‘प्राकृतिक चिकित्सा सबैका लागि उपयोगी छ’

डा गिता केसी
प्राकृतिक चिकित्सा भनेको कुनै पनि औषधि तथा शल्यक्रिया बिना प्राकृतिक रुपमा गरिने उपचार पद्धति हो । प्राकृतिक रुपमा गरिने हुँदा यसको कुनै साइड इफेक्ट हुँदैन । यो चिकित्सा रोगीलाई मात्र उपचार गर्ने नभएर निरोगी व्यक्तिले पनि यो सेवा लिएर रोगमुक्त जीवन जिउन सक्छन् । त्यसैले यो सेवा लिन बिरामी नै हुनुपर्छ भन्ने छैन् । रोग लागिसकेपछि मात्र होइन स्वस्थ जीवनका लागि सबैका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । रोग लाग्न नदिनु नै यसको मुख्य उद्धेस्य हो । यो प्रभावकारी र हानिरहित उपचार विधी पनि हो ।
पछिल्लो समय नसर्ने रोगको विगविगी जस्तै छ । यसको मुख्य कारण हाम्रो अस्वस्थकर खानपान तथा जीवनशैली नै हो । नसर्ने रोगको उपचारमा प्राकृतिक चिकित्सा निकै फलदायी मानिएको छ ।
प्राकृतिक चिकित्साले कुनै एक विशेष रोगको मात्र उपचार नगरेर यसले रोगको जड पत्ता लगाएर सम्पूर्ण शरीरलाई नै तन्दुरुस्त र स्वस्थ राख्न प्रयास गर्छ । शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गर्न तर्फ उत्प्रेरित गर्छ । प्राकृतिक चिकित्साको मुख्य खम्बा भनेकै आहार विहार, व्यायाम र विश्राम नै हो । अझ डाइट त यसको मुख्य खम्बा नै हो । हामीले कस्तो खाना खान्छौं त्यसमा पनि हामीलाई रोग लाग्ने नलाग्ने निर्धारण हुन्छ । त्यसैले प्राकृतिक चिकित्सामा भोजनलाई प्राथमिकतामा राखेर कस्तो खाना खाँदा शरीरको प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने कुरा सिकाउँछौ र त्यही अनुसार सल्लाह दिन्छौं ।
हाम्रो शरीर कमजोर- बलियो, रोगी -निरोगी बनाउने धेरै हदसम्म खानामा पनि भर पर्छ । हामीले खाना खान जान्यौ भने त्यो औषधि नै हो । तर फेरि खान जानिएन भने त्यो रोगको घर बन्छ । मानिस स्वस्थ रहन मुख्य रूपमा यी आहार विहार व्यायाम र विश्राममा ध्यान दिनुपर्छ जुन प्राकृतिक चिकित्सामा गरिन्छ । शरीरलाई आराम र व्यायाम दुवै चाहिन्छ। व्यायामले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ भने विश्रामले शक्ति उत्पादन गर्न ।
हाम्रो शरीर पञ्चतत्वले बनेको हुन्छ । यो प्राकृतिक हुने भएकाले हाम्रो शरीरले पनि प्राकृतिक कुराबाट छिटो हिल हुन खोजिरहेको हुन्छ । त्यसैले प्राकृतिक चिकित्साबाट हाडजोर्नीको समस्या भएका, नसा च्यापिएका, कम्मर दुखेका, प्यारालाइसिस भएका बिरामीहरु बढी लाभान्वित भएको पाइन्छ । त्यसो त योगा, मसाज, स्टिम बाथ लगायतका प्राकृतिक रुपमा गरिने उपचार विधिले शरीर स्फूर्त राख्न सबैलाई मद्दत गर्छ । यसमा अनावश्यक औषधिको प्रयोग नहुने हुँदा साइड इफेक्ट हुने वा पछि एन्टीमाइक्रोबियल रेसिस्टेन्स बढ्ने समस्या पनि हुँदैन् ।
यो चिकित्साबाट हाम्रो अस्पतालबाट मात्र लाखौंको संख्याले उपचार सेवा लिएर लाभ लिइसकेका छन् । त्यसैले औषधि नखाई नहुने र शल्यक्रिया गर्नैपर्ने अवस्थाका बिरामी बाहेक सबैले एकपटक प्राकृतिक चिकित्सा उपचार सेवा लिएको राम्रो । शल्यक्रिया गर्नुपर्ने बिरामी र औषधि नै खानुपर्ने बिरामी भए हामी उहाँहरुलाई एलोपेथिक अस्पताल जान सल्लाह पनि दिन्छौं । त्यसैगरी कतिपय एलोपेथिक अस्पतालबाट डाक्टरले नै शल्यक्रिया र औषधि चलाएपछि फिजियोथेरापी, मसाज, अकुपञ्चर जस्ता उपचारका लागि प्राकृतिक अस्पतालमा पठाउने पनि गरेका छन् ।
प्राकृतिक चिकित्साको खास विशेषता भनेको के भने कुनै शारीरिक समस्या वा रोग मात्र होइन यसले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न खोज्छ ।
(प्राकृतिक चिकित्सक डा केसी कालिमाटीस्थित स्पार्क अस्पतालमा कार्यरत छिन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights