अकुपञ्चर चिकित्सा र यसको महत्व

डा. जे आर अधिकारी (रविन)
सन् २०११ मा विश्व अकुपञ्चर तथा मोक्सिव्यूसन सोसाइटीको मिटिङ्गको निर्णय अनुसार हरेक बर्षको नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवसको रुपमा मनाउने निर्णय भएको थियो । नेपालमा गतसाल देखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयोजनामा अकुपञ्चर चिकित्सामा संलग्न ब्यक्ति तथा अन्य सरोकारवाला व्यक्तिहरुको सहभागीतामा विश्व अकुपञ्चर दिवस मनाउन शुरु गरिएको हो । यो बर्ष पनि नोभेम्बर २२ (मंसीर ६ गते) विश्व अकुपञ्चर दिवस मनाइंदैछ । यसै सन्दर्भमा अकुपञ्चर चिकित्साका बारेमा केही प्रष्ट पार्ने प्रयास गर्दैछु ।
परिचय
पूर्विय सभ्यताका प्राचिनतम चिकित्सा पद्धतिहरुमा आयुर्वेद र चिनियाँ चिकित्सा (TCM) गरी मुख्य दुइ चिकित्सा पद्धतिहरु मानिन्छन् । यि चिकित्सा पद्धतिहरुवाट आधुनिक चिकित्सा लगायतका अन्य चिकित्सा पद्धतिहरुमा समेत वृहत प्रभाव परेको पाइन्छ । अकुपञ्चर चिकित्सा चिनियाँ चिकित्सा पद्धति (TCM) अन्तर्गतको प्रमुख चिकित्सा विधी हो । अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स(साना सियोको माध्यमवाट छालाका विभिन्न विन्दुहरुमा गरिने घोचाई नै सामान्य अर्थमा अकुपञ्चर चिकित्सा हो ।
प्राचीनकालमा मानिसहरु युद्ध लड्दा ढुङ्गाको हतियार प्रयोग गर्दर्थे, युद्धमा लड्दा ढुङ्गाको हतियारले मानिसका विभिन्न ठाउंमा प्रहार गर्दर्थे ।यसरी ढुङ्गाको हतियार शरीरका विभिन्न भागमा रोपिंदा त्यो रोपिएको भागमा घाउ त लाग्दथ्यो तर प्रहार गरेको ठाउँमा घाउ भएता पनि शरीरको अर्को कुनै भागको दुखाइ कम भएको महशुष गर्न थाले, लामो समय देखिको रोग निको भएको पाए , यो किन र कसरी भयो भनेर विचार गर्ने क्रममा एक प्रकारको अनुसन्धान नै प्रारम्भ भएको अनुमान गरिन्छ र यो विस्तारै अकुपञ्चर चिकित्साको रुपमा विकसित भएको ठानिन्छ । यसरी हेर्दा यो चिकित्सा पद्दतिको शुरुवात मानव सभ्यताको सुरवातसंगै भएको मानिन्छ ।
हामीले सामान्यतया अनुभव गर्ने गरेको उर्जा भनेको विजुलीले चीम वलेको, दाउराले आगो वलेको देखेका छौं । तर उर्जालाई कहिले हामीले आफू भित्र महशुष गरेका छौं त रु आयुर्वेद तथा चाइनिज चिकित्साका अनुसार जीवनीय उर्जा हाम्रो शरीरमा रहेका विभिन्न च्यानल मार्फत निरन्तर प्रवाह भई रहेको हुन्छन् भन्ने मान्यता रहि आएको छ । आयुर्वेद अनुसार यस्ता च्यानललाई स्रोत भनिन्छ । त्यसैगरी हिन्दु धर्ममा , वौद्ध धर्ममा पनि शरीर भित्र उर्जाको प्रवाह हुने कुराको व्याख्या पाइन्छ, योगमा उर्जा प्रवाह हुने मार्गलाई नाडी भनिन्छ । मेरुदण्डमा रहेका विभिन्न चक्रहरु उर्जाका केन्द्र हुन् भनी चक्र जागरणका विभिन्न विधिहरुको समेत उल्लेख पाइन्छ ।
चिनियाँ चिकित्सा पद्धति अन्तर्गतको अकुपञ्चरका अनुसार हाम्रो शरीरमा रहेका उर्जा वहने मार्ग (मेरिडियन) मार्फत उर्जा निरन्तर प्रवाह भइरन्छ भन्ने मान्यता रहेको छ । करिव ५००० वर्ष भन्दा पनि पहिले देखि चीनवाट शुरु भएको अकुपञ्चर चिकित्सा १६औं शताव्दी पछि यूरोप र अमेरिका हुँदै संसार भरी नै लोकप्रिय बन्दै गइरहेको हो ।
विश्व स्वास्थ्य संगठनवाट समेत मान्यता प्राप्त एवं वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरु र यसको परिणामका कारण आधुनिक चिकित्सा पद्दतिका चिकित्सकहरुले पनि एलोपेथी उपचारसंगै संगै अकुपञ्चर चिकित्सालाई समेत सिफारिस गर्न थालेका कारण पनि अकुपञ्चर विश्व भरी नै फैलिरहेको मान्न सकिन्छ ।
प्रारम्भिक रुपमा ढुङ्गावाट वनेका निडल बाट नै अकुपंचर गर्ने गरिन्थ्यो भने समयक्रममा धातुको खोजसंगै स्टोन निडल लाई धातुद्वारा निर्मित सुईहरुले बिस्थापित गर्दै गए । अहिले प्रयोग हुने अकुपञ्चर सियोहरु धागो जस्तै मसिना खालका, खिया नलाग्ने किसिमका, स्टीलवाट वनेका हुन्छन् । अकुपञ्चर सियोको विकास संगै यसका चिकित्सा सिद्धान्तहरु पनि विकास भएको पाइन्छ । प्राचीन चीनका पौराणीक सम्राट तथा चीनिया सभ्यताका पिताका रुपमा चिनिने फूसी सम्राटलाई चिनिया चिकित्सा सिद्धान्तका शुरुवातकर्ताका रुपमा समेत चिनिन्छ ।
एक दिन ब्रम्हाण्डको रहस्य बुझ्न येल्लो नदी किनारमा शान्त भएर बसेको बेला अचानक ड्रागनको टाउको र घोडाको जीउ भएको अजङ्गको जनावर उनि तर्फ बढ्दै बढ्दै आयो जव उनले उक्त जनावरको जीउमा अंकित चित्रलाई गहिरिएर हेरे तव अचानक एकैचोटी सारा समस्याको समाधान प्राप्त भए जस्तो भयो र दौडेर घरमा गई आफूले देखेको कुरालाई चित्रमा उतारेको प्रसङ्ग उल्लेख छ । उनले तयार गरेको चित्रलाई नै प्रसिद्ध येल्लो नदी चित्र भनेर चिनिन्छ । यो चित्रको सहायतावाट नै सम्राट फूसीले यिन याङ्ग,पञ्चतत्व र प्राचीन बा(क्वा थेउरी गरी तीन महत्वपूर्ण सिद्धान्तको प्रतिपादन गरेको ठानिन्छ । जस अनुसार नै पछि आएर चाइनिज चिकित्साका सवै सिद्धान्तहरुको विकास भएको पाइन्छ । चाइनिज चिकत्साको महत्वपूर्ण शास्त्रिय पुस्तक (Huangdi’s Internal Classics) मा अकुपञ्चरका निम्नानुसार मुख्य आधारभूत सिद्धान्तको वर्णन पाइन्छ ।
१. यिन याङ्ग सिद्धान्त ।
२. पञ्चतत्वको सिद्धान्त ।
३. प्रमुख अङ्ग सम्बन्धि सिद्धान्त (Zang-Fu organs)
४. मेरिडियन तथा कोल्याटेरल्स सिद्धान्त ।
१. यिन याङ्ग सिद्धान्त
व्रम्हाण्ड र पृथ्वीका नियमहरुलाई यीन र याङ सिद्धान्तको मार्फत वुझ्न सकिन्छ । व्रम्हाण्ड र पृथ्वीका सम्पूर्ण वस्तु,चरित्रहरुलाई यीन र याङको रुपमा व्यक्त गर्न सकिन्छ । जस्तै पानी यीन हो र आगो याङ हो , यीन चन्द्र हो भने याङ सूर्य हो ,अंध्यारो यीन हो भने उज्यालो याङ हो ।
२. पञ्चतत्वको सिद्धान्त
व्रम्हाण्ड, पृथ्वी र प्रकृतिमा भएको सम्पूर्ण जीवन प्रकृया वा जीवन चक्र भनेकै पञ्चतत्वको गतिवाट सम्भव भएको हो । पञ्चतत्वहरु क्रमश काठ , आगो, पृथ्वी, धातु र पानी पञ्चतत्वहरु प्रकृतिका विभिन्न रुपहरु हुन् ,प्रकृतिमा एउटा सर्वमान्य गतिशिल सन्तुलन हुन्छ जुन पञ्चतत्ववाट प्राप्त हुन्छ । जीवनको श्रोत र शक्ति प्रकृतिवाट प्राप्त हुन्छ र पञ्चतत्व र जीवनवीच एउटा अटुट सम्वन्ध रहेको हुन्छ । पञ्चतत्वको नियमहरुवाट नै जीवनको सञ्चालन भएको हुन्छ ,नियमको सहि सञ्चालन र सन्तुलन नै स्वस्थ जीवन हो ।
मेरिडियन तथा कोल्याटेरल्स सिद्धान्त
चिनिया चिकित्सा पद्धति अनुसार शरीरमा एक प्रकारको जीवनीय शक्ति ( QI) प्रवाहित भइरहेको हुन्छ । उक्त शक्ति प्रवाहित हुने निश्चित काल्पनिक वाटोलाई शक्ति मार्ग(Meridian & Collaterals) भनिन्छ । मेरिडियन सिद्धान्त अकुपञ्चर चिकित्साको अत्यन्तै महत्वपूर्ण सिद्धान्त हो । चिनिया चिकित्सामा मानिसको जीवनले कसरी काम गर्छ , रोग कसरी लाग्दछ , रोग निको पार्ने के कस्ता उपायहरु अपनाउने भन्ने जस्ता अत्यन्तै महत्वपूर्ण ज्ञान यिनै मेरिडियनहरुले प्रदान गर्दछन् ।
१२ वटा नियमित मेरिडियनहरु हाम्रो शरीरको दाँया,वाँया र शरीरको अगाडी,पछाडीको वीच भागवाट एक एक वटा गरी जम्मा १४ प्रकारका मेरिडीयन ९मुख्य च्यालनहरु० माथि वाट तल तिर फैलिएका हुन्छन् । तिनै मुख्य च्यानलवाट अन्य हाँगा च्यानलहरु र तिनका पनि हाँगा साना साना च्यानलहरु मिलेर पुरा शरीरलाई ढाकेको हुन्छ । मेरिडियन र तिनका हाँगाहरु हाम्रो शरीरका अंगहरु, जोर्नीहरु र तन्तुहरु आदि संग जोडीएका हुन्छन् र ती अंगहरु ,जोर्नीहरु र तन्तुहरुले यिनै शक्ति मार्ग मार्फत आवश्यक शक्ति र उर्जा प्राप्त गरिरहेका हुन्छन् । यस्ता मेरिडियनहरु विभिन्न अंगहरु संग सम्वन्धित हुन्छन् र तिनै अंगहरुको आधारमा नै नामाकरण भएका हुन्छन् ।
यिनीहरु प्रत्येक वाहिरी वाटो र भित्री वाटो गरी शरीरका वाहिरी र भित्री भागलाई अटुट र नियमित रुपले शक्तिको प्रवाह गरिरहन्छन् । यिनै मेरिडियनहरुमा नियमित रुपले जीवनीय शक्ति ( Qi ) प्रवाहित भएको हुन्छ । कुनै कारणले यिनको प्रवाहमा अवरोध आएमा स्वास्थ्यमा समस्या देखा पर्दछ र अकुपञ्चरले त्यही अवरोध हटाएर रोग निको पार्दछ भन्ने मान्यता छ । यिनै मेरिडियन लाइनमा लगभग ३६१ वटा मुख्य उर्जा विन्दुहरु अवस्थित हुन्छन् । यिनलाई अकुपोइन्टस् भनिन्छ । यिनै बिन्दुहरुमा स–साना मसिना बिशेष प्रकारका बिशेषता भएका सियोहरुद्वारा विभिन्न बिधि प्रयोग गरी शारीरिक, मानसिक, भावनात्मक स्तरमा जीवनीय शक्तिलाई सन्तुलन बनाउंदछ । यसरी विभिन्न स्वास्थ्य समस्याहरुको समाधान हुने गर्दछ ।
दक्ष व्यक्तिले आवश्यक अकुपोइन्टहरुमा विधी पूर्वक अकुपञ्चर सियो राख्दा विरामीलाई उक्त सियो राखेको स्थानमा तातो महशुष हुने , भारी भएको जस्तो हुने , एक प्रकारको करेन्टको प्रवाह भए जस्तै हुनु पर्दछ भने सियो राख्ने व्यक्तिले समेत त्यो अनुभूति गर्दछ । अकुपञ्चर चिकित्साको सहि लाभ लिनका लागि यस्तो महशुष हुनु अति जरुरी हुन्छ जसलाई उर्जाको अनुभूति (Qi Sensation) भनिन्छ । यहि कारण जहां पायो त्यहिं जो सुकै व्यक्ति संग अकुपञ्चर गराउन हुँदैन । हेर्दा उस्तै लागेपनि गर्ने व्यक्तिको दक्षता विना अकुपञ्चरवाट लाभ लिन सकिन्दैन केवल आफ्नो स्वास्थ्य ,पैसा र समयको वर्वादी मात्र हुनेछ ।
खोज तथा अनुसन्धान
आधुनिक वैज्ञानिक खोजहरुले प्राचीन चिनिया चिकित्सामा कल्पना गरिएका उर्जा शक्ति मार्गहरु ९मेरिडियनहरु० धेरै वर्ष सम्म काल्पनिक नै रहे । पछिल्लो समयमा मेरिडियनका वारेमा वैज्ञानिक खोजहरु भइरहेका छन् र अझै पनि निरन्तर भई नै रहने छन् ।
आधुनिक खोजहरु अनुसार मेरिडियनलाई Tendino-muscular structures, primo-vessels (Bonghan ducts), regions of increased temperature and low skin resistance को रुपमा व्याख्या गरेको पाइन्छ । त्यसैगरी पछिल्लो समयमा शरीरक्रिया विज्ञान सम्वन्धि अध्ययनले स्नायुतन्त्र परिकल्पना (neural hypothesis) लाई अगाडी सारेको पाइन्छ जस अनुसार अकुपञ्चर गर्दा सर्वप्रथम शरीरका संवेदी (sensory nerves ) उत्तेजित गरी त्यो संकेत दिमागमा पुर्याई दिमागवाट पुन आवश्यक संकेत पाएपछि नै चाहिएिको अकुपञ्चरको परिणाम प्राप्त हुन्छ भनिएको छ तर अझै अनुसन्धानहरुले यहि नै हो भनेर यकिन गरिनसकेको अवस्था छ । तर पनि उर्जा बहने अकुपञ्चर मेरिडियनहरु वास्तवमा केन्द्रिय तथा परिधीय स्नायु प्रणाली (Central & peripheral nervous system)को रुपमा नै मान्न र बुझ्न सकिन्छ ।
अकुपञ्चरले कसरी काम गर्दछ, कुन पोइन्ट्समा सियोले उत्तेजना पैदा गर्ने र कसरी सियो राख्यो भने वढी फाइदा लिन सकिन्छ भन्ने कुरा २०१७ मा प्रकाशित न्यूरोपञ्चर भन्ने पुस्तकका अनुसार अकुपञ्चरले विभिन्न तरिकाले आफ्नो काम गर्दछ जसमा १, स्थानीय मेकानिज्म, २. स्पाइनल कर्ड मेकानिज्म,३. इन्डोजेनस ओपोइड सर्किट मेकानिज्म, ४.स्नायु प्रणाली मेकानिज्म, ५. स्नायुमांशपेसीगत मेकानिज्म पर्दछन् । ती मध्ये कुन मेकानिज्म आवश्यक छ सोहि अनुसार नै अकुपोइन्ट्स छनौट गर्ने र सियो राख्ने विशेष विधी अपनाउनु पर्ने हुन्छ ।
चिनिया चिकित्सा अन्तर्गत अकुपञ्चर वाहेक पनि एउटै चिकित्सा सिद्धान्त अनुसार कार्य गर्ने अन्य चिकित्सा विधीहरुमा पनि छन् जसमा एक्युप्रेसर वा थुइना ( शरिरका विशेष विन्दुहरूमा विशेष प्रकारको दवाव दिई गरिने उपचार) मोक्सिबुसन (तितेपातीबाट निर्मित विशेष प्रकारको भुवा) (Moxa wool) लाई विभिन्न तरिकाले शरिरका भागमा उष्णता प्रदान गरी गरिने चिकित्सा ०, कानको अकुपञ्चर९विशेष प्रकारका सुक्ष्म सियोले वा अन्य विधिवाट कानमा रहेका विशिष्ट विन्दुहरूमा उत्तेजना पैदा गरी रोगोपचार गरिने चिकित्सा, विद्युतीय अकुपंचर,कस्मेटीक अकुपञ्चर, रक्तमोक्षण लगायतका विधिहरू पर्छन् ।
नेपालमा अकुपंचरको प्रवेश २०२८ सालमा कोदारी राजमार्ग निर्माण गर्दा आएका चिनियाहरुसंगै भएको मानिन्छ अहिले सम्म आइपुग्दा यस चिकित्साको नेपालमा पनि प्रशस्तै अभ्यास भएको पाइन्छ । सवैमा विश्व अकुपञ्चर दिवसको शुभकामना !
(अकुपञ्चर विज्ञ डा जे आर अधिकारी (रविन) केन्द्रीय आयुर्वेद चिकित्सालय, नरदेवी काठमाण्डौमा कार्यरत छन्। डा अधिकारी नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजका अध्यक्ष समेत हुन् ।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै