Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एचपीभी भ्याक्सिन दिनुस्’

‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एचपीभी भ्याक्सिन दिनुस्’

हेल्थ टिभी अनलाइन : पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्ने, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, अत्यधिक धूमपान गर्नेहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ। तर सबैभन्दा बढी भने एच पी भी भाइरसकै कारण हुन्छ।

यो भाइरसका कारण हुने क्यान्सरबाट जोगिन भ्याक्सिन दिन सकिन्छ, जसलाई एचपीभी भ्याक्सिन भनिन्छ। एचपी भ्याक्सिन नेपालमा पनि उपलब्ध छ। सरकारले यो भ्याक्सिन निशुल्क उपलब्ध गराउने भनेर ‘पाइलट प्रोजेक्ट’का रूपमा शुरु पनि गरेको थियो। तर त्यो कार्यक्रम त्यति प्रभावकारी रूपमा अघि बढ्न सकेन त्यसैले यो सबैको पहुँचमा छैन।

यो अन्य भ्याक्सिनभन्दा निकै महँगो पनि छ। प्राइभेटमा एउटै भ्याक्सिनको लगभग ६ हजार रुपैयाँ जति पर्छ । यसको कोर्स पूरा गर्न तीन वटा भ्याक्सिन लगाउनु पर्छ। यसको मतलब एक छोरीलाई १८ हजार जति खर्च गर्नुपर्छ। तर सबै आमाहरूले गर्न सक्दैनन्। त्यसैले पनि यसलाई सबैको पहुँचमा पुर्याउनुपर्छ ।

यो भ्याक्सिन नौ वर्षको उमेरदेखि ‘सेक्स लाइफ’ शुरु गर्नुभन्दाअघि नै दिनु राम्रो मानिन्छ। तर ९ देखि ४५ वर्ष सम्मका महिलाले समेत भ्याक्सिन लिन सक्छन्। यो उमेरसम्म पाठेघरमा ‘इन्फेक्सन’ नभएको भए अब उपरान्त हुने इन्फेक्सन रोक्ने काम गर्ने हुनाले ४५ वर्षसम्मका महिलाले एच पी भी भ्याक्सिन लिन मिल्छ। यो भ्याक्सिनको कोर्स भने पूरा गर्नैपर्छ, छ महिना भित्र तीन वटा भ्याक्सिन लगाएर।

आजभोलि मानिसहरूमा जनचेतनाको स्तर निकै बढेको छ। मेरो क्लिनिकमा धेरै आमाहरू आफैँ यो भ्याक्सिनका बारेमा बुझ्न आउँछन्। हामी यसबारे सबै कुरा बताउँछौँ। कसले लगाउने, किन लगाउने, लगाउँदा के हुन्छ, सबै बताउँछौँ।

अझ म त सबै आमाहरूलाई शुरुमै तपाईँको छोरी छ कि छैन भनेर सोध्छु। अनि भ्याक्सिनको बारेमा बताउँछु। दुःखको कुरा, भ्याक्सिन लगाउनुपर्छ भन्ने थाहा पाउँदापाउँदै पनि रकम अभावका कारण महंगो रहेछ भनेर नलगाउने पनि धेरै छन्। यो देख्दा निकै दुःख लाग्छ।

यो हामीले महंगो बनाएका होइनौँ। बाहिरबाट भ्याक्सिन आउँदा नै महंगो पर्छ। कमसेकम सरकारी अस्पतालमा निःशुल्क यो भ्याक्सिन दिएर छोरीहरूलाई क्यान्सरबाट जोगाउन जरुरी छ। भ्याक्सिन दिएर क्यान्सरबाट जोगिन सकिन्छ भने किन नदिने ?

बरु कम मूल्य पर्ने लुगा किनेर लगाउन दिने तर हरेक आमाले आफ्ना छोरीलाई नौ वर्ष पुग्नेबित्तिकै एच पी भी भ्याक्सिन’ चाहिँ लगाउने वातावरण बनाउन जरुरी छ, जसले पछि हुनसक्ने क्यान्सरबाट बचाउँछ।

त्यसैले सबै आमालाई मेरो आग्रह– छोरीलाई दाइजो नै दिने हो भने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एच पी भी भ्याक्सिन’ दिनुस्। छोरीका लागि यो भन्दा ठूलो दाइजो अरु हुनै सक्दैन।

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा ज्योती अग्रवालसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानीमा आधारित ।

आर्काइभबाट:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।