त्रिवि शिक्षण अस्पतालकी नर्सको मैनालीलाई पत्र : संक्रमितको उपचारमा खटिएकाको मनोबल गिराउने काम नगर्नुस्

अस्मिता ढकाल
यतिबेला विश्व नै कोरोना महामारीका कारण आक्रान्त बनेको छ । नेपालमा पनि कोरोनाको दोस्रो वेभमा अझ बढी समस्या आयो । अस्पतालहरु संक्रमितले खचाखच हुन थाले भने भएका जनशक्तिलाई काम गर्न पनि मुश्किल परेको छ । यही बेला मैले एउटा लेख पढे जसमा शिर्षक थियो -‘त्रिवि शिक्षण अस्पताल : कोरोना विरामी माथि सेतो अपराधको कथा’ । रघु मैनालीले लेख्नु भएको रहेछ । म उहाँको बिरामीको सेवा गर्ने मध्येकी नर्स हुँ । त्यसैले पनि यो लेख पढेपछि केही नलेखी बस्न सकिन ।
उहाँले जे लेख्नु भएको छ ती सबै कपोलकल्पीत छन्। हो उहाँले आफनो आफन्त गुमाउनु भएको छ । त्यसमा हामी पनि दुखी छौं । हाम्रो चाहना अस्पताल आउने सबै बिरामी निको भएर जान सकुन भन्ने नै हुन्छ । उहाँको आफन्तप्रति श्रद्धान्जली पनि दिन चाहन्छु र केही कुरा खण्डन पनि गर्न चाहन्छु ।
उहाँले लेख्नु भएका कुुुराहरु पढेर म त झसंग भएँ । डेढ वर्षदेखि दिनरात नभनी काम गरिरहेका अस्पतालका कोभिड संयोजक डा सन्तकुमार दासलाई जे लेख्नुभएको छ । त्यसमा मेरो ठूलो आपत्ति छ । उहाँसँगै काम गरिरहेको कर्मचारी भएको नाताले पनि म के दावी गर्छु भने थोरै स्रोत साधनमा उहाँले जे जस्तो काम काम गर्न परेको छ त्यो निकै ठूलो हो । उहाँले जानेर कसैलाई पनि चोट पुराउन भएको छैन् र हुन्न पनि । यो अस्पताल सार्वजनिक संस्था हो यसका आफनै लिमिटेसन हुन्छन् । कतिपय अवस्थामा भने जसरी काम गर्न सकिंदैन त्यो आफनो ठाउँमा छ तर जानी जानी सेतो कोट लगाएर बिरामी मारिरहेको भन्ने जुन आरोप लगाइएको छ यो असाध्यै आपत्तिजनक छ । थोरै स्रोत साधनमा कसरी काम गर्न परिररहेको छ त्यो हामी काम गर्नेलाई मात्र थाहा छ । यो डेढ वर्षमा एक दिन पनि बिदा नबसी काम गरिरहेका डाक्टरलाई यस्तो आरोप लगाउने अधिकार उहाँलाई कसले दियो ?
अर्को कुरा अस्पतालमा कमी कमजोरी हुनसक्छन । एकैचोटी धेरै बिरामी आउँदा जनशक्ति नहुँदा कहिलेकाहीं कमजोरी हुनसक्छन। लेखकले त्रिवि शिक्षण अस्पतालका कर्मचारीले अनावश्यक भत्ता खान्छन् भन्नु भएको रहेछ । कति भत्ता कसरी खाएका छन् भन्ने कुरा नबुझी सतही टिप्पणी कसरी गर्नुभयो। के आधार छ तपाइँसँग ? हामी भत्ताका लागि हैन् आफनो जिम्मेवारी निभाइरहेका छौं । सबै जना डराएर घरभित्र बसेका बेला हामी नै हौं संक्रमितको उपचारमा खटिएका । हामीलाई कोठा भाडा समेत दिन आनाकानी गरेका बेला अस्पतालमै म्याट ओछ्याएर सुत्यौं तर बिरामीको सेवा रोकेनौं यो कुरा चाहिं कसले देख्ने । तपाइँले जे देख्नुभयो त्यो भन्दा धेरै फरक छ हाम्रो दैनिकी । अस्पतालमा १२ घण्टासम्म पीपीई लगाएर गुम्सिएर सेवा दिइरहँदा पनि आफ्नै अगाडी बिरामीको मृत्यु हुँदा त्यो पीडा हामीलाई पनि हुन्छ । तर हामी पीडा लुकाएर अर्को बाँच्न सक्ने बिरामीको सेवामा लाग्न बाध्य हुनसपर्छ । रोएर बस्ने समय पनि छैन हामीसँग । तर तपाइँलाई हामी निष्ठुरी लाग्छ ।
तपाइँको लेखले हामी त खत्तम हौं केही गर्दैनौं । तलब खान मात्र आएका हौं भन्ने बुझाउँछ । यसले आफनो ज्यानको बाजी लगाएर काम गरिरहेका म जस्ता तमाम स्वास्थ्यकर्मीका मनमा के होला भन्ने सोच्नुभएको छ ? लेख्न पाये भन्दैमा जे पनि नलेखेको भए हुने । यसले स्वास्थ्यकर्मीको मनोबल घटाउँछ बढाउँदैन । त्यसो त तपाइँले ढुंगा नै बर्साए पनि हामी आफनो सेवाबाट विचलित हुँदैनौं । तर यसरी काम गर्दा पनि यस्ता कुरा सुन्न पर्दा साहैै चित्त दुख्दो रहेछ । कोरोना त्रिवि शिक्षण अस्पतालमा ९५ प्रतिशत बिरामीको मृत्यु हुन्छ भनेर कसरी दावी गर्नुभयो ? यसले सिस्टममै ठूलो प्रश्न चिन्ह खडा गरेको छ । आक्रोसमा आएर कुरै नुबझी लेख्ने भन्दा पनि बुझेर लेख्नुभएको राम्रो हुन्थ्योकी लेखक ज्यू ।
अस्मिता ढकाल, नर्स – त्रिवि शिक्षण अस्पताल, महाराजगंज
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights