Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा ज्योतिको सल्लाह : थाइराइडमा धेरै भ्रम छन् यसको पछि नलागौँ

डा ज्योतिको सल्लाह : थाइराइडमा धेरै भ्रम छन् यसको पछि नलागौँ

थाइराइड आफैमा रोग होइन यो शरीरको अत्यावश्यक एक ग्रन्थी हो, जुन घाँटीमा हुन्छ। यसले शरीरलाई अत्यावश्यक पर्ने हर्मोन उत्पादन गर्छ र यो हर्मोनले शरीरलाई स्वस्थ र स्फूर्त राख्न मद्दत गर्छ। हाम्रो शरीरका मुटु, मिर्गौला, फोक्सो, हड्डी मांसपेसी लगायतका टाउकोदेखि खुट्टासम्मका अंगलाई यो हर्मोनको आवश्यकता पर्छ। त्यसैले पनि यो महत्वपूर्ण ग्रन्थी हो ।

यो ग्रन्थीले राम्रोसँग काम गरेन भने र हर्मोनको उत्पादनमा गडबडी भएमा थाइराइडको समस्या भएको मानिन्छ । यसमा हर्मोन शरीरलाई चाहिने भन्दा बढी उत्पादन हुने अवस्थालाई ‘हाइपर थाइराइड’ भनिन्छ। हर्मोन कम उत्पादन हुनुलाई ‘हाइपो थाइराइड’ भनिन्छ।

थाइराइडमा भ्रम नै भ्रमका कारण मानिसहरु आत्तिएको पाइन्छ । त्यसैले थाइराइड भएपछि भ्रमको पछि नलाग्नुस्। यो ठूलो रोग होइन्। हर्मोन रोग विशेषज्ञसँग परामर्श लिएर नियमित औषधिको सेवन गर्ने हो भने यसले केही ठूलो क्षति गर्दैन्। तर यसलाई नियन्त्रणमा राख्न भने जरुरी हुन्छ ।

सामान्यतया थाइराइडमा चार किसिममा समस्या देखिनछन्। हाइपो थाइराइड, हाइपर थाइराइड, थाइराइड क्यान्सर र थाइराइड ग्रन्थीमा गिर्खा आउनु। यी चारैवटा समस्याको उपचार नेपालमै सम्भव छ र उपचारमा बसेर यसलाई नियन्त्रण गर्दा ठूलो समस्या आउँदैन्।   थाइराइडको सम्पूर्ण जाँच नेपालमै हुन्छ। यसका लागि रगतको जाँच गरिन्छ। यसलाई ‘थाइराइड फङ्क्सन टेस्ट’ भन्ने गरिन्छ । उपचार गरेर सजिलै नियन्त्रणमा राख्न सकिने भएपछि थाइराइडलाई लिएर हाम्रो समाजमा धेरै नै भ्रम रहेको पाइन्छ ।

भ्रम १ – थाइराइड ठूलो रोग हो

थाइराइड आफैमा रोग होइन्। यो हाम्रो शरीरलाई चाहिने अ ले ग्रन्थी हो । यसमा समस्या आएमा यसलाई थाइराइड रोग भन्ने गरिन्छ । यो रोग हो तर समयमै उपचार शुरु गरेर नियन्त्रणमा राख्दा यसले ठूलो दुख दिंदैन्। त्यसैले थाइराइड हुने बित्तिकै आत्तिएर बस्न पर्दैन् ।

भ्रम २- थाइराइड भएपछि बच्चा हुँदैन्

धेरै बिरामीहरु थाइराइड भएपछि अब बच्चा नै हुँदैन् भनेर आत्तिदै आएको पाइन्छ । यो ठूलो भ्रम हो । जुनसुकै थाइराइडको समस्यामा पनि बच्चा हुनसक्छ । मात्र यो होकी थाइराइडको उपचार गरिएको र नियन्त्रणमा भएको अवस्था चाहिंं हुनुपर्छ । महिलामा बढी हुने हाइपो थाइराइडमा उपचार नै नगरी बच्चा रहन गएमा बच्चाको मानसिक विकासका समस्या हुनसक्छ तर थाइराइड नियन्त्रणमा छ र डाक्टरको निगरानीमा रहेको छ भने आत्तिन पर्ने हुँदैन्। थाइराइड नियन्त्रणमा राखेर मात्र बच्चा जन्माउनपर्छ नत्र समस्या हुन्छ भनेर डाक्टले सल्लाह दिने गर्छन्। यही कुरालाई लिएर थाइराइड भएपछि त बच्चा नै हुँदैन रे भनेर भ्रम राखेको पाइन्छ ।

भ्रम ३ -थाइराइडमा खाना बार्नुपर्छ 

यो खानासम्बन्धी रोग नै हैन्। त्यसैले कुनै पनि खाना यसमा बार्न पर्दैन । स्वस्थ घरमा बनेको सबै खाले खाना खान सकिन्छ । धेरैले थाइराइड भएपछि काउली, बन्दा, गोलभेंडा खान हुँदैन भनेर आफूखुशी खाना बारेको पाइन्छ । यस्तो गर्न पर्दैन्। हो काउली बन्दामा थायोसायोनेट भन्ने तत्व हुन्छ त्यसले थाइराइड केही ढाउन मद्दत गर्छ । तर यसको मतलब खानै हुँदैन भन्ने होइन् । प्राकृतिक रूपमा पाइने सबै खानेकुरा खान हुन्छ। तारेको, भुटेको खानेकुरा खान र धूमपान, मद्यपानचाहिँ नगरेको राम्रो ।

भ्रम ४ -थाइराइड भएपछि जिन्दगीभर औषधि खानुपर्छ

थाइराइडमा औषधिलाई लिएर पनि भ्रम छ । एकपटक औषधि खाएपनि जिन्दगीभर खानपर्छ भनेर कतिपयले औषधि खान हिच्किचाएको पनि पाइन्छ । हो अवस्था हेरेर हुन्छ । कसैलाई जिनदगीभर खान पनि पर्नसक्छ । कसैलाई केही समय खाएपछि कम गर्दै गएर पूरै हटाउन पनि सकिन्छ । तर सबैलाई एउटै हुन्छ भन्ने हुँदैन्।

भ्रम ५- थाइराइड व्यायाम गरेर कम हुन्छ 

थाइराइडमा व्यायाम गरेर कम हुन्छ भन्ने गरेको पाइन्छ । तर अहिलेसम्म विश्वमा यस्तो व्यायाम आएको छैन् जसले थाइराइड ठिक गरोस्। हो थाइराइड भएका व्यक्तिमा मोटोपन बढी हुन्छ । यस्तो अवस्थामा शारीरिक व्यायाम आवश्यक छ । तर यसले नै रोग ठिक पार्ने भन्ने होइन्।

थाइराइडमा भ्रम नै भ्रमका कारण मानिसहरु आत्तिएको पाइन्छ । त्यसैले थाइराइड भएपछि भ्रमको पछि नलाग्नुस्। यो ठूलो रोग होइन्। हर्मोन रोग विशेषज्ञसँग परामर्श लिएर नियमित औषधिको सेवन गर्ने हो भने यसले केही ठूलो क्षति गर्दैन्। तर यसलाई नियन्त्रणमा राख्न भने जरुरी हुन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार