गर्मी मौसममा किन हुन्छ फुड पोइजनिङ ? के कुरामा ध्यान दिने ?

हेल्थ टिभी अनलाइन : गर्मी मौसममा धेरै जनामा फुड पोइजनिङको समस्या भएको देखिन्छ । यसको मुख्य कारण भनेकै बासी तथा सडेगलेका खानेकुरा र दूषित पानी नै हो । गर्मी मौसममा देखिने समस्याहरुमध्ये फुड पोइजनिङ प्रमुख समस्या पनि हो । यो हरेक वर्षको गर्मी महिनामा बढी नै देखा पर्छ । त्यसो त अन्य समयमा पनि यस्तो समस्या लिएर बिरामी अस्पताल आउँछन् तर निकै कम मात्र । हाम्रो खाना तथा पानी विभिन्न ब्याक्टेरिया तथा भाइरसका कारण दूषित हुनसक्छन् । जसले फुड पोइजनिङको समस्या निम्त्याउँछन् ।
फुड पोइजनिङ भएमा वाक वाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, पेट कटक्क खाने, बाउँडिने, ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्छन । यो अवस्थामा प्रसस्त झोलिलो खानेकुरा खाने, जीवनजल खाने गरेमा कतिलाई घरमै ठीक हुन सक्छ भने कतिपयलाई अस्पताल नै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
हामीले बुझ्न पर्ने कुरा फुड पोइजनिङ हुनुको मुख्य कारण भनेकै दूषित पानी तथा दूषित खाना नै हो । अहिले बजारमा भएका धेरैजसो मिनरल वाटर पनि दूषित भेटिने गरेको छ । मिनरल वाटर त हो भनेर हामीले ढुक्कसँग पिउँदा त्यही पानीले समस्या गराएको पनि देखिन्छ । त्यसैले सबै खालको पानी उमालेर मात्र पिउँदा राम्रो । यसैगरी खाना धेरैदिनसम्म फ्रिजमा राखेर खान खोज्नु पनि अर्को समस्या हो । सकेसम्म आज पकाएको खाना आजै मात्र खाएको राम्रो । अन्यथा राम्ररी फिज्रिङ गरेर राखिएको छ भने २४ घण्टाभित्र पकाएको खाना खाइसक्नुपर्छ । त्यसपछि खानु स्वस्थकर मानिंदैन ।
गर्मी महिनामा मात्र होइन अन्य समयमा पनि पानी र खानेकुरामा विशेष ध्यान दिने हो भने फुड पोइजनिङ हुनबाट बच्न सकिन्छ । त्यसका लागि सफा उमालेको वा निर्मलीकरण गरिएको स्वच्छ पानी पिउने, ताजा तथा स्वस्थकर खाना खाने, सबेसम्म बाहिरको खाना नखाने, खाना कोचीकोची नखाने, फलफूल तथा सलादको प्रयोग गर्दा सफा पानीले पखालेर मात्र सेवन गर्ने गरेमा धेरै हदसम्म फुड पोइजनिङको समस्याबाट बच्न सकिन्छ ।
समस्या आइसकेर उपचार गर्नुभन्दा समस्या आउनै नदिनु बेस हुन्छ । त्यसैले आफनो स्वास्थ्यप्रति बेलैमा सचेत हुनुपर्छ त्यसका लागि खानेकुरामा ख्याल गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने साथै खाना खानुअघि र पछि साबुन पानीले मिचीमिची हात धुन जरुरी हुन्छ । साथै पकाएका खानेकुराहरु छोपेर राख्ननुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन् ।
आफनो सरसफाईको साथसाथै आफनो वरिपरीको वातावरण पनि सफा राख्न जरुरी हुन्छ ।
डा कुन्दन सिंह कार्की
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights