Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नि:सन्तान दम्पत्तीका लागि आइभीएफ सेवा (भिडियोसहित)

नि:सन्तान दम्पत्तीका लागि आइभीएफ सेवा (भिडियोसहित)

बाँझोपन अर्थात नि:सन्तानपन भनेको एक वर्षसम्म पनि श्रीमान श्रीमतीले बच्चा जन्माउन चाहेर पनि भइरहेको छैन् भने त्यस अवस्थालाई भनिन्छ । अझ सरल भाषामा भन्दा परिवार नियोजनका साधनको प्रयोग बिना नै एक वर्षसम्म नियमित यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्ने अवस्थालाई बाँझोपन अर्थात नि:सन्तानपन भनिन्छ । बाँझोपन हुने मुख्य तीन कारण हुन्छन्। एक महिलामा हुने समस्या, दोस्रो, पुरुषका कारण र तेस्रो पहिचान हुन नसकेको समस्या ।

अब यहाँ चर्चा गरौं महिलामा हुने समस्याको । महिलामा बाँझोपन हुने कारणमध्ये सबैभन्दा धेरै भनेको पोलिसिस्टिक ओभरी सिन्ड्रोम पीसीओएस हो । यसैगरी अन्य कारणहरुमा ओभरीमा सिस्ट भएमा पनि समस्या हुन्छ । पाठेघरमा केही समस्या भएमा, फेलोपिन ट्युब ब्लक भएमा पनि समस्या हुनसक्छ । अण्डाको क्वालिटी राम्रो नहुँदा पनि बच्चा नहुन सक्छ । यसैगरी अत्यधिक मोटोपना, धूम्रपान र मदिरा सेवन बानी छ भने पनि बाँझोपन हुन सक्छ। यसैगरी कसै कसैमा वंशाणुगत कारणले पनि बाँझोपन हुनसक्छ ।

यसैगरी पुरुषहरूमा भने शुक्रकीटको संख्यामा कमी, कतिपयमा हुँदै नहुनु तथा क्रामोजोममा समस्या हुनु जस्ता कारणले बाँझोपन हुनसक्छ । पुरुषको हकमा पनि मोटोपना, धूम्रपान र अत्यधिक मदिरा सेवन जस्ता जीवनशैलीका कारणले पनि बाँझोपन हुन सक्छ। यसैगरी लगभग १० प्रतिशत बााँझोपनको कारण नै पत्ता लाग्न सकिरहेको हुँदैन् । महिला पुरुष दुबैको परीक्षण गर्दा उनीहरु बच्चा जन्माउनका लागि फिट देखिन्छन् तर गर्भ बस्न सकेको हुँदैन । यस्तो अवस्थालाई अनआइडेन्टिफाइड कारण भन्छौं ।

नेपाली समाजमा अझै पनि बाँझोपनको समस्या महिलामा मात्रै हुन्छ भन्ने भ्रम छ । तर यो महिलाको मात्र समस्या होइन । पुरुषमा पनि महिला जत्तिकै समान समस्या हुन्छन् । ५ \१० प्रतिशत महिलामा बढी समस्या होला तर पुरुष पनि बाँझोपनको समस्याबाट टाढा छैनन्। त्यसैले सन्तान नहुनुमा महिला मात्रै कारक होइनन् समस्या पुरुषमा पनि हुनसक्छ भन्ने बुझ्न जरुरी छ ।

यो त भयो समस्याको कुरा । अब कुरा गरौं उपचारको । नेपालमा बाँझोपन भएका दम्पत्तीलाई पनि बच्चाको सुख दिनसक्ने प्रविधि भित्रिएको धेरै वर्ष भइसकेको छ । अहिले त झनै उच्च प्रविधिसहित यस्ता सेवाहरु दिइन्छ । ढिलो विवाह, खानपान, अस्वस्थकर जीवनशैली, वंशाणुगत जस्ता धेरै कारणले समस्या पनि बढिरहेको छ भने सेवा पनि सहज भएका छन् ।

बाँझोपन समस्या भएका सबै दम्पतीलाई आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) नै गर्नुपर्छ भन्ने हुँदैन् । कतिपय दम्पत्तीलाई त काउन्सिलिङ र सामान्य औषधिले समेत गर्भ रहन सक्छ । समस्या केहो भन्ने पहिचान गरेपछि उपचार के गर्ने भन्ने प्रस्ट हुन्छ । हामी पनि सिधै आइभीएफ गर्न सल्लाह दिंदैनौं । यो त अन्तिम विकल्प हो । त्यसका लागि सुरुमा दम्पत्तीकै जाँच अनिवार्य हुन्छ । महिलाको अण्डाको अवस्था कस्तो छ भनेर हेरिन्छ । महिलाको हकमा पाठेघर र अन्डाशय तथा पुरुषको शुक्रकिट कस्तो छ भनेर पहिले यो जाँच गर्नेपर्छ । यतिले पनि धेरै समस्या पत्ता लाग्छ । यदि यी दुबै कुरा सामान्य छन् भने अन्य जाँचहरु पनि हेर्नुपर्ने हुन्छ । यदि पुरुषको शुक्रकिट हेल्दी छ र महिलाको पाठेघर हेल्दी छ भने आइयूआई गर्न सल्लाह दिइन्छ । यसमा पुरुषको स्वस्थ शुक्रकिट लिएर मेसिनमा सफा गरेर हेल्दी र सक्रिय शुक्रकीटलाई महिलाको पाठेघरमा हालिन्छ ।

यो शल्यक्रिया गर्न नपर्ने ओपीडीमै हुने प्रक्रिया हो । यदि यो प्रक्रियामा दुईपटकसम्म फेल भएमा मात्र आइभीएफ तर्फ जान सल्लाह दिइन्छ । अब आइभीएफ गर्दा चाहिं के गरिन्छ त भन्ने होला । महिलाको पाठेघर, अण्डाशय ट्युब सबै ठीक छ, पाठेघरमा सिस्ट छैन्, पाठेघर सुन्निएको छैन् भने महिनावारीको दोस्रो दिनदेखि १० दिनसम्म स्टिमुलेट गरिन्छ । एक प्रकारको सुई दिइन्छ जुन सुईले अण्डा धेरै बनाउनेकाम गर्छ । अब महिलालाई बेहोस बनाएर उक्त अण्डा निकालेर राखिन्छ । त्यही दिन नै पुरुषको शुक्रकिट लिएर ल्याबमा फर्टिलाइज गरिन्छ । तीन देखि ५ दिन भित्र उक्त फर्टिलाइज भएकाे भ्रुणलाई महिलाको पाठेघरमा हालिन्छ । यो चाहिं आइभीएफको प्रक्रिया हो ।

बाँझोपन जोकोहीलाई पनि हुनसक्छ । तर यसका पनि उपचार विधिहरु भएकाले समयमै यसको पहिचान गरेर उपचारतर्फ लागेमा यसको समस्याबाट मुक्त भई आफनो सुन्दर संसार बनाउन सकिन्छ । त्यसका लागि सही स्थान र सही विशेषज्ञकोमा भने जानुपर्छ ।

(डा ढकाल सिनामंगलस्थित स्लाभिका आइभीएफ तथा रिसर्च सेन्टरमा कार्यरत छिन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।