डा सुकान्ति शाहलाई प्रश्न : थाइराइडको समस्या भएमा कस्ता लक्षण देखिन्छन ? (भिडियोसहित)

हरेक वर्ष मे २५ मा विश्व थाइराइड दिवस मनाउने गरिन्छ । नेपालमा पनि थाइराइडकाबारेमा जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ । यो एक प्रकारको अटोइम्युन रोग हो । जुन हाम्रो शरीरको आफनै इम्युन सिस्टमका कारणले हुने गर्छ । खासमा थाइराइड आफैमा रोग नभएर यो हाम्रो शरीरको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यो ग्रन्थीको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो । यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरूपमा सञ्चालन गर्दछ। यो हाम्रो शरीरको अत्यावश्यक हर्मोन हो । यही थाइराइड ग्रन्थीमा कारणवश हर्मोन कम उत्पादन भयो वा बढी उत्पादन भयो वा अन्य केही समस्या भएमा त्यसलाई थाइराइड रोग भनेर भनिन्छ ।
हाम्रो शरीरका हरेक अंगले राम्रोसँग काम गर्नका लागि यो हर्मोन चाहिन्छ नै । यसले शरीरको आवश्यकता अनुसार हर्मोन उत्पादन गर्ने काम गर्छ । तर थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । यसरी यसलाई दुई प्रकारमा बाँडेर हेरिन्छ । अर्थात थाइराइडको मुख्य समस्या दुई प्रकारका हुन्छन । एउटा शरीरलाई चाहिने भन्दा कम हर्मोन उत्दापन गर्ने र अर्को चाहिनेभन्दा बढी उत्पादन गर्ने । शरीरले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गरेमा त्यसलाई हाइपर थाइराइडिज्म र कम उत्पादन गर्नुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।
यी दुई मध्ये सबैभन्दा बढी देखिने समस्या भनेको हाइपो थाइराइडिज्म हो । अर्थात हर्मोनको कम उत्पादन हुनु । हर्मोनको उत्पादन कम भएमा यो रोग लाग्छ । खासगरी प्रजनन उमेरका महिलालाई हाइपो थाइराइडिज्म रोगले बढी सताउने गर्छ ।
हाइपो थाइराइडमा र हाइपर थाइराइडमा देखिने लक्षणहरु फरक फरक हुन्छन्।
हाइपो थाइराइडमा देखिने लक्षणहरु (हर्मोन कम उत्पादन गर्ने थाइराइड)
-एक्कासी तौल बढ्ने
-आलस्य हुने
-गर्भ बस्न समस्या हुने
-शरीर, हातखुट्टा सुन्निने
-कपाल झर्ने
-छाला फुस्रो हुने
-महिनावारी गडबड हुने।
-बढी चिसो लाग्ने
हाइपर थाइराइडमा दखिने लक्षणहरु (हर्मोन बढी उत्पादन गर्ने थाइराइड)
-एक्कासी तौल घट्दै जाने
-शरीर तातो हुने
-निन्द्रा नलाग्ने
-मुटुको धड्कन बढेजस्तो हुने
-हात, खुट्टा काँप्ने
-चिडचिड पसिना आउने
-बढी रिस उठ्ने
थाइराइड रोगको लक्षणहरु थाहा पाएर उपचार र औषधि सेवन गरेमा यसले धेरै बिगार गर्दैन । तर डाक्टरको निगरानी र सल्लाहमा उपचारमा भने बस्नपर्छ । औषधिले यसको नियन्त्रण गर्न सकिन्छ । औषधि खाने नखानेमा पनि धेरै जना जीवनभर खानपर्छ की भनेर डराउनुहुन्छ । कस्तो खालको समस्या हो त्यो हेरेर कतिसम्म औषधिको सेवन गर्ने भन्ने डाक्टरले निर्धारण गर्छन । कसै कसैलाई सधैं खानपर्न सक्छ भने कसैलाई औषधि अवस्था हेरेर छोडाउन पनि सकिन्छ । आफूखुशी भने औषधि बीचमै छोड्न हुँदैन ।
(थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा शाह आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै