Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मोटोपनदेखि नि:सन्तानसम्मको समस्या निम्त्याउने रोग ‘पीसीओएस’

मोटोपनदेखि नि:सन्तानसम्मको समस्या निम्त्याउने रोग ‘पीसीओएस’

पीसीओएस अर्थात पोलिसिस्टिक ओभरियन सिन्ड्रोम अहिले महिलामा धेरै नै देखिने समस्यामा पर्छ । यो हर्मोन सम्बन्धित समस्या हो । प्रजनन उमेरका महिलामा देखिने यो समस्या विश्वका ५ देखि १० प्रतिशत महिलामा हुनसक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । पीसीओएसका कारण महिलामा मोटोपनदेखि निसन्तानसम्मको समस्या देखिने गरेको छ ।

यो समस्यामा मुख्यतया हुने भनेको महिलामा ओभुलेसन प्रक्रिया अर्थात अण्डा ननिस्कनु हो । सामान्यतया एक स्वस्थ महिलाको हरेक महिना ओभुलेसन हुन जरुरी हुन्छ भने सो क्रममा एउटा अण्डा निस्कने गर्छ । तर पीसीओएस समस्या भएका महिलामा ओभुलेसन नै हुँदैन वा ढिला गरी कसै कसैको ३ महिना, ६ महिना वा वर्ष दिनमा पनि हुन्छ । अण्डा नै उत्पादन नभएपछि महिलामा महिनावारी हुँदैन् । र अण्डा उत्पादन नभएपछि पुरुषको शुक्रकिटसँग सम्बन्ध हुने कुरै भएन । जसले गर्दा महिलामा गर्भ बस्न समस्या पर्छ । महिला गर्भवती हुन अण्डा निस्कनै पर्छ अण्डा पुरुषको शुक्रकिटसँगको मिलन भएपछि महिला गर्भवती हुने हो । शुक्रकिटसँग मिलन भएन भने चाहिं अर्को महिना फेरि महिला महिनावारी हुनुपर्छ । यो प्राकृतिक साइकल हो । तर यही प्रक्रियामा नै समस्या आउँदा गर्भ रहन समस्या हुने हो । पीसीओएसमा मुख्य ओभुलेसनमै समस्या देखिने हो । यसले महिनावारीमा गडवडी गराउँछ र महिनावारी समयमै नहुने र गडवडी हुन थालेपछि गर्भ बस्ने सम्भावना पनि अत्यन्तै न्यून हुने गर्छ ।

पीसीओएस भएका महिलामा ओभरीको अल्ट्रासाउण्ड गरेर हेर्दा धेरै फोलिक्युलहरु देखिन्छ । यो समस्या हो । साथै मेल हर्मोन अलि बढी देखिन्छ पीसीओएस भएका महिलामा जुन थोरै मात्रामा मात्र हुनुपर्ने हो । जसले गर्दा अनुहार तथा अन्य भागमा अनावश्यक रौंहरु पनि आउन सक्छ । यसैगरी पीसीओएस भएका महिलामा देखिने समस्याहरुमा सबैभन्दा बढी सताउने भनेको मोटोपनले । मेल हर्मोन बढी हुने भएकाले महिलाहरु मोटाउने मात्र नभई पेटको बोसो बढी हुने हुुन्छ । यसैगरी कपाल झर्ने कसै कसैको त तालुपन नै हुनेसम्म पुग्छ । अनुहारमा डण्डीफोर तथा पाेतोहरु आउने पनि हुनसक्छ ।

उपचार :
उपचारको कुरा गर्दा सिधै पीसीओएसको यही नै उपचार गरिहाल्ने भन्ने हुँदैन । यसमा सबैभन्दा पहिले लक्षणहरु अनुसार सबै समस्याको समाधान गर्दै जानुपर्ने हुन्छ । पहिलो कुरा त मोटोपन नै नियन्त्रण गर्न जरुरी हुन्छ । त्यसका लागि जीवनशैली परिवर्तन गर्न सल्लाह दिइन्छ । यसैगरी अनुहारमा अनावश्यक रौं छ भने त्यसको हेयर रिमुबल उपचार गर्न सकिन्छ । डण्डीफोर चायाँ पोतोको उपचार गर्न सकिन्छ । यी लक्षणहरु कम हुँदै गएपछि पीसीओएसको लागि ओभुलेसन गराउने औषधि हुन्छन् त्यो औषधि चलाएर आवश्यकता अनुसार हेर्ने र उपचार प्रक्रिया अघि बढाउने हो । कतिपयको समस्या छिटै समाधान हुन्छ भने कतिलाई समय लाग्छ । उपचार निदान भइसकेपछि कस्तो र कतिसम्म समस्या छ भन्ने थाहा पाएर त्यही अनुसार गरिन्छ । नि:सन्तानपनको समस्याका लागि भने औषधिबाट समस्या कम गराउँदै गएर  बिरामीको कन्डिसन अनुसार आवश्यक परेमा आइयूआई गर्न सकिन्छ । औषधि तथा आइयूआई गर्दा पनि गर्भ रहन सकेन भने अन्तिममा भने आइभीएफ नै गर्न सल्लाह दिनु आवश्यक हुन्छ ।

(स्त्री तथा प्रसुती रोग एवम आइभीएफ विशेषज्ञ डा ढकाल सिनामंगलस्थित स्लाभिका आइभीएफ एण्ड रिसर्च सेन्टरमा कार्यरत छिन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।