होली खेल्नुअघि कस्तो तयारी गर्ने? यस्ता छन् डा धर्मेन्द्रका १० सल्लाह

नेपालमा वसन्त उत्सवको रूपमा फागु पर्व अर्थात् होली पर्व मनाउने परम्परा छ। एक आपसमा विभिन्न खालका रंग दल्ने र एक आपसमा सदभाव र माया साटासाट गर्दै मनाइन्छ यो पर्व ।
होलीको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व आफ्नै ठाउँमा छ । तर जथाभावी र ख्याल नगरेर होली खेल्दा यसले स्वास्थ्यमा हानी पनि गर्न सक्छ । होलीमा सबैभन्दा बढी असर छालामा पर्छ । वर्षमा एकपटक आउने पर्व होली पनि खेल्ने र कसरी सुरक्षित भएर खेल्ने भन्ने विषयमा आज यहाँ चर्चा गर्न खोजिएको छ । छाला कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भको हो। पहिलेपहिले मानिसहरू प्राकृतिक रंग प्रयोग गरेर होली खेल्थे। गुलाबपत्र, सयपत्री, बेसार, दुवो र मेहन्दी आदिबाट रंग तयार हुन्थ्यो। अर्को कुरा एकआपसमा छ्यापिने पानी पनि सफा हुन्थ्यो।
तर अहिले अवस्था त्यस्तो छैन। विभिन्न रसायन मिसाएर बनाएको रंग होली खेल्न प्रयोग हुन्छ। अझ कतिपयले त इनामेललगायत कडा किसिमका रंगले समेत अनुहार र शरीर रंगाएका हुन्छन्। पानी पनि सफा पाउनै मुश्किल छ । हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ। त्यसैले होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको रसायनहरु मिलाइएको हुन्छ। जसले शरीरको छाला तथा अनुहारमा समस्या निम्त्याउन सक्छ ।
बजारमा पाइने रसायनयुक्त रंगले छालामा नराम्रो असर गर्छ । जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनुका साथै यस्ता रंगले छालालाई सुक्खा र रुखो बनाइदिन्छ । तर होली खेल्नु अघि केही उपायहरु अपनाएर छालालाई बढी हानि हुनबाट बचाउन भने सकिन्छ । त्यसका लागि पहिले नै तयारी गर्नुपर्छ ।
होली खेल्दा सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्नुपर्छ । प्राकृतिक रंगले छालालाई नोक्सान गर्दैन । छालाको रोग भएका र छाला बढी सेन्सेटिभ भएकाले होली खेल्दा अझ विशेष ध्यान पुर्याउनुपर्छ । छालालाई रंगको प्रभावबाट बचाउन होली खेल्नुअघि सनस्किन, तेल तथा मोस्चराइजर लगाउनु पर्छ । यसो गर्नाले छालामा रासायनिक प्रभाव कम हुने हुन्छ । होली खेलिसकेपछि रंग निकाल्ने वेलामा पनि ध्यान पुर्याउनुपर्छ।
होली खेल्दा यी सावधानी अपनाऔं –
१. बढी चम्किलो रंग नलगाउने, सकेसम्म प्राकृतिक रंग लगाउने ।
२. होली खेल्नुअघि नङ काट्ने ताकी अरुलाई हानी नहोस्।
३. होली खेल्ने क्रममा महंगा गरगहना नलगाउने ।
४. रङले धेरै असर नगरोस भनेर टाउकोदेखि खुट्टासम्म तेल लगाउने ।
५. सकेसम्म पुरै शरीर ढाक्ने लुगा लगाउने ।
६. होली खेल्दा निश्चित समय छु्ट्याएर खेल्ने, दिनभर नखेल्ने ।
७. होलीको रङ पखाल्दा नरम साबुन तथा स्याम्पु प्रयोग गर्ने ।
८. छाला बढी नमिच्ने, पखाल्दा मिच्दा घाउ हुनसक्छ ।
९. होली खेल्दा कपाल बाँधेर राख्ने र सकेसम्म छोप्ने ।
१०. होली खेलिसकेपछि छाला बढी पोल्ने, चिलाउने वा सुन्निने भएमा चिकित्सककोमा जाने ।
(डा कर्ण छाला रोग तथा सौन्दर्य विशेषज्ञ हुन् ।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights