थाइराइडमा खानासम्बन्धी भ्रम र यथार्थ : यस्ता छन् डा रुपक भारीका सल्लाह

हेल्थ टिभी अनलाइन : थाइराइड रोग सम्बन्धी समाजमा धेरै नै भ्रम रहेका छन्। थाइराइड समस्या भएकाले यो खानेकुरा खान हुन्छ यो हुँदैन भनेर आफुखुशी खाना बार्ने गरेको देखिन्छ भने अर्को व्यक्तिलाई पनि त्यही सल्लाह दिइन्छ । थाइराइड जाँच गर्न आउनेमध्ये धेरै जनाले मैले त काउली, बन्दा , ब्रोकाउली, मूला यी सबै खानेकुरा खान छोडें भन्ने गरेको पाइन्छ । यी सबै भ्रम मात्र हुन्। अहिलेसम्म थाइराइडको समस्या भएकाले खानपान बार्नुपर्छ भनेर कहींकतै कुनै पनि अनुसन्धानले देखाएको छैन्। कुनै पनि विशेषज्ञ डाक्टरले खाना बार्न भन्नुहुन्छ जस्तो मलाई लाग्दैन । तर बिरामी आफूखुशी खाना बारिरहेका छन्।
यथार्थमा कुनै पनि ठिक्क मात्रामा खाइने खानेकुराको सेवनले थाइराइड बढ्ने वा घट्ने हुँदैन। तरकारीको रुपमा सलादका रुपमा कहिलेकाँहि थोरै परिमाणमा खाएको खानेकुराले थाइराइड ह्वात्तै बढ्ने वा घट्ने अवस्थामा खासै असर गर्दैन। धेरै खाना कुनै पनि रोगलाई राम्रो हुँदैन्। त्यो थाइराइड होस वा अन्य रोग । यो खानेकुराका कारण बढ्ने रोग होइन । त्यसैले कसैले पनि कुनै पनि खानेकुरा बार्न पर्दैन । बिरामीहरुले औषधिलाई लिएर पनि धेरै प्रश्न गरेको देखिन्छ । औषधि खाइसकेपछि यो खान हुन्न रे । पानी पनि खान हुन्न रे भनेर सोही बमोजिम गरेको पाइन्छ । खासमा त्यस्तो गर्न जरुरी छैन्।
हर्मोन उत्पादन कम गर्ने थाइराइडका बिरामीलाई दिइने एक किसिमको औषधि बिहान खाली पेटमा खान दिने गरिन्छ । जसमा खाली पेटमा खाने र यो सँग अन्य कुनै खाना खान मिल्दैन भनेर बिरामीलाई सल्लाह दिइन्छ । खाली पेटमा औषधि खाइसकेपछि आधा घण्टा जति अन्य कुनै खानेकुरा नखाएको राम्रो हुन्छ । तर यही कुरालाई लिएर बिरामी औषधि खाँदा पानी पनि खान मिल्दैन भनेर मैले त औषधि थुकले निल्ने गरेको छु भन्दै आउने पनि हुनुहन्छ । यस्तो गर्नुपर्दैन ।
खाली पेटमा उठ्ने बित्तिकै औषधि खानुस त्यसपछि आफनो नित्य कर्म गर्नुस त्यति गर्दासम्म तपाइँको चिया नास्ता खाने समय भइसक्छ । आधा घण्टा मजाले बितिसकेको हुन्छ । त्यसपछि मजाले खान सक्नुहुन्छ । थाइराइड भयो भन्दैमा जीवनलाई जटिल बनाउनतर्फ नलाग्नुस्। यसलाई त कसरी सहज बनाएर समस्या नियन्त्रणमा राख्न सकिन्छ भन्ने तर्फ लाग्ने हो ।
अर्को कुरा थाइराइड भएका महिलाको गर्भ रहँदैन रे भनेको पनि निकै सुनिन्छ । यो शत प्रतिशत गलत हो । के चाहिं हो भने महिलालाई थाइराइडको समस्या भएमा र थाइराइडको नियन्त्रण नगरेमा बच्चा बस्न गाह्रो हुने र गर्भ खेर जाने हुनसक्छ । तर थाइराइडको औषधि सेवन गरेर त्यसलाई नियन्त्रणमा राखेमा बच्चा बस्न समस्या हुँदैन । त्यसैले अरुको कुरा सुन्ने भन्दा पनि डाक्टरको सल्लाह बमोजिम औषधिको सेवन र स्वस्थकर जीवनशैली अपनाऔं । हल्लाको पछि नलागौं ।
मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रुपक भारी कुपन्डोलस्थित आरुस लाइफस्टाइल अस्पतालमा कार्यरत छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights