९ वर्ष अघि क्यान्सर जितेँ अहिले कोरोना

प्रमिता खनाल
हामी सबैलाई थाहा छ अहिले बिश्व नै कोभिड १९ को महामारीले आतंकित र ग्रसित छ। नेपालमा अझ भन्नुपर्दा काठमाडौंमा त समुदाय स्तरमा नै फैलिएको आशंका गरिएको छ। मलाई थाहा थियो जतिसुकै सावधानी र सचेत भएता पनि एकदिन यसले मलाई पनि छाड्ने छैन। किनभने मेरो परिवार संख्या धेरै अनी घरमा ८५ र ९० बर्षको सासु ससुरा, त्यस माथि पनि श्रीमानको एनजीओको जागीर। कामको सिलसिलामा जिल्ला गइरहनु पर्ने कुराले गर्दा एक प्रकारले मनस्थिती तयार नै थियो । तर पनी हामीले घरमा सावधानी धेरै नै अपनाउने गरेका थियौं ।
आज भन्दा ९ बर्ष अगाडि मैले स्तन क्यान्सरलाई जितेको थिएँ । दीर्घ रोग लागेकालाई यसले बढी आक्रमण गर्छ भन्ने कुरा सुन्दै आएकी थिए । त्यसैले पनि मनमा डर त थियो । म आत्मबल दरो भएको एक क्यान्सर योद्धा, मैले जीवन र मृत्यु मात्र साँचो बाँकी सवै झुटो भन्ने कुरालाई आत्मसात गरिसकेको छु। क्यान्सरलाई जित्ने म कोरोनासँग डराउने त कुरै थिएन । तर पनि दिन दिनै समाचारमा यति जनाको मृत्यु भयो भनेर आउने गरेकाले कता कता डर चाहिं लागेको थियो । जीवनमा कुनै समस्या आई नपरेकाहरूलाई पहाड हुन्छ अनि समस्याको सामना गर्नेहरुलाई झनझन क्षमता बढ्दछ। दसैं पछाडी मेरो श्रीमान अफिसको काममा बाहिर जानु पर्ने भयो, जसले गर्दा उहाँले पीसीआर गराउनु भयो। उहाँको अफिसमा फिल्ड जानु अघि र आएपछि पीसीआर अनिवार्य थियो। उहाँको रिपोर्ट पोजेटिभ आयो। हामी सबै आश्चर्यमा पर्यौ। घरमा हलचल मच्चियो। भोलिपल्ट सवैले टेष्ट गर्नै निर्णय गरियो। परिवारको रिजल्ट छासमिस भएर आयो। ससुरा बुवा, ठूलो छोरा र बुहारीको रिपोर्ट नेगेटिभ आयो अनी म सानो छोरा र सासु आमामा पोजेटिभ देखियो। अब कसरी मेनेज गर्ने भन्ने तनाब भयो। हामीलाई खासै केहि लक्षण थिएन। उहाँलाई चाहिँ अली रूघाखोकी थियो।
हामी सबैजना होम आईसोलेसनमा बस्यौ। धन्न सवैलाई छुट्टै कोठा र ट्वाईलेटको व्यबस्था गर्न सक्यौ। हामीलाई रेखदेख गर्न ठूलो छोरा र बुहारी आएर तयार थिए। त्यसैगरी हामी आईसोलेसनमा बसेको बेला हाम्रो माईलो जेठाजु जेठानी र छोरी ले हामीलाई खानपीनको ब्यबस्थापन, बाहिरी सामानहरू जुटाइदिने र ढोकामा राखिदिएर जाने गर्नाले हामी लाई धेरै मद्त भयो। निको नभए सम्म घर परिवार बाहेक कसैलाई नभन्ने निर्णय गरे किनभने म क्यान्सर सभाईभर अनि त्यसमाथि सर्भाइभर्स सोसाइटीको अगुवाई गरिरहेको एक अभियन्ता । आफ्नो समुहमा भएका दाजुभाइ तथा दिदीबहिनीहरु कोहि केमो लिदैछन भने कोहि कोभिडसँग लडिरहेका छन । उहाँहरू सवैको मनोबल घट्छ भनेर मैले आफु मै सिमित राखे।
मेरो कुरा गर्नु पर्दा मलाई र मेरो परिवारलाई कोभिडले खासै केहि अप्ठ्यारो पारेन। शारीरिक रुपमा ठूलो समस्या नदेखिए पनि मानसिक तनाव असाध्यै धेरै हुने रहेछ । त्यसमाथि केही व्यक्तिहरुले लापरवाही गरेर टोलमा कोरोना ल्याए सम्म भन्न भ्याए यसले कता कता मनमा पीडा हुने रहेछ । १४ दिनसम्म घरभित्र कतै केही भइहाल्छ की भन्ने शंका गर्दै बस्नु सानो कुरा हैन रहेछ । म क्यान्सर सभाईभर भएकाले पनि सबै परिवारको ध्यान म तिर नै थियो । केही भइहाल्छ की भनेर । तर मेरो आत्मबल अनि पोजेटिभ सोचाइका कारण पनि ठूलो समस्या आएन ।
समस्या आईसकेपछि आफ्नो भन्दा पनि परिवारको चिन्ता हुने रहेछ त्यसमा पनी बृद्ध अबस्थाको सासु,ससुरा र क्यान्सरका साथै निभाउनु परेका अनेकौं जिम्मेवारी हरू अनि नहुनु भैसकेपछि आफन्तजन हरूबाट आएका आक्षेपको सामना गर्नु पर्यो । कसैले तिमीहरू सुरक्षित बसेनौसम्म भन्न भ्याए जबकि मलाई मेरो परिवारले मेरो क्यान्सरको यात्रालाई हेरेर एकदमै सुरक्षा कवचमा राखेका थिए। हामीलाई पनी समाजले कताबाट आयो भन्ने बिश्लेषण गर्न बाध्य बनायो। हुने कुरा भएरै छाड्छ। तर म के भन्छु भने कसैले पनी यसलाई हल्का नलिनु होला।अझ दिर्घरोगीहरुलाई त यसले गारो बनाउन सक्छ।
अन्तमा अहिले आएर केही क्यान्सर सर्भाइभर पनी कोभिड १९ को संक्रमणमा परेको पाईएको छ। ज्वालामुखी विष्फोटन त्यहीँबाट हुन्छ जहाँ कमजोर भाग हुन्छ यो कुरा क्यान्सर सरभाईबरहरूमा पनि लागु हुन्छ। हामी वीर योद्धा हौ क्यान्सरलाई त जित्यौ भने कोरोनासँग किन डराउने यसलाई पनी जितेर छाड्दछौ। जीवन एक चुनौती हो र हरेक चुनौतीको डटेर सामना गर्दछौ। मैले पनि क्यान्सर जिते र कोभिड पनि जितेर देखाएकी छु । अब के के चुनौति आइपर्छ जीवनमा लड्दै जाने हो र जित्दै जाने हो । आखिर एकदिन सबैले जीवनसँँग त हार्नै छ।
सबैलाई मेरो अनुरोध छ कोरोनालाई ख्याल ठट्टा नठानौं यसले शारीरिक रुपमा दुख दिएन भने पनि मानसिक तनाव धेरै नै हुने रैछ जुन म आफैले भोगे । त्यसैले सतर्कता अपनाउँ र यसको संक्रमणबाट जोगिऔँ भन्न चाहन्छु ।
(खनाल नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष हुन्।)
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा