के हो बेडसोर अर्थात चाप घाउ ?

डा. निरन महर्जन
सामान्यतया हामी एउटै आसनमा लामो समयसम्म कुनै पनि हलचल नगरीकन बस्ने हो भने शरीरको उक्त भाग जुन सतहसँग सम्पर्कमा हुन्छ त्यहाँ उत्पन्न उच्च चापले हामीलाई असहज महसुस गराउँदछ र कनै पनि नकरात्मक असर आउनु अगाडी नै हामीले हाम्रो आसन फेरिसकेका हुन्छौ । तर जव हाम्रो स्नायु प्रणालीमा समस्या आउँदछ वा आसन फेरबदल गर्न असक्षम हुन्छौं । तव यस चापले नकरात्मक असरहरुको रुपमा घाऊ बनाउन सुरु गर्दछ जसलाई चाप घाउ अर्थात् बेडसोरको नामले चिन्दछौं ।
चाप घाउ भन्नाले के बुझिन्छ ?
मुख्य रुपमा प्रेसर सोर वा बेडसोर नामले प्रचलित यो चाप घाउ शरीरको कुनै पनि भागमा एकै तवरको चाप डेढ–दुई घण्टा भन्दा बढी परिरहेको खण्डमा उक्त चापले निम्त्याउने घाउको रुपमा बुझिन्छ ।
चापको मात्रा कति भएको खण्डमा यस्तो घाउ बन्दछ ?
शरीरको हरेक कोशमा रक्तसंचार पुर्याउने जिम्मा लिएको केशिका जसलाई अंग्रेजीमा ‘क्यापिलरी’ भनिन्छ । उक्त केशरीको चापभन्दा बढीको चाप परेको खण्डमा शरीरको उक्त भागमा रक्त संचार संचालन नहुँदा विस्तारै घाऊ बन्दै जान्छ ।
यो चाप घाऊ बन्न चापले मात्र भुमिका निर्वाह गर्दछ ?
होइन । लामो समयसम्म रहेको चापको मुख्य भुमिका भएता पनि अरु निम्नलिखित भनिएका कुराहरुले पनि यसको विकासमा टेवा पुर्याउँछ ।
क) घर्षण
ख) कतरनी
ग) ओस
घ) कुपोषण
ङ) मस्तिष्क चोट
कस्ता व्यक्तिलाई यो चाप घाउ हुन सक्दछ ?
बैज्ञानिक तवरले हेर्ने हो भने जोखिम मूल्यांकन मापनको प्रयोग गरेर को कति जोखिममा छन् भने पत्ता लगाउन सकिन्छ । धेरैवटा मापन गर्ने विधि भएता पनि मुख्य रुपमा संसारभरी प्रयोग हुँदै आएको ब्राडेन मापन प्रयोग गर्न सकिन्छ । आम मानिसले बुझ्ने भाषामा भन्नु पर्दा पक्षघात वा लकुवा भएका विरामी दिर्घ रोगीहरु जो हलचल गर्न नसक्ने र सघन कक्षमा (आई.सी.यु.) लामो समयसम्म राखेर उपचार गर्नुपर्ने विरामीहरुमा यो घाऊ बन्न सक्दछ ।
शरीरको कुन भागमा यो चाप घाउ बन्न सक्ने प्रवल सम्भावना छ ?
सुत्दा वा बस्दा शरीरको जुन भागले सतहमा बढी सम्पर्क हुन्छ र उक्त भागमा सजिलैसँग शरीरको हड्डी छाम्न सकिन्छ त्यस्तो शरीरको भागमा यो घाउ बन्दै जाने हुन्छ ।
के–के गर्दा यो चाप घाउ बन्नबाट रोकथाम गर्न सकिन्छ ?
निम्न कुराहरुलाई पालना गर्ने हो भने धेरैजसो घाउ बन्ने रोकथाम गर्न सकिन्छ ।
पहिलो जोखिम मुल्यांकन : कुन व्यक्ति बढी जोखिमयुक्त छ भनेर पत्ता लगाउने ।
दोस्रो कुराः छालाको स्याहार
नियमित रुपले मन तातो सावुन पानीले धुने, पखाल्ने तथा नरगडिकन पुछ्ने अनि आवश्यकता अनुसार छाला सुख्खा हुनबाट जोगाउने र कुनै पनि चोटपटक लाग्नबाट बचाउनुपर्दछ ।
तेस्रो कुराः असंयम
दिसा–पिसावको असंयमको कारण शरीरको भाग ओसिलो भएर सजिलै घाऊ बन्न सक्दछ । तसर्थ समय समयमा हेरेर सहर्ष ध्यान पुर्याउँदा ओसिलो हुनबाट जोगाउन सकिन्छ ।
चौथो कुरा : संस्तंमता नियन्त्रण
शरीरको मांसपेशीहरु क्डा भइराख्ने अवस्था संस्तमतालाई कम गराउन नियमित फिजियोथेरापि वा औषधिको प्रयोग गर्ने वा शल्यक्रिया माध्यमबाट ठिक बनाउन खोज्नुपर्छ ।
पाँचौ तथा मुख्य कुरा : चाप घटाउने
शरीरको आसनलाई हरेक एकदेखि डेढ घण्टामा फेरि राख्ने र परेको ठाउँमा मसाज गर्ने तथा ओछ्याएका कपडाहरु खुम्चिएको र तनक्क तन्किने गरी मिलाएर राख्ने तथा सकिन्छ भने बजारमा उपलब्ध विभिन्न उपकरणहरु जसले चाप घटाउन मद्दत गर्दछ, उक्त चिजहरुको प्रयोग गर्ने ।
छैठौं कुरा : पोषण
कुपोषण हुनबाट जोगाउन सकियो भने यस्तो घाउ बन्नबाट जोगाउन सकिन्छ । यदि घाउ देखापरेको खण्डमा के गर्न सकिन्छ ?
घाऊ कति गहिरो र ठूलो छ त्यस अनुसार उपचार पद्धति फरक हुन्छ अगाडी भनिएका रोकथामका सवै उपायहरु नियमित रुपले अपनाउनुपर्छ र घाऊ यदि शुरुवाट हो भने घाऊलाई सफा मात्र राख्दा पनि निको पार्न सकिन्छ भने यदि घाउ गहिरो र ठूलो छ भने शल्यक्रिया गरेर यसबाट निको बनाउनेतिर लाग्नुपर्छ ।
घाउ निको भए पश्चात पुनः त्यहि घाउँमा घाऊ बन्न सक्छ कि बन्दैन ?
यदि रोकथामका उपायहरु अपनाएन भने बारम्बार यस्तो घाउ बन्न सक्छ यो कुरामा ध्यान दिनुपर्छ ।
कन्सल्टेण्ट प्लाष्टिक सर्जन डा. निरन बीर अस्पताल र काठामाडौं न्यूरो तथा जनरल अस्पतालमा कार्यरत छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights