मधुमेहका बिरामीले कस्तो खाना खाने ? यस्तो छ डाइटिसियन राजवंशीको सल्लाह

कल्पना राजवंंशी, डाइटिसियन
रगतमा चिनीको मात्रा बढी भएर हुने रोगलाई मधुेमह भनिन्छ । मधुमेह भइसकेपछि यसलाई नियन्त्रण गर्न औषधिसँगै खानपानलाई पनि विशेष ध्यान पुराउनुपर्ने हुन्छ । मधुमेह भइसकेपछि बिरामीले चिकित्सक वा डाइटिसियनको सल्लाह बमोजिम आफनो खानाको रुटिन बनाउनुपर्ने हुन्छ । किनकी औषधि मात्र खाएर सुगर नियन्त्रण गर्न गाह्रो हुन्छ । यसमा खानाको मात्रा मिल्न पनि जरुरी हुन्छ ।
अब एक जना मधुमेहका बिरामीले आफनो खानामा के के कसरी खान सक्छन् भन्ने विषयमा चर्चा गरौं । यसले मधुमेहका विरामीलाई पोषणयुक्त तत्वको सेवन कसरी गर्ने मात्र नभई दिनमा कति पटक र के के खाने तथा कसरी खाने भन्नेबारे बुझ्न जरुरी हुन्छ ।
यस्ता बिरामीले रगतमा चिनीको मात्रा बढ्न नदिन समय समयमा थोरै थोरै भए पनि केही न केही खानेकुरा खाइराख्नु पर्ने हुन्छ । तर सबै खाना मात्रा मिलाएर खानुपर्दछ । शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसार मात्र खानुपर्छ । मधुमेहका बिरामी के खाने के नखाने भन्ने विषयमा जहिले पनि अलमलमा परेको पाइनछ । यही विषयमा आज हामी चर्चा गर्दैछौं ।
ब्रेकफास्टमा
सबैले बिहानको सुरुवात मनतातो पानीबाट गर्नुपर्छ । यसले शरीरमा भएको विकारलाई बाहिर फाल्न मद्दत गर्छ । मधुमेह भएका बिरामीले मात्र होइन सबैले बिहानको ब्रेकफास्ट लिन जरुरी हुन्छ । अझ मधुमेह भइसकेपछि त झनै यसलाई छोड्न मिल्दैन । यसैगरी आफनो ब्रेकफास्टमा ३० देखि ४० ग्राम चना, एउटा उसिनेको अण्डा, ३ देखि ४ चम्चा सातु, अथवा दूध र ओट्स, ५ पिस बदाम, २ पिस ओखर लिन सक्छन्। यो बिरामीको हाइट, वेट, शारीरिक बनावटका आधारमा पनि कम वा धेरै गर्न सकिन्छ । जहिले पनि ब्रेकफास्ट प्रोटिनरिच र काब्रोहाइड्रेट लो भएको हुनुपर्छ । यसले सुगर नियन्त्रण गर्न मद्दत गर्छ ।
मुख्य खाना (लन्चमा)
मधुमेह भइसकेपछि धेरैले आफूखुशी भात त खानै हुँदैन भन्दै छोेडेको पनि पाइन्छ । तर त्यसो गर्नु पर्दैन । मधुमेह भइसकेपछि पनि मात्रा मिलाएर सबै स्वस्थकर खाना खान सकिन्छ । ब्रेकफास्ट गरेको लगभग ३ घण्टा पछि १०० देखि १५० ग्रामसम्म भात लिन सकिन्छ । भातसँगै प्रसस्त सागसब्जी, सलाद लिन सकिन्छ । सागसब्जी र सलादमा कुनै बन्देज छैन्। यसैगरी ठूलो कचौराको एक कचौरा दाल खान सकिन्छ । यसैगरी खानामा तोफु, चिकेन, माछा पनि लिन सकिन्छ । खानासँगै एक चम्चा आलसको पाउडर एवम मेथी लिएमा यसले सुगर नियन्त्रणमा ठूलो सहयोग पुराउने हुन्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक मानिन्छ ।
खाजा
खाना खाएको २ देखि ३ घण्टामा कुनै सिजनल फलफूल लिन सकिन्छ । यसमा कम गुलिया फलफूल लिनु पर्छ । कुनै पनि फल खानै हुँदैन भन्ने हुँदैन । फलफूलसँगै थोरै नट्स लिँदा यसले फाइदा गर्छ । फलफूल लिएको २ \३ घण्टापछि फेरि खाजाको रुपमा चना, एउटा रोटी, दूध ओट्स वा मखाना लिन सकिन्छ । यसमा ४ पिस बदाम पनि समावेश गरेको राम्रो ।
बेलुकाको खाना (डिनर)
मधुमेहका बिरामीले बेलुकाको खाना ७ बजे अघि नै खाएको राम्रो । खानामा रोटी, च्याँख्ला, वा भात लिन सकिन्छ । त्यसमा दाल, तरकारी प्रसस्त खान सकियो । प्रोटिनका लागि चिकेन वा तोफु लिन सकिन्छ । रोटी लिएमा २ वटा र भात लिंदा सानो कचौराको एक कचौरा लिनुपर्छ । याद के गर्नुपर्यो भने भात रोटी भन्दा थाल सागसब्जी र सलादले भरिन पर्छ । यदि बिहानको सुगर हाइ छ भने बिहान रोटी लिएको राम्रो र यदि बेलुका सुगर बढी छ भने बेलुका रोटी लिएको राम्रो । यो कुरा आफनो विशेषज्ञ डाक्टरसँगको सल्लाहमा लिन सकिन्छ । आलु लिन मन लागेमा दुई चम्चा भात कम गरेर आलु खान सकिन्छ । यो सँगै इन्सुलिन लिइरहेका कयौं बिरामीलाई डिनरपछि पनि सुत्ने बेलामा केही खानेकुरा दिनुपर्ने हुनसक्छ । त्यसबेला आधा कप दूध, थोरै नट्स, दिन सकिन्छ ।
यसरी खानाको मात्रा मिलाएर खाँदा सुगर नियन्त्रण हुन मद्दत गर्छ र जटिलता हुनबाट जोगिन सकिन्छ । मधुमेहका रोगीले बढी गुलिया खानेकुरा सकेसम्म खानुहुँदैन । बढी गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीलेयस्ता खानेकुरा नखाएकै राम्रो । तर अन्य खानेकुरा सबै मात्रा मिलाएर आफ्नो खानालाई सन्तुलित रुपमा राख्न सकिन्छ ।
(डाइटिसियन राजवंशी आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छिन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights