ग्यास गिजरले लिनसक्छ ज्यान, अपनाउनुस् यी सावधानी

हेल्थ टिभी अनलाइन : जाडोयाम शुरु भएसँगै हामीमध्ये धेरैजना तातो पानीमा नुहाउन रुचाउँछौँ। तातोपानीका लागि सजिलो उपकरण हो, ग्यास गिजर। ग्यास गिजरले तातोपानी त दिन्छ नै तर कतिपय अवस्थामा यसको सही प्रयोग नहुँदा मानिसको ज्यानै जान सक्छ।
नेपालमै पनि बर्सेनि कैयौँले ग्यास गिजरका कारण ज्यान गुमाएको तथ्यांक छ। यो लेखमा ग्यास गिजरका कारण हुने समस्या अर्थात् ग्यास गिजर ‘सिन्ड्रोम’को बारेमा चर्चा गरिँदैछ।
ग्यास गिजर सिन्ड्रोम भनको ग्यास गिजरका कारण हुने समस्या हो। यदि ग्यास गिजर प्रयोग गर्ने बाथरुममा झ्याल छैन भने वा साँघुरो छ वा अक्सिजन प्रवेश गर्न नसक्ने अवस्थामा समस्या आउँछ।
सामान्यतया शहरको कुरा गर्दा धेरै जनाको घरमा सानो बाथरुम हुन्छ र स्वाभाविक रूपमा झ्याल पनि सानो हुन्छ। यसले गर्दा अन्य समयमा पनि पर्याप्त अक्सिजन पुगेको हुँदैन।
वातावरणमा भएको अक्सिजन मानिसले पनि लिइरहेको हुन्छ भने त्यही समयमा ग्यासले बल्न पनि अक्सिजन लिइरहेको हुन्छ। यसले गर्दा वातावरणमा अक्सिजन कमी हुन्छ। विस्तारै ग्यास गिजरबाट खराब ग्यास कार्बन मोनोअक्साइड र नाइट्रस अक्साइड ग्यास निस्किन थाल्छ। नुहाउन पसेको मानिसलाई यी ग्यासका कारण सास फेर्न गाह्रो हुन्छ र ऊ बेहोश हुन पुग्छ।
अर्को कुरा धेरैबेर यसरी बेहोश भइरहँदा त्यसको सिधा असर मस्तिष्क र मुटुमा पर्न जान्छ। सामान्यतया बाथरुम गएको भनेर घरका मानिसले पनि वास्ता गर्दैनन्। जसले गर्दा भित्र बिरामीको अवस्था जटिल बन्दै जान्छ। धेरैबेर बाथरुम बन्द देखेपछि मात्र आफन्तले ढोका फोडेर निकाल्ने गर्छन्। त्यति बेला सम्म ढिला भइसकेको हुन्छ ।
मेडिकल भाषामा हामी यसलाई ‘प्रिभेन्टेबल डिजिज’ भन्छौँ। किनभने यसबाट बच्न सकिन्छ। जाडोयाममा शरीरलाई सजिलो होस् भनेर राखिएको ग्यास गिजरका कारण कसैको पनि ज्यान जानु हुँदैन। यसबारे सबै सचेत हुन जरुरी छ।
यसरी बाथरुममा ढलेपछि त्यही ज्यान गुमाउनको संख्याको हामीसँग पनि जानकारी छैन। हामीकहाँ आईसीयूमा बर्सेनि १० भन्दा बढी ग्यास ‘गिजर सिन्ड्रोम’ समस्या लिएर आउँछन्।
यस्तो समस्या लिएर आउनेमा धेरै युवा हुन्छन्। जसलाई अरु केही पनि स्वास्थ्य समस्या भएकै हुँदैन । त्यस्ता व्यक्ति घरमा राखिएको सामानका कारण ज्यान गुमाएको देख्दा साह्रै दुःख लाग्छ । ९९ प्रतिशत बिरामी अस्पताल ल्याउँदा ढिलै भइसकेको हुन्छ । नुहाउन पस्दा मानिसले ढोकामा चुकुल लगाएका हुन्छन्, जसले गर्दा ढोका फोर्न नै समय लाग्छ ।
कति समयसम्म त परिवारलाई बाथरुमभित्र मानिस बेहोश भइसकेको छ भन्ने थाहा नै हुँदैन। थाहा पाएर निकालुञ्जेलसम्म ढिला भइसकेको हुन्छ, उपचारले खासै निको पार्न सकिँदैन । अस्पताल पुर्याइएका कमै मानिसलाई मात्र बचाउन सकिन्छ।
यसबाट बच्ने सरल उपाय भनेकै घरको बाथरुममा झ्याल खुला राखेर मात्र ग्यास गिजर प्रयोग गर्नु हो। अझ सकेसम्म त यसको प्रयोग नै नगर्दा राम्रो हुन्छ भन्छौँ।
डा जेन्टल सुन्दर श्रेष्ठ
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै