Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बालबालिकाको दाँतमा किरा लाग्ने कारण र बच्ने उपाय

बालबालिकाको दाँतमा किरा लाग्ने कारण र बच्ने उपाय

आजभोलि धेरैजसो अभिभावक बालबालिकालाई खुशी पार्न प्याकेटमा पाइने जंकफुडका साथै विभिन्न किसिमका गुलिया पेय पदार्थ, आइसक्रिम किनिदिन्छन्। बच्चालाई फकाउन वा खुशी पार्न यी खानेकुरा अचेल आमाबाबुका गतिलै सहारा बन्ने गरेका छन्। केही क्षणको खुशीले जीवनभर पीडा दिनसक्ने तथ्यलाई भने धेरैले नबुझेको वा बुझेर पनि आँखा चिम्लेजस्तो देखिन्छ। किनभने अत्यधिक गुलिया पदार्थले मोटोपना बढाएर विभिन्न रोगको जोखिम त बढाउँछ नै, दाँतका लागि पनि यी पदार्थ घातक छन्।

बालबालिकाको हातमा विभिन्न खालका चकलेट थमाइदिने चलन अचेल गाउँगाउँमा पुगिसकेको छ। बच्चालाई फकाउन वा खुशी पार्न गुलिया पदार्थ किनिदिने अभिभावकले त्यस्ता पदार्थ खाएपछि दाँत कुल्ला गर्नुपर्छ भन्नेचाहिँ सिकाएको पाइँदैन्। फलस्वरूप सानै उमेरमा दाँत किराले खान्छ। अर्को कुरा दाँतका लागि अत्यधिक चिसो र अत्यधिक तातो दुवै अति नै हानिकारक हुन्छ। आइसक्रिम अत्यन्तै चिसो हुन्छ। यस्ता चिसो पदार्थ दाँतका लागि एकदमै हानिकारक हुन्छन्। नियमित खाँदा निश्चित अवधिपछि यसले दाँतको टल्किने भाग नष्ट गर्नेदेखि दाँत सिरिङ्ङ बनाउनेसम्म गराउँछ।

बच्चाको दाँत बिग्रिने चरणमा पुग्दा शुरुमा कालो दाग देखिन्छ। तर दुखाइको महशुस धेरै हुँदैन। केही समयपछि दाँतमा खाल्टो पर्छ। सिरिङ्ङ महशुस हुन्छ। खाना चपाउँदा पनि दुखाइ महशुस हुन्छ। दाँतमा हुने पीडाले शारीरिक पीडा त छँदैछ, सौन्दर्यमा समेत असर पार्छ। यसले मानसिक पीडासमेत थप्छ।

हाम्रो शरीरका अन्य अंग जस्तै दाँतको महत्त्व कम छैन। खाना चपाउनेदेखि अनुहारको सौन्दर्य कायम राख्न यसको ठूलो भूमिका हुन्छ। यति महत्त्व बोकेको दाँतमा हेलचेक्र्याइँ गर्नु अवश्य पनि राम्रो होइन। त्यसैले बालबालिकालाई दाँतका दुश्मन मानिने खानेकुरामा ‘कन्ट्रोल’ गर्नुको विकल्प छैन। साथै बालबालिकालाई नियमित दुईपटक दाँत माझ्न लगाउनुपर्छ। बिहान र बेलुकीको खाना खाइसकेपछि अनिवार्य रूपमा आफूले पनि र बच्चालाई ब्रस गर्न लगाउने हो भने दाँत किराले खाने समस्याबाट मुक्ति पाउन सकिन्छ। दाँतलाई हानि गर्ने भनिएका पदार्थबाट टाढै रहन लगाउनुपर्छ।

यसैगरी गरी वेलावेलामा दन्त चिकित्सककोमा पुगेर जाँच गराउने हो भने सानै उमेर दाँतसम्बन्धी पीडा लिएर बस्नुपर्दैन।

दन्तरोग विशेषज्ञ डा अन्तिबा कार्कीसँग कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या