नुपर्दैन । केही जाँचहरु खाना खाएपछि गर्न सकिन्छ । तर उक्त कुराको जानकारी ल्याबमा जानुअघि नै चिकित्सकलाई सोधेर गएमा आफूलाई सजिलो हुन्छ । कति घण्टादेखि खाना नखाने वा कस्तो खाना नखाने सम्बन्धित चिकित्सकले जानकारी दिन्छन। जसले गर्दा रिपोर्टमा तलमाथि हुँदैन ।
सबैभन्दा महत्वपूर्ण कुरा यहाँ उल्लेख गर्न खोजिएको केहो भने यदि तपाइँ ३० वर्षभन्दा माथि हुनुभएको छ भने अब चाहिं हरेक वर्ष आफनो स्वास्थ्य ठीक छ छैन भनेर जाँच गर्न जरुरी हुन्छ । कम्तीमा पनि वर्षमा एकपटक आफनो जन्मदिन वा कुनै अवसर पारेर आफू ठीक छु छैन्। मुटु, मिर्गौला, कलेजो लगायतले राम्ररी काम गरिरहेका छन् छैनन् भन्ने जानकारी लिन सकिन्छ । यसरी नियमित जाँच गर्दा धेरै नै फाइदा पुग्छ ।
पहिलो कुरा त नियमित जाँच गर्दा केही समस्या परिहालेमा सुरुमै अवस्थामा पत्ता लाग्छ र उपचारमा सजिलो हुन्छ । दोस्रो कुरा केही समस्या भएको छैन भने पनि ढुक्क हुन सकिन्छ । त्यसैले बिरामी भएपछि जाँच गर्न जाउँदा अहिले केही भएकै छैन भनेर बस्ने भन्दा पनि रोग नै नलाग्दा पनि नियमित परीक्षण गर्ने बानी बसाल्न जरुरी छ । यसले धेरै क्षति भइसकेपछि लाग्ने उपचारको खर्च जोगाउन पनि मद्दत गर्छ भने धेरै हानी हुनबाट पनि जोगाउँछ । धेरै रोगहरु सुरुमा लक्षण नै नदेखिएर पनि भित्रभित्र धेरै हानी गर्ने हुन्छ । लक्षण देखिहालेमा पनि सो बेलासम्म रोग निकै निकै जटिल अवस्थामा भइसकेको हुनसक्छ त्यसैले हामीले कम्तिमा पनि वर्षमा एकपटक आफनो स्वास्थ्य जाँच गर्ने बानी बसाल्नैपर्छ ।
(प्याथोलोजिस्ट डा राजकर्णिकार आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights