थाइराइडमा धेरै नै भ्रम छन्, भ्रमको पछि नलाग्नुस् : डा विनय भट्टराई

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली समाजमा थाइराइडलाई लिएर थुप्रै भ्रमहरु रहेको पाइन्छ । थाइराइडमा यो खान हुन्छ यो हुँदैन भन्ने निकै भ्रम रहेको छ । बिरामीहरुले यो रोग लागेपछि मुख बार्नुपर्छ समेत भनेको सुन्न पाइन्छ । तर यो रोग खानेकुरासँग सम्बन्धित नभएकाले यसका लागि नै भनेर कुनै पनि खाना खान नहुने भन्ने छैन्।
थाइराइड हाम्रो शरीरको एउटा अंग हो यो घाँटीको अगाडी भागमा पुतली आकारमा रहेको हुन्छ । यस अंगले हाम्रो शरीरलाई अत्यावश्यक पर्ने हर्मोन उत्पादन गर्ने काम गर्छ । तर यही थाइराइड ग्रन्थीमा विभिन्न कारणले समस्या उत्पन्न भएमा थाइराइड रोग लाग्यो वा थाइराइडको समस्या भयो भन्ने गरिन्छ ।
यो रोग पुरुषभन्दा महिलामा बढी देखिन्छ । महिलामा हर्मोन परिवर्तन भइरहने कारणले पनि यो समस्या महिलामा बढी देखिएको हो । थाइराइड ग्रन्थीले हर्मोन कम उत्पादन गरे पनि शरीरमा समस्या देखिन्छ भने यसले बढी हर्मोन उत्पादन गर्न थालेमा पनि समस्या हुन्छ र विभिन्न लक्षणहरु देखिन थाल्छन। थाइराइडले उत्पादन गर्ने हर्मोनको मात्रा नियमित भन्दा फरक भएमा समस्या देखिने हाे । तर याे आत्तिहाल्नुपर्ने रोग भने होइन ।
थाइराइडको उपचार अहिले देशका धेरै अस्पतालमा हुन्छ। परीक्षण भने गराउनु पर्छ। शुरुको अवस्थामा उपचार गरेर थाइराइडलाई सही घेरामा राख्यो भने यसले खासै हानि गर्दैन। हाम्रै देशमा सम्पूर्ण उपचार सम्भव छ।
यो थाइराइड फङ्सन टेस्ट गरेमा पत्ता लाग्छ कुन प्रकारको थाइराइडको समस्या हो भन्ने । थाइराइडमा यसको प्रकार अनुसार लक्षण देखिने हुन्छ। हर्मोन कम हुने अर्थात हाइपो थाइराइड छ भने कपाल झर्ने, थकाइ बढी लाग्ने, बढी जाडो लाग्ने, छाला फुस्रो हुने, महिलामा महिनावारी गडबडी हुने तथा मोटाउँदै जाने समस्या देखिन सक्छ भने भने हाइपर थाइराइडमा, मुटुको धड्कन बढ्ने, बढी थकाइ लाग्ने, कपाल झर्ने जस्ता समस्या हुन्छ। तरसबैमा सबैखाले लक्षण देखिन्छ नै भन्ने छैन्। त्यसैले लक्षण नै नदेखिए पनि यसको नियमित परीक्षण आवश्यक हुन्छ ।
यो नियमित औषधीको सेवन गरेमा नियन्त्रणमा हुन्छ र खासै दुख दिंदैन । तर थाइराइडलाई लिएर समाजमा निकै नै भ्रमहरु रहेका छन्। ती भ्रमहरु यस प्रकार छन्।
भ्रम १ -थाइराइडको समस्या भएमा महिलाको बच्चा हुँदैन् भ्रम रहेको छ ।
भ्रम २ -थाइराइड भएपछि गाजर, मूला, बन्दा काउली खान हुँदैन भन्ने भ्रम छ ।
भ्रम ३- थाइराइड भएमा घाँटीमा गलगाँड नै आउँछ भन्ने भ्रम छ ।
भ्रम ४ -थाइराइड डरलाग्दो रोग हो भन्ने भ्रम छ ।
भ्रम ५ -थाइराइड हुँदैमा औषधी सबैले सधैं खाइरहन पर्छ ।
माथिका यी सबै भ्रम मात्र हुन्। डाक्टरको सल्लाह अनुसार नियमित औषधीको सेवन गर्ने र आफनो जीवनशैली सुधार्ने हो भने थाइराइड नियन्त्रणमा राख्न सकिन्छ । डराउन र आत्तिन पर्दैन ।
(थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा विनय भट्टराई ह्याम्स अस्पताल र मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा