Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन गर्ने महिलाले ४० वर्ष पुगेपछि म्यामोग्राम ?

किन गर्ने महिलाले ४० वर्ष पुगेपछि म्यामोग्राम ?

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ। तर यस्तो गिर्खा क्यान्सर हुने वा नहुने दुवै प्रकृतिको हुन्छ। महिलाको स्तनमा देखिने गिर्खामध्ये ८० प्रतिशतभन्दा बढी गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन्। तर २० प्रतिशत भने क्यान्सर हुन्छन्। त्यही २० प्रतिशत क्यान्सर होकी भनेर सधैं चनाखो हुनुपर्छ ।

महिलाहरुमा उमेर बढ्दै जाँदा स्तन क्यान्सर हुने संभावना पनि बढ्दै जान्छ । स्तन क्यान्सर उमेर बढी भएपछि मात्र होइन जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ। नेपालमा १७ वर्षमै स्तन क्यान्सर देखिएको छ भने ९७ वर्षको महिलामा पनि स्तन क्यान्सर देखिएको छ । त्यसैले यो समूह भन्ने छैन् । जसलाई जुनसुकै उमेरमा पनि हुनसक्छ । सबै जना चनाखो हुँदै आफनो स्तनमा आएको परिवर्तनकोबारेमा सचेत हुनुपर्छं । यसको मतलब सम्पूर्ण महिलाहरु स्तन क्यान्सरको उत्तिकै जोखिममा छन्।

नियमित रूपमा आफैले आफ्नो स्तन परीक्षण गर्ने गरेमा सुरुमै पत्ता लगाउन सकिन्छ । त्यसबाहेक केही शंका लागेमा चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्न सकिन्छ ।

म्यामोग्रामबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गरिन्छ। स्तन क्यान्सर लागेपछि यसको उपचार प्रविधि जटिल हुन्छ। क्यान्सर कोषिकाहरू मार्न किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया के गर्ने बिरामीको अवस्था अनुसार चिकित्सकले निर्धारण गर्ने गर्छन । अहिले प्रविधिको विकाससँगै स्तन बचाएर पनि शल्यक्रिया गर्ने गरिन्छ ।

स्तन क्यान्सरको वंशाणुगत कारणलाई नियन्त्रण गर्न सकिँदैन। तर सन्तुलित आहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ। स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकास क्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने नै हो। अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि नेपाली महिलाहरूलाई चुनौतीको विषय बनेको छ।

सबै उमेर समूहमा स्तन क्यान्सर देखिए पनि हर्मोनल कारणले ४० देखि ५० वर्षका महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको छ। त्यसैले ४० वर्ष पुगेपछि विकसित देशहरुमा महिलाहरू प्रत्येक वर्ष म्यामोग्राफी गर्छन् । । तर नेपालमा त्यसको सुविधा सरकारी स्तरबाट गरिएको छैन्। तर पछिल्लो समय महिलाहरु आफै सचेत भएर म्यामोग्राम गराउन आउन थालेका छन्। महिलामा स्तन क्यान्सर भए नभएको पत्ता लगाउन म्यामोग्राम जाँच गराउनैपर्छ । म्यामोग्राम स्तन क्यान्सरको एक्सरे जस्तै एक किसिमको अत्याधुनिक जाँच हो ।

आफनो घरमा आमा, दिदी, बहिनी वा नजिकका नातेदारमा स्तन क्यान्सर भएमा, ३० वर्षपछि बच्चा जन्माउने महिलामा वा बच्चा नजन्माएका महिलामा, स्तनपान नगराउने महिलामा, स्तनमा गाँठागुँठी वा पुराना समस्या भएमा स्तन क्यान्सर हुने सम्भावना बढी हुने गर्छ । घरमा कसैलाई ३० वर्षको उमेरमा स्तन क्यान्सर भएको छ भने अन्य महिला आफन्तले त्यसको ५ वर्ष अघि नै २५ वर्षमै स्तन परीक्षण गर्नुपर्छ । वंशाणुगत लगायत विभिन्न कारणले पनि स्तनमा क्यान्सर हुनसक्छ । । वंशाणुगत कारणले क्यान्सर भएको अवस्थामा अलि बढी जोखिम हुन्छ । त्यसैले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको अवस्थामा वर्षमा एक पटक स्वास्थ्य जाँच गराउनैपर्छ ।

त्यसैले यदि केही लक्षण देखिएमा अघि नै र लक्षण नै नदेखिए पनि ४० वर्ष पुगेका सम्पूर्ण महिलाले वर्षको एकपटक स्तनको म्यामोग्राम गर्नैपर्छ । यसले स्तनमा केही समस्या भए समयमै पत्ता लाग्छ र उपचारमा सहज हुन्छ । सुरुमै उपचार गरेमा स्तन क्यान्सर पूर्ण रुपमा निको हुन्छ । जति चाँडो थाहा पायो त्यति नै छिटो बिरामी निको बनाउन र बचाउन सकिने भएकाले स्तनमा गाँठागुँठी देखिए डिला नगरी स्वास्थ्य जाँच गराउन जरुरी हुन्छ ।