गर्मीमा कसरी गर्ने छालाको स्याहार ?
डा धर्मेन्द्र कर्ण
गर्मी मौसममा छालाको विशेष स्याहार गर्नुपर्छ । बढी घाम हुने र घामको एक्सपोजरले छालामा सिधै असर पुराउने हुँदा गर्मी मौसममा अलि बढी नै छालाको हेरचाह र स्याहार गर्नुपर्ने हुन्छ । हुनत छालाको स्याहार यो वा त्यो मौसममा भन्दा पनि सधैं नै गर्नुपर्ने हुन्छ । तर जब जब मौसमहरु परिवर्तन हुन्छन् त्यस बेला अझ बढी सजग हुन जरुरी हुन्छ । जाडो मौसममा एक प्रकारको वातावरणमा रहेको छाला र हाम्रो आनीबानी एकैपटक फरक पर्दा त्यसको असर छालामा पर्न जान्छ । त्यसैले मौसम अनुसार के कसरी आफूलाई र आफनो छालालाई स्वस्थ राख्ने भन्ने जान्न जरुरी हुन्छ । अब गर्मी मौसममा छाला स्वस्थ राख्न के गर्ने त ?
गर्मी मौसममा चर्को घाम र तातो हावाले हाम्रो छालालाई फुस्रो बनाउँछ । त्यसैले यो बेला प्रत्येक दिन नुहाएर पानी हल्का भएकै बेला शरीरमा मोस्चराइजर क्रिम वा आफूलाई मनपर्ने तेलको प्रयोग गर्नु राम्रो हुन्छ । यसले छालालाई दिनभर सुख्खा हुन दिंदैन । मोस्चराइजर वा तेलले धुलोका कणहरुलाई छालाको भित्रि तहसम्म जान दिंदैनन । यसैगरी गर्मीको बेलामा सकेसम्म हाफ स्लिप कपडा लगाउन हुँदैन । फुल स्लिप कपडा लगाएर हिंड्दा छालालाई सिधै घामको असरबाट जोगाउन मद्दत गर्छ । यसैगरी सुतीको हल्का किसिमको र खुकुलो कपडा लगाउनुपर्छ । कस्सिएको कपडाले शरीरमा पसिना निकाल्ने र त्यो सुक्न नपाएर फंगस पैदा गर्न सक्छ । त्यो पछि दाद वा दुबीको रुपमा आउन सक्छ । त्यसैले गर्मी महिनाभर खुकुलो किसिमको कपडा लगाउन सल्लाह दिइन्छ ।
गर्मी भयो भनेर हामी घर तथा अफिसमा एसीको प्रयोग गछौं । यसले पनि हाम्रो छाला सुख्खा बनाउँछ । अब अनुहारको कुरा गर्दा नियमित रुपमा घामबाट जोगिन तीन तीन घण्टामा सन ब्लक लगाउने गर्नुपर्छ । यसले घामको ताप र राप दुबैबाट जोगाउन मद्दत गर्छ । घाममा निस्कनै नपरे पनि सन ब्लक चाहिं लगाउनैपर्छ । धेरै जनाले घरबाहिर जाने होइन भनेर सन ब्लक लगाएको पाइँदैन । घरमा बस्दा होस वा बाहिर जाँदा सन ब्लक अनिवार्य लगाउनुपर्छ । यसले हामीले चलाउने मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका ग्याजेटबाट निस्कने ब्लु लाइटको असरबाट पनि जोगाउँछ । कामबाट घर फर्केपछि हामीले अनिवार्य अनुहार सफा पानीले पखाल्नुपर्छ । दिनभर हाम्रो अनुहारमा धुलोका कण, फोहोर जम्मा भएर बस्ने हुन्छ । त्यसलाई राम्ररी पखालेर मोस्चराइजर क्रिम लगाउनुपर्छ । यसैगरी सुत्नेबेला डाक्टरको सल्लाह अनुसार नाइट क्रिम लगाउन सकिन्छ ।
यसैगरी गर्मीमा पसिना बढी जाने हुँदा अन्य समयभन्दा यो बेला प्रशस्त पानी पिउनुपर्छ । बजारमा पाइने चिनीयुक्त पेयपदार्थ भन्दा घरमै सादा पानी पिउनु निकै फलदायी हुन्छ । बजारका सुगरी ड्रिंक्सले केही छिन तिर्खा मेटाए जस्तो भए पनि त्यसले पछि असर पर्छ । त्यसैले जुसिला फलफूल खान सकिन्छ । सकेसम्म चर्को घाममा घरबाट ननिस्कने र निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्छ । छालाको स्याहार गर्दागर्दै पनि केही समस्या आएमा भने छाला रोग विशेषज्ञकोमा जानुपर्छ।
वरिष्ठ छालारोग विशेषज्ञ प्राडा कर्णसँगकाे कुराकानीमा आधारित :







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो