Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एउटै पोजिसनमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या

एउटै पोजिसनमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या

हेल्थ टिभी अनलाइन : ढाड हाम्रो शरीरको महत्वपूर्ण भाग हो । ढाड दुख्दा हाम्रो दैनिक जीवनमा नै समस्या परिरहेकाे हुन्छ । पछल्लाे समय  ढाड दुख्ने समस्या भएका बिरामीको संख्या भने दिनप्रतिदिन बढ्दो छ । अहिले त झन कम उमेरमै ढाड दुख्ने समस्या लिएर बिरामीहरु आउन थालेका छन् । हुनत हामीमध्ये धेरैले आफनो जीवनकालमा कुनै न कुनै रुपमा ढाड दुखेको महसुस गरेकै हुन्छौं भन्दा पनि हुन्छ । ढाड दुख्ने धेरै कारणहरुमध्ये मुख्य कारण भने हाम्रो जीवनशैली नै हो ।

ढाड दुख्नुको मुख्य कारण भनेकै गलत तरिकाले बस्नु, काम गर्नु नै हो। गलत तरिकाले बस्दा अर्थात पोस्चर नमिल्दा मांसपेशीमा असर परेर ढाडको दुखाइ सुरु हुन्छ । ढाड दुख्नुमा अव्यवस्थित जीवनशैलीका साथै खानपानको पनि भूमिका हुन्छ । लामो समयमा एकै ठाउँमा बस्दा तथा कुर्सीमा लामो समय बसिरहँदा ढाडदुख्ने समस्या सुरु हुन्छ । त्यसो त अन्य कारणहरुले पनि ढाड दुख्ने समस्या हुनसक्छ । तर यहाँ जीवनशैलीका कारण हुने समस्याका बारेमा मात्र चर्चा गर्न खोजिएको छ ।

हामीले दिन भरीमा बस्ने, हिंड्ने, उभिने गरी तीन काम गर्छौ । यही तीन पोस्चर सही तरिकाले मिलेमा ढाडको समस्या हुँदैन । तर यही पोस्चरमा ख्याल नगर्दा समस्या देखिन थाल्छ । अहिले धेरै जना अफिसमा काम गर्ने भएकाले घण्टौंसम्म आफनो टेबलबाट उठ्दै नउठ्ने पनि देखिन्छ । यसो गर्नु गलत हो । अर्को कुरा हामी आफनो कम्पुटर र टेबलमा पनि पोस्चर नमिलाई बसिरहेका हुनसक्छौं । त्यसले पनि ढाडमा प्रेसर पर्छ । एउटै पोजिसनमा आधा घण्टा भन्दा बढी बसिरहँदा ढाडको समस्या हुनसक्छ । जुन अहिले अफिसमा टेबल वर्क गर्नेमा बढी देखिएको छ । जुनसुकै पोजिसनम भए पनि आधा आधा घण्टामा पोजिसन परिवर्तन गर्नुपर्छ । अफिसमा भए बस्दा ढाड सोझो गरेर बस्ने, बेलाबेलामा उठ्ने, जीउ तन्काउने, बाहिरसम्म गएर एकैछिन टहलिने गर्न सकिन्छ । यसो गर्दा ५० प्रतिशत ढाडको दुखाइ आफै कम भएर जान्छ । घरमा काम गर्दा पनि जुनसुकै पोस्चरमा भए पनि आधा घण्टामा परिवर्तन गर्न जरुरी हुन्छ । एकैठाउँमा एउटै पोजिसनमा रहिरहनु नै ढाड दुख्नुको मुख्य कारण हो । त्यसैले यो बानी परिवर्तन गर्नैपर्छ चाहे त्यो अफिसमा होस् वा घरमा ।

बच्ने उपाय के त ?
ढाड दुखाइको समस्या हुन नदिनका लागि हामीले आफनो दैनिक जीवनयापनलाई परिवर्तन गर्न सक्नुपर्छ । ढाडलाई कसरी स्वस्थ र बलियो राख्ने बुझ्नुपर्छ । ढाड दुख्नुमा बढी तौल पनि एक कारण भएकाले शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ भने ध्रुमपान गर्नुहुन्छ भने तुरुन्त छोड्नुपर्छ । केही उचाल्नु परेमा होसियारीका साथ  उचाल्ने तथा ढाडमा मात्र भार नपारी  शरीरको अरु भागको पनि सहयोग लिएर उठाउन सकिन्छ ।

ढाडको दुखाई हुन नदिन नियमित रूपमा व्यायाम गर्ने तथा योगा गर्ने गर्दा पनि ढाडलाई फाइदा पुग्छ । खानपानमा पनि सन्तुलित आहार खान जरुरी हुन्छ । अस्वस्थकर खाना तथा बढी गुलियाे खानेकुराले हड्डी कमजोर बनाउँछ ।

सामान्य पोस्चरका कारण भएको ढाड दुखाईमा अस्पताल नगई फिजियोथेरापिस्टको सल्लाह लिएर घरमै केही सावधानी अपनाएर पनि ठीक पार्न सकिन्छ । पहिलो कुरा त पोस्चरमा ख्याल गर्नुपर्ने हुन्छ । दोस्रोमा नियमित एक्सरसाइजहरु गर्न सकिन्छ जसले गर्दा मसल कडा हुन पाउँदैन । तेसो नंबरमा खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। यसका साथै शरीरलाई चलायमान बनाउने तथा धेरै नै गाह्रो भएमा अस्पताल जान सकिन्छ ।