हाइपोथाइराइडमा मोटोपन कसरी नियन्त्रण गर्ने ?

हाइपोथाइराइडमा के भ्रम छ भने यस रोगमा मोटोपन घटाउन सकिँदैन वा कम खाए पनि तौल बढ्छ। कसैलाई तपाईले सोध्नु भयो तपाइको तौल बढेछ नि ? सहजै उत्तर प्राप्त गर्नुहुन्छ मलाई थाइराइड छ। तर उहाँहरुमा धेरैलाई तौल व्यवस्थापन गर्नुपर्छ वा सकिन्छ भन्ने जानकारी नभएको पाइन्छ। हामीकहाँ आउने बिरामीको शुरुको प्रश्न हुन्छ के खान हुन्छ र के खान हुँदैन ? तर त्यो होइन कि आफ्नो तौल, उचाई, शारीरिक क्रियाकलाप अनुसार कुन समयमा र कति कति मात्रामा खानुपर्दछ भन्ने बुझ्नु पर्दछ ।
थाइराइड ग्रन्थी हाम्रो घाँटीको तल पट्टि हुन्छ जसले हर्मोन उत्पादन गर्दछ । यस रोगमा कम हर्मोन उत्पादन हुनुलाई हाइपोथाइराइडिज्म भनिन्छ । शरीरको मेटाबोलिज्म अर्थात खानाबाट गएको शक्तिलाई शरीरमा उपयोगमा र नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्दछ । यो हर्मोनले शरीरमा चाहिने पौष्टिक तत्व विभिन्न अंगका कोशिकामा पुर्याउन सहयोग गर्दछ । यस रोगमा हर्मोनको उत्पादन हुने हुनाले शरीरमा शक्तिको खर्च कम हुने हुनाले मोटोपनको समस्या बढ्दै जाने हुन्छ । यसका साथै रगतमा अनावश्यक चिल्लाेको मात्रा बढ्ने, शरीरमा संचित भएको चिल्लो खर्च नहुने र मोटोपनको समस्या बढ्दै जान्छ ।
हाइपोथाइराइडमा खानपान व्यवस्थापन
हाइपोथाइराइड हर्मोनको मात्रा कम उत्पादन हुने भएको खण्डमा तौल बढ़ने हुन्छ । यसमा कम क्यालोरीयुक्त खानाहरु आफ्नो खानामा समावेश गर्नुपर्दछ खानामा रेशायुक्त खाना जस्तै बोक्रा सहितको अन्न, गेडागुडी फलफूल र सागसब्जी समावेश गर्ने र प्रशोधित खाना र बढी चिल्लो युक्त खाना घटाउनु पर्दछ । साथै शारिरिक कृयाकलाप बढाउनु पर्दछ।
हाइपोथाइराडिज्ममा मुटुको घड़कन बढी हुन्छ, रगतमा चिल्लोको मात्रा पनि बढ़ने हुनाले चिल्लोको मात्रा कम गर्ने, प्रशोधित खाना (मैदा र मैदा बाट बनेका खानेकुरा) बजारमा उपलब्ध प्याक गरिएका खानेकुरा जसमा चिल्लो र नुनको मात्रा अत्याधिक हुन्छ नखान साथै खानामा प्रयाप्त मात्रामा प्रोटिन र रेशाको मात्रा समावेश गर्नुपर्दछ ।
हाइपोथाइराइडमा थकावट महशुस हुने आलश्यता बढ़ने, छिटो छिटो रिस उठ्ने र धेरै चिन्ता लिने समस्या देखा पर्दछ । यस्तो अवस्थामा उपचारका साथसाथै खानामा भिटामिन समावेश गर्नुपर्दछ । यसको लागि सन्तुलित खाना खानु जरुरी हुन्छ ।
हाइपोथाइराइडमा देखिने अर्को समस्या कपाल झर्ने वा टुक्रिने पनि हो । यसमा उपचारका साथसाथै खानामा प्रयाप्त मात्रामा प्रोटिन, भिटामिन ए,सी,डी,ई,वी,जिंक आइरन,आयोडिन र चिल्लो पदार्थ आवश्यक पर्दछ । यसका परिपूर्तिका लागि बोक्रा सहितको अन्न गेडागुडी सागपात, फलफूल, नट्स, दुध, दही अन्डा, मासु, बटर चीज तेल खानामा उपयुक्त मात्रामा समावेश गर्नुपर्दछ ।
हाइपोथाइराइडमा शरीरको तापक्रम कम हुन्छ जसले गर्दा जाडो महसुस हुने गर्दछ । यसका लागि शारीरक कृयाकलाप बढाउनुका साथै खानामा कम क्यालोरी अनि उच्च रेशा भएको खाना छान्नुपर्दछ । समय समयमा मनतातो पानी र कम क्यालोरी युक्त सुप पिउनुपर्दछ ।
यस रोगमा छाला सुख्खा हुने र नङ कमजोर हुने हुनाले उपचारका साथसाथै प्रोटिन (दुध, दही,माछा, मासु, अन्डा) भिटामिन ई (सम्पूर्ण प्रकारका तेल, बटर नट्स), भिटामिन सी (अमिला फलफूल तथा सागपातहरु) युक्त खाना प्रयाप्त मात्रामा खानुपर्दछ ।
हाइपोथाइराइडका समस्या भएका मानिसमा भिटामिन डी, क्याल्सियम, भिटामिन वीं १२ को कमी देखिने हुनाले उपचारका साथै खानामा भिटामिन डी (घाममा वस्ने,माछा, मासु, दुध) भिटामिन ई र भिटामिन बी १२ (मासु,तोफु, बटर,चीज र उमारेको गेडागुडि) क्याल्सियम ( दूध, दही पनिर, बदाम) प्रयाप्त मात्रामा समावेश गर्नुपर्दछ ।
कब्जियत पनि हाइपोथाइराइडिज्म भएको मानिसमा देखिने अर्को समस्या हो । हाम्रो शरीरको लागि दैनिक रेशाको आवश्यकता प्रति १००० क्यालोरी १० देखि१५ ग्राम आवश्यक पर्दछ । यसका लागि दैनिक खानामा रेशादार खाना (बोक्रा सहितको) अन्न, दाल, गेडागुडी फलफूल तरकारी र प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । यदि हामीले दैनिक खानामा भात र मैदाका परिकार प्रयोग गरेको खण्डमा ५ ग्राम फाइवर पनि पुर्याउन सकिदैन । कब्जियतमा समयमा सुत्ने, समयमा उठ्ने र शारीरिक व्यायामको पनि उत्तिकै जरूरत पर्दछ ।
मोटोपनका व्यवस्थापनका लागि खानपान व्यवस्थापन का साथै व्यायमको पनि उत्तिकै भूमिका रहेको हुन्छ । तसर्थ प्रति हप्ता ३०० मिनेट( प्रतिदिन ४० देखि ५० मिनेट व्यायाम) – छिटो छिटो हिडने, नाच्ने साइकल चलाउने गर्नुपर्दछ ।
हाम्रो नेपाली समाजमा खान हुने खाना भन्ने वित्तिकै त्यस खाद्य वस्तुलाई अत्याधिक प्रयोग गर्ने प्रचलन छ । यो खान हुने खाना पनि सिमित नै प्रयोग गर्नुपर्दछ । खानाको मात्रा कति खाने भन्ने कुरा उसको उचाई तौल, लिगं, शारीरिक क्रियाकलापमा भर पर्ने हुनाले व्यक्तिगत आवश्यकता फरक हुन्छ त्यसकारण एकपटक नजिकको डाइटिसियनसँग परामर्श गरेर खानामा पौष्टिक तत्वको प्रवन्ध गरेको खण्डमा तौल व्यवस्थापन गर्न सकिन्छ।
(डाइटिसियन बिनिता पन्त अल्का अस्पतालमा कार्यरत छिन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा