डण्डीफोरलाई हेलचेक्र्याइँ नगर्नुस्, अनुहारभरि बस्ला दाग !

हेल्थ टिभी अनलाइन : डण्डीफोर सामान्यतया केटीहरुमा १२ वर्ष र केटाहरूमा १३ वर्षपछि आउन शुरु हुन्छ। महिलाहरूको हकमा भने हर्मोनको कारण महिनावारी शुरु हुनुभन्दा चार पाँच दिनअघि डण्डीफोर आउने गर्छ। टिनएजमा डण्डीफोेर आउनुलाई सामान्य मानिन्छ तर कसै कसैलाइै बाह्रै महिना डण्डीफोरले सताउँछ। यस्तोलाई भने सामान्य मान्न हुँदैन।
सँधै डण्डीफोरले सताउँछ भने विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ। कहिलेकाहीँ डण्डीफोरलाई निचोर्दा वा कोट्याउँदा पनि यसले धेरै नै दुःख दिन्छ। साथै दागसमेत बस्छ। डण्डीफोरलाई कहिल्यै कोट्याउने, चलाउने र फुटाउने गर्नुहुँदैन। फुटाउँदा ‘इन्फेक्सन’ भएर बढेर अझ बढी डण्डीफोर आउने हुन्छ। र भएको डण्डीफेर पनि निको हुन समय लाग्छ।
किन आउँछ डण्डीफोर ?
डण्डीफोर उमेरका कारण हर्मोन परिवर्तन हुने बेलामा आउँछ। यो सामान्य हो। हरेक व्यक्ति आफ्नो टिन एजको बेला डण्डीफोरको समस्याबाट गुजे्रकै हुन्छ। २५ प्रतिशत हर्मोनको कारण, २५ प्रतिशत तैलीय छालाको कारण र ५० प्रतिशत जीवनशैलीका कारण डण्डीफोर आउने गर्छ। हामीले खाएको खानेकुराको कारण पनि डण्डीफोर आउन सक्छ। पानी प्रशस्त नपिउने र चिल्लो पिरो मसालेदार खाना खाने व्यक्तिलाई डण्डीफोरले सताउने सम्भावना बढी हुन्छ। पौष्टिक खानामा पनि ध्यान दिन जरुरी हुन्छ। कहिलेकाही प्रशस्त निद्रा पुगेन भने पनि डण्डीफोर आउँछ।
हाम्रो शरीरलाई आराम चाहिन्छ। शरीरले आराम खोजिरहेका बेला हामी सुतेनौँ भने शरीरले ‘स्ट्रेस हर्मोन’ निकाल्न शुरु गर्छ जसले डण्डीफोर निकाल्न मद्दत गर्छ। त्यसैले शरीरलाई आराम पनि दिनुपर्छ।
यसरी बच्न सकिन्छ
बजारमा पाइने अनेकथरी ‘ब्युटी प्रोडक्ट’ले पनि डण्डीफोर आउन सक्छ। सबै व्यक्तिको छाला एकै किसिमको हुँदैन। सबैलाई सबै ब्युटी प्रोडक्ट ‘सुट’ नगर्न सक्छ जसले ‘साइड इफेक्ट’का रुपमा डण्डीफोर र अन्य एलर्जी समेत हुन्छ। त्यसैले छाला सुख्खा, तैलीय वा नर्मल के हो विशेषज्ञ चिकित्सकलाई देखाएर मात्र क्रिमहरूको प्रयोग गर्दा डण्डीफोरको समस्याबाट बच्न सकिन्छ।
हामीमध्ये धेरै जनामा बिहान उठ्ने बेलामा मात्र मुख धुने बानी हुन्छ। तर त्यतिले मात्र पुग्दैन। दिनभरिको धुलोधुँवा सबै हाम्रो छालामा टाँसिएको हुन्छ। त्यसलाई नियमित रूपमा सफा गर्नुपर्छ। तैलीय छाला भएकाले दिनमा चारदेखि पाँच पटकसम्म र नर्मल छाला हुनेले तीन पटक मुख धुन जरुरी हुन्छ। यसले फोहोर छाला भित्रसम्म जान दिँदैन।
अझ मुख धुँदा सादा पानीले मात्र धुनुभन्दा आफ्नो छालालाई सुट हुने फेसवास प्रयोग गर्न सकिन्छ। अफिस वा काम विशेषले बाहिर निस्कँदा लगाएको क्रिम सुत्नुअघि अनिवार्य रुपमा पुछेर मात्र सुत्नुपर्छ। बेवास्ता गर्दा यसले छालाको प्वालहरुलाई ‘ब्लक’ गरिदिन्छ र छालामा साना साना दागजस्तो देखिन थाल्छ।
यदि डण्डीफोरले धेरै सताएको छ भने उपचार गरेमा निको हुन्छ। र दाग बसिसकेको छ भने पनि लेजर वा डर्मा रोलर गरेर दागहरु हटाउन सकिने प्रविधि नेपालमा पनि भित्रिसकेका छन् । विशेषज्ञ चिकित्सकहरूले यस्ता उपचार गरिरहेका छन्। तर समस्या आइसकेपछि उपचार गर्नुभन्दा समस्या नै आउन नदिनेतर्फ ध्यान दिन जरुरी छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights