Health TV Online
Health TV Online
Health TV Online

स्तन क्यान्सरको जोखिम कसलाई ?

स्तन क्यान्सरको जोखिम कसलाई ?

स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । तर अधिकांसको कुरा गर्दा महिलाको उमेर जति बढ्दै जान्छ त्यति नै यो रोग लाग्ने सम्भावना पनि बढी भएर जान्छ । सामान्यतया ४० वर्ष पुगेपछि स्तन क्यान्सरको जोखिम प्रत्येक वर्ष बढ्दै जान्छ भनेर भनिन्छ । तर यसो भन्दैमा सानो उमेरमा क्यान्सर हुँदैन भन्ने होइन । अहिले हामीले २०् २२ वर्षमै स्तन क्यान्सर भएको पनि देखेका छौं र उपचार पनि गरेका छौं । तर यस्तो केस कम मात्र हुन्छ ।

अहिले स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सरको रुपमा अघि आएको छ । नेपालमा पनि केही वर्षयता स्तन क्यान्सर भएर उपचारमा आउनेको संख्या हेर्दा निकै बढ्दो छ । सामान्यतया ४० देखि ५० वर्ष उमेर समूहका महिलाहरुमा स्तन क्यान्सर धेरै हुने भनिन्छ । संख्याको कुरा गर्दा यो समूह ठूलो छ ।

हरेक केटी मान्छे स्तन क्यान्सरको जोखिममा हुन्छन् । हुन त पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ तर एकदमै कम मात्रामा । स्तन क्यान्सर जति सानो उमेरमा भयो त्यो उपचार गरेर निको भएपछि फेरि फर्केर आउने सम्भावना पनि त्यत्तिकै रहन्छ । त्यसैले सानो उमेरमा स्तन क्यान्सर भएकाले नियमित जाँच गरिरहनुपर्छ । यसो गर्दा केही गरी फेरि क्यान्सर भएमा छिटो पत्ता लागेर उपचार गर्न सकिन्छ ।

स्तन क्यान्सर किन हुन्छ भन्ने हामीसँग कुनै ठोस उत्तर छैन्। केही वंशाणुगत कारण बाहेक स्तन क्यान्सरको कारण पत्ता लागेको छैन्। त्यसैले यसबाट बच्नका लागि गर्न सकिने भनेको समयमै पहिचान र समयमै उपचार नै हो । अरु हाम्रो हातमा छैन् । जति छिटो उपचारमा आयो त्यति नै रोग निको हुने सम्भावना बढी हुन्छ । स्तनमा देखिएका स साना परिवर्तनमा चनाखो भएर जाँच गराउने गरेमा स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ । त्यसका लागि आफै सचेत हुनुपर्छ । तर हामीकहाँ अप्ठेरो मान्ने तथा लाज मान्ने कारणले पनि धेरै युवतीहरु स्तनका आएका परिवर्तनबारे खुलेर कुरा गर्न सक्दैनन । जसले गर्दा रोग बढ्दै जान्छ । जति रोग बढ्दै जान्छ त्यति नै उपचारमा समस्या मात्र हैन निको गराउन पनि गाह्रो हुन्छ ।

लक्षण देखिएपछि त छँदैछ । हरेक महिलाले आफू ४० वर्षपुगेपछि नियमित स्तनको स्क्रिनिङ गर्न जरुरी हुन्छ । यसले क्यान्सर भए नभएको पत्ता लगाउन सहयोग गर्छ । यसका लागि चिकित्सकको सल्लाह अनुसार म्यामोग्राफी, अल्ट्रासाउन्ड गर्न सकिन्छ । स्तन क्यान्सरलाई समयमै थाहा पाउन सके र समयमै उपचार गरेमा निको हुन सक्छ । तर यसका लागि लक्षणहरुबारे जानकार हुनुपर्छ । यदि स्तनमा गाँठागुँठी वा गिर्खा देखिएको छ, त्यस्तै गिर्खा काखी वा घाँटीमा पनि छ, स्तनको छाला सुन्तलाको बोक्राजस्तो भएको छ भने यो क्यान्सर हुनसक्छ । यसैगरी स्तनको मुन्टा भित्र पसेको छ, पिप वा तरल पदार्थ बगेको छ भने यो पनि क्यान्सरको लक्षण हुनसक्छ । त्यसैले तुरुन्त ढिला नगरी अस्पताल गई परीक्षण गराउनुपर्छ ।

रोग लागिहालेमा स्तन क्यान्सरको सम्पूर्ण उपचार नेपालमै सम्भव छ । पहिले पहिले जस्तो बाहिर धाउनुपर्दैन । उत्कृष्ट र दक्ष स्तन क्यान्सर विशेषज्ञहरु नेपालमै छन् । यति मात्र होइन । पहिले पहिले स्तन क्यान्सर भएपछि पुुरै स्तन नै काटेर फाल्ने गरिन्थ्यो । तर अहिले त स्तन बचाएर तथा फाल्नै परेमा फेरि पहिलेकै जस्तै स्तन बनाएर पनि शल्यक्रिया गर्न सकिने प्रविधि भित्रिएको छ भने त्यही कामका लागि विषेषज्ञ डाक्टर पनि उपलब्ध छन् । अब क्यान्सरकै कारण महिलाले आफनो सौन्दर्यसँग जोडिएको स्तन गुमाउनुपर्ने बाध्यता छैन् । म फेरि पनि के भन्न चाहन्छु भने स्तन क्यान्सर जोकोहीलाई पनि हुनसक्छ । यसबाट बच्ने एउटै उपाय नियमित जाँच, समयमै निदान र समयमै उपचार मात्र हो । यति गर्न सकियो भने स्तन क्यान्सर भइहालेमा पनि निको भएर स्वस्थ जीवन यापन गर्न सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा हरेक महिलाले आफूलाई ऐनामा हेरर सेल्फ ब्रेस्ट एक्जामिन गर्न सक्छन् । यो बाहिरी अंग भएकाले तपाइँ आफैले आफनो स्तनमा आएको परिवर्तन पत्ता लगाउन तथा अनुभव गर्न सक्नुहुन्छ । त्यसैले महिनाको एकपटक अनिवार्य आफनो स्तनको आफै जाँच गर्ने गरौं । यसका लागि कसरी परीक्षण गर्ने भनेर स्वास्थ्यकर्मीसँग पराशर्म लिन सकिन्छ।

(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत स्तन क्यान्सर सर्जन डा प्रफुल्ल शाक्यसँग कुराकानीमा आधारित)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?