Health TV Online
Health TV Online

के हो मधुमेह ? मधुमेहले निम्त्याउने जटिलताबाट कसरी जोगिने ?

के हो  मधुमेह ? मधुमेहले निम्त्याउने जटिलताबाट कसरी जोगिने ?

डा मनिषा मिश्र

आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । विश्वभर मधुमेहका बारेमा जनचेतना जगाउनका लागि हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवसमा विभिन्न कार्यक्रमको आयोजना हुने गर्छ ।

सामान्यतया रगतमा चिनीको मात्रा बढी भएमा चिनी रोग वा मधुमेह रोग लाग्दछ । यो दीर्घ रोग हो । एकपटक यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुँदैन्। यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले पनि यो रोग लाग्नु भन्दा अघि नै ध्यान दिन जरुरी हुन्छ । यसलाई समयमै उपचार गरेर नियन्त्रणमा ल्याइएन भने शरीरका महत्वूर्ण अंगहरुमा क्षति पुराउन थाल्छ ।

मधुमेह अर्थात् चिनीरोग विश्वमा नै दिनप्रतिदिन बढिरहेको छ। नेपालमा पनि यो रोग बढ्दो क्रममा छ। कतिपय अवस्थामा मधुमेह लागेको थाहा नै हुँदैन। कुनै लक्षणबिना नै रोग लागिरहेको हुन्छ। तर बिरामीलाई आफू स्वस्थ छु भन्ने लाग्छ। जब लक्षण देखिन्छ त्यतिबेलासम्म मुटु, मिर्गौला र आँखा जस्ता महत्त्वपूर्ण अंगलाई असर गरिसकेको हुन्छ। त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भन्ने भनिन्छ। यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको अर्को विकल्प नै हुँदैन । यसको सही उपचार भनेको नै सुगर नियन्त्रणमा राख्नु हो । मधुमेहलाई शुरुदेखि नै लापरवाही गरियो र उपचार गराइएन भने भने यसले भयावह स्थिति निम्त्याउँछ। यसले मुटु, मिर्गौला, आँखा, नसा जस्ता महत्त्वपूर्ण अंगमा असर गर्न शुरु गर्छ। जति अन्य अंगमा असर गर्न थाल्छ उपचार पनि महंगो र झञ्झटिलो बन्दै जान्छ ।

मधुमेह बच्चादेखि वृद्धसम्म जोकोहीलाई पनि हुनसक्छ । तर यसका जोखिम समूहमा भने मोटा व्यक्ति, शारीरिक व्यायाम नगर्नेहरु, परिवारमा कसैलाई मधुमेह भएकाहरु, जंकफुड जस्ता अस्वस्थ खाना बढी खानेहरु पर्दछन्। यी समूहले अझ बढी ख्याल गर्नुपर्ने हुन्छ ।

मधुमेहका लक्षणहरु :

बारम्बार पिसाब लागिरहनु
मुख सुख्खा हुनु
प्यास धेरै लाग्नु
भोक बढी लाग्नु तर खाइरहँदा पनि दुव्लाउदै जानु
कमजोरी महशुस हुनु
खुट्टाहरु झम्झमाउनु
खुट्टाहरु पोल्नु
पिसावमा कमिलाहरु देखिनु
शरीरमा भएका घाउहरु छिटो निको नहुनु
आँखा धमिलो देखिनु

तर यी लक्षणहरु सबैलाई देखिन्छन भन्ने छैन्। कसैलाई कुनै लक्षण नै नदेखिइकन पनि मधुमेह भएको हुनसक्छ । त्यसैले यसको नियमित जाँच गर्न जरुरी छ । परीक्षण गरेर मात्र यसको पहिचान हुनसक्छ । त्यसैले ३५ वर्ष पुगेपछि हरेकले आफ्नो सुगर लेबल ठीक छ की छैन भनेर परीक्षण गर्न जरुरी हुन्छ । यसो गर्दा बेलैमा रोग पक्ता लाग्छ र जटिलता हुनबाट जोगिन सकिन्छ ।

मधुमेहीले ख्याल गर्नुस् ‘एबीसीडी’ 

मधुमेहका बिरामीमा अन्य समस्या हुने भएकाले सुगर नियन्त्रण गर्दै यी कुराहरुमा पनि ध्यान दिन जरुरी हुन्छ । जस्तै हामी मधुमेह भएकालाई एबीसीडीमा ख्याल गर्न सल्लाह दिन्छौं । के हो एसबीसीडी जानी राखौँ ।

ए – ए वान सी ७ प्रतिशत भन्दा कम राख्नुस्
बी- ल्लड प्रेसर १४०\ ९० भन्दा कममा राख्नुस्
सी- कोलेस्टरोल (खराब)  १०० भन्दा कम राख्नुस्
डी- डाइटमा ध्यान दिनुस्
खानामा ५० प्रतिशत तरकारी, २५ प्रतिशत अन्न समूह र २५ प्रतिशत प्रोटिन समावेश गर्न सबैलाई सुझाव दिन्छौं ।
यसरी आफनो खानामा ध्यान दिने,नियमित शारीरिक व्यायाम गर्ने, नियमित आफनो स्वास्थ्य जाँच गरेर औषधि सेवन गर्ने साथै चिकित्सकको निगरानीमा बस्ने हो भने सुगरलाई बेलैमा नियन्त्रण गरेर अन्य जटिल समस्या हुनबाट पनि जोगिन सकिन्छ ।

( डा मिश्र मधुमेह रोग विशेषज्ञ हुन्।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा