बालबालिकामा देखिने क्यान्सर र अभिभावकले याद गर्नुपर्ने कुरा (भिडियोसहित)

डा अन्जली पण्डित
बालबालिकामा क्यान्सर किन हुन्छ भन्ने एकिन कारण हामीकहाँ मात्र हैन् विकसित देशहरुमा पनि पत्ता लागेको छैन। तर हामीले अपनाउने आधुनिक जीवन पद्धतिसँगै हाम्रो अस्वस्थकर खानपान तथा वंशाणुगत कारणले पनि होला बालबालिकामा क्यान्सर हुने क्रम भने बढेको पाइन्छ । नेपालमा एकिन संख्या नभए पनि अस्पतालमा उपचार गराउन आउने तथ्यांकले क्यान्सर रोगी बालबालिकाको संख्या चिन्ताजनक रूपमा बढ्दो क्रममा रहेको देखाउँछ ।
बालबालिको क्यान्सर सुरुकै अवस्थामा पत्ता लागेमा निको पार्न सकिन्छ । तर धेरै अभिभावकले सुरवाती लक्षणलाई वेवास्ता गरिंदिंदा उपचारमा समस्या हुन गरेको अनुभव हामीसँग छ । अब हामी बालबालिकामा कस्ता खालका क्यान्सर बढी देखा पर्छन भन्ने विषयमा चर्चा गरौं ।
बालबालिकामा वयस्कलाई जस्तै विभिन्न खालका क्यान्सर देखा पर्न सक्छन्। तर बालबालिकामा धेरै देखिने क्यान्सर भनेको (ल्युकेमिया) रगतको क्यान्सर हो ब्लड क्यान्सर । बालबालिकामा हुने क्यान्सरमध्ये ७० प्रतिशतमा रगत सम्बन्धी क्यान्सर देखिएको छ । यो चाहिं जन्मेदेखि १० वर्षसम्मका बालबालिकामा बढी देखा पर्छ । यसैगरी १० देखि १८ वर्षसम्मका बालबालिकामा धेरै जसो बोन क्यान्सर, ब्रेन ट्युमर देखिने गरेको छ ।
धेरै देखिने रक्त क्यान्सरका लक्षणहरु ज्वरो आउने, शरीरमा निल डामहरु देखिने, जीउ दुख्ने, टाउको दुख्ने, स साना मसिना दानाहरु आउने, बच्चा सेता देखिने, दुब्लाउँदै जाने,शरीरमा गाँठागुँठीहरु आउने हुने गर्छ । यस्ता लक्षणहरु देखिएमा अभिभावक चनाखो हुनुपर्छ । हामी बच्चाले केही दुख्यो भन्यो भने चकचक गरेर दुख्यो भन्ने ठान्छौं । त्यसो गर्नुभन्दा कारण खोज्नतर्फ लाग्नुपर्छ ।
यदि बालबालिकालाई लामो समयसम्म ज्वरो आउने हुन्छ र ज्वरोको कारण भेटिंदैन भने अनिवार्य रुपमा रगत जाँच गर्नुपर्छ । बालबालिकाले शरीर दुख्यो, टाउको दुख्यो भन्छन् भने बढी चनाखो भएर बेलैमा चिकित्सकको सल्लाह लिएमा पछि हुने ठूलो जोखिमबाट बचाउन सकिन्छ ।
ब्लड क्यान्सरको उपचार भनेको केमो थेरापी नै हो । केमोथेरापी सँगसँगै अन्य हेरचाह पनि आवश्यक पर्छ । धेरै नै जोखिम भएका बिरामीहरुको भने बोनम्यारो ट्रान्सप्लान्ट गरिन्छ । ब्लड क्यान्सरको यीे सबै उपचार भने नेपालमा नै सम्भव छ । अहिले नेपालमै सबै प्रकारको उपचार सम्भव भएकाले बच्चाको क्यान्सर रोग उपचार गर्न भनेर विदेश जान पर्ने अवस्था छ्रैन । आफनै देशमा बसेर गुणस्तरीय उपचार सेवा लिन सकिन्छ ।
क्यान्सर भनेको शरीरमा आवश्यक भन्दा बढी मात्रामा कोषहरुको वृद्धि हुुनु हो। जसले गर्दा ती कोषिकाहरुले शरीरमा राम्रोसँग काम गर्न सक्दैनन्। त्यसले नजिकका कोष र शरीरलाई हानि गर्छ र समयमा उपचार नपाए बिरामीको मृत्यु समेत हुन्छ ।
नेपालमा अनुमानित वार्षिक १५०० बालबालिकामा क्यान्सर हुन्छ। नयाँ बिरामीमध्ये बाल क्यान्सरको उपचारको पहुँचमा करिब एक तिहाइ मात्र रहेको देखिन्छ । उनीहरुलाई पनि उपचारमा ल्याउन सके उनीहरुको अमूल्य जीवन बचाउन सकिन्छ । यसमा सरकार र सरोकारवाला निकायको ध्यान जान जरुरी छ जस्तो लाग्छ ।
वयस्क व्यक्तिमा हुने कतिपय क्यान्सर रोकथाम गर्न सकिन्छ तर बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन । त्यसैले बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको छिटो पत्ता लगाउने र छिटो उपचारमा ल्याउनु नै हो । बालबालिकामा हुने क्यान्सरको जति छिटो उपचार गर्न सक्यो त्यति नै छिटो निको हुने सम्भावना बढी हुन्छ । ।
(डा पण्डित बाल क्यान्सर रोग बिशेषज्ञ हुन् । उनी हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धिमा कार्यरत छिन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights