Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बढ्दो शहरीकरणको साइड इफेक्ट हाे ‘मधुमेह रोग’

बढ्दो शहरीकरणको साइड इफेक्ट हाे ‘मधुमेह रोग’

हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह अर्थात चिनी रोग बढ्दो शहरीकरणको साइड इफेक्टको रुपमा आइरहेको छ । जहाँ जहाँ छिटो छिटो शहरीकरण भइरहेको छ, बाटोघाटो पुगेका छन् ती स्थानमा हेर्ने हो भने मधुमेह रोग पनि बढिरहेको छ । त्यसैले हामी विशेषज्ञहरुले यसलाई आधुनिकीकरणसँगै साइड इफेक्टका रुपमा आएको रोगका रुपमा चिन्ने गछौं । नेपालकै कुरा गर्ने हो भने जहाँ जहाँ छिटो विकास भएको छ बाटोहरु पुगेका छन्। ती गाउँहरुमा मधुमेह रोग बढी देखिन थालेको छ । यसको मतलब शहरीकरण हुन हुँदैन भन्ने होइन तर योसँगै मधुमेहबाट पनि हामी ग्रसित हुँदै गइरहेका छौं ।

यो किन हुन्छ त भन्ने प्रश्न धेरैको मनमा आउँछ । यसमा साधारण हिसाबमा हामीले बुझाउन सक्छौं । जुन जुन ठाउँमा बाटो घाटो मोटर पुगेको छैन् ती स्थानमा मानिसहरु हिंडडुल गर्ने, उकालो ओरालो गर्ने, खेतबारीमा काम गर्ने गर्छन । यसले गर्दा शारीरिक रुपमा उनीहरु सक्रिय हुन्छन्। त्यसको विपरित जुन गाउँमा मोटर बाटोहरु पुगेका छन् ती गाउँमा मानिसहरु हिड्नुको सट्टा मोटर चढ्न थाले जसले गर्दा थोरै पनि ह्रिड्न परेन र परिश्रम कम भयो । यसरी व्यक्तिहरुको शारीरिक सक्रियता कम हुँदै जान्छ र खाएको खानेकुरा शक्तिको रुपमा परिणत नभई चिनीको रुपमा रगतमा गएर बस्छ । जब रगतमा चिनीको मात्रा बढी हुन्छ त्यसलाई हामी सुगर रोग वा मधुमेह भन्ने गर्छौ । मेडिकल भाषामा खाली पेटमा १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा बढी भएमा चिनी रोग लागेको मानिन्छ ।

यसैगरी गाउँघरमा आफैले फलाएको वा उब्जाएको प्राकृतिक खानेकुराहरु पाइन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन । रेशायुक्त ताजा फलफूल, तरकारी, साग आदी गाउँघरमा प्रशस्त पाइन्छन्। यी प्राकृतिक खानुकुरा शरीरका लागि फाइदाजनक हुन्छन्। तर बढ्दो शहरीकरणसँगै यस्ता तरकारी पनि अब व्यवसायिक रुपमा खेती गर्ने र विक्री वितरण हुन थालेपछि यसमा विभिन्न रासायनिक मलहरु प्रयोग हुन थालेका छन् जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले शहरीकरण हुनु भनेको एक हिसाबले मधुमेहको जोखिममा पर्नु पनि हो भनेर बुझ्न सकिन्छ ।

त्यसैले नेपालमा मात्र हैन् विकसित देशहरुमा पनि यो समस्या अझ बढी विकराल छ तर उनीहरुकोमा यो समस्यासँग लड्नका लागि सरकार आफै लागिरहेको छ । धेरै देशहरुमा औषधि तथा इन्सुलिन निशुल्क छन् जसले गर्दा सुगर भए पनि ती देशहरुमा जटिलता कम हुने गर्छ । तर हामी कहाँ अझै पनि मधुमेह रोगको उपचारमा धेरैको पहुँच पुग्न सकेको छैन्। जसले गर्दा उनीहरुमा यो रोगबाट हुने जटिलता बढी देखिन्छ । मधुमेह रोगको सबैमा लक्षण नदेखिन पनि सक्छ । त्यसैले कहिलेकाहीं बिरामी मलाई त केही भएकै छैन् भनेर आउनुहुन्छ तर यसले मुटु मिर्गौलालाई असर गरिसकेको हुन्छ । त्यसैले यसलाई हामी साइलेन्ट किलरका रुपमा पनि लिन्छौं । विभिन्न अध्ययनहरुले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतभन्दा बढीलाई आफूलाई मधुमेह भएको छ भनेरै थाहा नै पाउन सक्दैनन् ।

यसका सामान्य लक्षणका कुरा गर्ने हो भने पिसाव बारम्बार लागिरहने, पानी प्यास बढी लाग्ने, मुख सुक्खा हुने, केही घाउ भएमा निको नहुने, थकान महसुुस हुने, दुब्लाउँदै जाने जस्ता लक्षण देखिने गर्छन ।

मधुमेहले महिला पुरुष भनेर भेदभाव गर्दैन । यो जसलाई पनि हुनसक्छ । समयमै सतर्कता अपनाइएन भने यसले ठूलो दुख दिन्छ । मधुमेह भइसके पछि  मुटु, मिर्गौला, आँखा, नसाजस्ता महत्वपूर्ण अंग बिगार्ने हुन्छ । त्यसले यसलाई नियन्त्रणमा राख्नैपर्छ । डाक्टरको सल्लाह बमोजिम औषधि नियमित खाने, आफूलाई सक्रिय राख्ने, खानपान मिलाउने हो भने यसलाई नियन्त्रणमा राखेर वषौंसम्म पनि समस्या नआउन दिन सकिन्छ । तर लापरवाही गर्ने हो भने यसले २\ ४ वर्षमै अन्य अंगमा असर गरेर दुख दिने गर्छ ।

हामी वंशाणुगत रुपमा पनि मधुमेह हुने समूहमा पर्छौ । त्यसमा पनि जंकफुड खाने, डौडधुप, खानाको रुटिन नहुने, तनावपूर्ण जिन्दगी, शारीरिक व्यायामको कमी जस्ता कारणले यसलाई झनै बढावा दिइरहेकाे छ । मधुमेह रोगबाट बच्न प्राकृतिक खाना खाने, शारीरिक व्यायाम गर्ने, योग ध्यान गर्ने, नियमित जाँच गर्ने, पेटको गोलाई बढ्न नदिने, तनाव नलिने जस्ता काम गरेर हामी सजिलै बच्न सक्छौं । रोग लागिसकेपछिको हकमा भने नियमित डाक्टरको सम्पर्कमा बसेर उनीहरुको सल्लाह बमोजिम जीवनशैली परिवर्तन गर्न जरुरी हुन्छ ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या