जाडोमा किन बढ्छ जोर्नीको दुखाइ ? कसरी ख्याल गर्ने ?

अनिल कुमार महतो
यतिबेला काठमाडौं लगायत देशभर नै चिसो सुरु भइसकेको छ र यो दिन प्रतिदिन बढ्दो छ । । यो चिसो मौसम सुरु भएपछि शरीरमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । ती मध्ये प्रमुख हो हाडजोर्नीको समस्या अर्थात जोर्नी तथा मांसपेशीको दुखाइ । जाडोमा चिसोको कारण अल्छी गरेर शारीरिक क्रियाकलाप नगर्ने, ढिला सम्म सुत्ने, चिसोकै कारण पानी कम पिउने तथा खानपानमा ध्यान दिन नसक्दा जोर्नीको समस्या बढ्ने गरेको पाइन्छ ।
शारीरिक क्रियाकलाप कम हुँदा र पानीको मात्रा कम हुँदा शरीरमा रगतको सर्कुलेसनमा पनि असर पर्न जान्छ । शरीरको हरेक भागमा रगतको मात्रा जति पुग्नुपर्ने हो त्यो पुग्न सक्दैन् र समस्या देखिन थाल्छ । जब जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुँदै जान्छ । जसले गर्दा जोर्नी सुन्निने, दुख्ने, रातो हुने, अररो हुने समस्या बढ्न थाल्छ । अझ पहिले नै बाथ रोग छ भने यस्ता बिरामीलाई पनि यो बेला अझ बढी समस्या भएर हिंडडुलमै समस्या हुनसक्छ ।
जब बाहिरी तापमानमा उतारचढाव आउँछ त्यसले हाम्रो शरीरमा पनि कुनै न कुनै रुपमा असर गर्छ। बाहिरी तापमानमा कमी आउँदा र हामीले ख्याल नगर्दा हाम्रो शरीरको जोर्नीहरूको नसा खुम्चिन जान्छ र त्यस भागमा रगतको तापक्रम पनि घट्छ। जसका कारण जोर्नीहरू कडा भएर जान्छन। यो कडापनमा दुखाइ सुरु हुन्छ ।
जाडोमा जोर्नी दुखाइको समस्याबाट बच्नका लागि पहिलो कुरा त चिसोबाट जोगिने नै हो । यसैगरी जाडाे छ भनेर निस्क्रिय भएर बस्न भएन। नियमित रुपमा शारीरिक क्रियाकलाप गर्ने, योगा गर्ने जस्ता काम गर्न छोड्न हुँदैन । शरीरलाई जति चलायमान बनायो त्यति नै समस्या आउन दिंदैन । त्यसैले एक्टिभ चाहिं हुनैपर्छ । दैनिक २ देखि ३ लिटर पानी पिउनैपर्छ ।याे बेला बिहानको घाम ताप्न सकिन्छ । चिसो छ भनेर अल्छी गरेर बस्ने र एक्सरसाइज नगर्दा तौल पनि बढ्ने हुन्छ । तौल बढ्दा पनि घुँडा दुख्ने तथा खुट्टाकाे जोर्नीमा अर्को समस्या आउन सक्छ । यो कुरामा पनि ध्यान दिन जरुरी हुन्छ ।
यति गर्दा पनि समस्या आइहालेमा आफनो नजिकको डाक्टर तथा फिजियोथेरपिष्टसँग सल्लाह गरेर फिजियोथेरापी गर्न सकिन्छ । कस्तो र कुन खालको फिजियो आवश्यक पर्ने हो त्यो समस्या निदान गरेपनि मात्र भन्र सकिन्छ । त्यसबाहेक आफनो पोस्चर कस्तो हुनुपर्छ भन्ने विषयमा पनि आफनो फिजियोथेरापिष्टलाई सोध्न सकिन्छ । किनकी कतिपय समस्या पोस्चर नमिल्दा पनि आइरहेको हुन्छ ।
त्यसैले अन्तिममा यो चिसो मौसममा पनि अन्य समयमा जस्तै नियमित एक्सरसाइज गर्ने, आफूलाई न्यानो राख्ने, प्रसस्त मन तातो पानी पिउने, स्वस्थकर खाना खाने गरेमा जोर्नी दुख्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
(कन्सल्टेन्ट फिजियोथेरापिष्ट महतो कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा कार्यरत छन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights