Health TV Online
Health TV Online

सामान्य रुघाखोकी, फ्लू र कोभिड-१९ कसरी छुट्याउने ?

सामान्य रुघाखोकी, फ्लू र कोभिड-१९ कसरी छुट्याउने ?

मौसम परिवर्तन हुने बेलामा हामीमा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गर्छन्। जस्तो गर्मीबाट जाडो मौसम शुरु हुँदा होस वा जाडोबाट गर्मी शुरु हुँदा होस यदि ख्याल गरिएन भने रुघाखोकी लगायतका समस्या प्रत्येक वर्ष देखिने गर्छ । तर यो वर्ष कोरोना महामारीका कारण गर्मीको अन्त्य भएर जाडो महिना आउँदै गर्दा आउने मौसमी रुघाखोकीलाई पनि सामान्य मान्ने अवस्था भने छैन्।  यसपटक अवस्था फरक छ, सबैजसो रुघाखोकीलाई कोभिड -१९ हो कि भनेर सोच्ने र सोध्ने गरिन्छ ।

कोभिड- १९ भाइरसबाट हुने नयाँ रोग हो र यसले हाल विश्व माहामारीको रुप मात्रै लिएको छैन्। धेरै मानव जीवनको क्षति समेत गरिसकेको छ । नेपालमै पनि १ लाख भन्दा बढी संक्रमित र ६०० भन्दा बढीले कोभिड -१९ का कारण ज्यान गुमाइ सकेका छन् । जनसंख्याको आधारमा नेपालमा फैलिएको यो महामारीको अवस्था अत्यन्त चिन्ताजनक छ । कोभिड -१९ आफैमा नौलो रोग हो र यसले बिश्वब्यापी रुपमा पारेको असरले गर्दा सबैमा त्रास र भय हुनु स्वभाभिक हो तर सबै रुघाखोकीलाई कोभिड- १९ सँग जोडेर हेर्दा थप त्रास हुने भएकोले सामान्य रुघाखोकी, फ्लू र कोभिड- १९ का बीचमा हुने केही फरकपन जान्नु जरुरी देखिन्छ ।

कसरी छुट्याउने सामान्य रुघाखोकी, फ्लू र कोभिड – १९ ?

सामान्य रुघाखोकी २०० भन्दा बढी भाइरसहरुले गराउन सक्छन यद्यपी यी भाइरसहरुलाई दुइवटा बर्गमा विभाजित गर्न सकिन्छ । राइनो भाइरस  र कोरोना भाइरस ।
सामान्य रुघाखोकी गराउने भाइरसहरु धेरै प्रकारका भएकाले फरक फरक भाइरसबाट धेरै पटकसम्म रुघाखोकी लाग्न सक्छ । सामान्य रुघाखोकी गराउने भाइरसले नाक र घाँटीमा सामान्य असर पुर्याउने हुनाले घाँटी दुख्ने ,सिंगान बग्ने वा नाक बन्द हुने र हाछ्यु हुने जस्ता सामान्य समस्याहरु हुन सक्छन्। ज्वरो आए पनि सामान्य नै हुन्छ , जीउ दुख्ने समस्या पनि धेरै हुँदैन । कुनै पनि बिशेष उपचार बिना पनि यो ७देखि १० दिनमा आफै निको भएर जान्छ ।

इन्फ्लुएन्जा फ्लू इन्फ्लुएन्जा भाइरसले गराउने यो रोगले नाक ,घाँटीका साथै फोक्सोलाई पनि असर गर्छ । सामान्य रुघाखोकी बिस्तारै सुरु हुन्छ भने फ्लूका लक्षणहरु अचानक देखा पर्छन । शरीरको दुखाई ,अत्यधिक थकान ,उच्च ज्वरो ,सुख्खा खोकी ,छातीमा अफ्ठ्यारो , टाउकोको दुखाई आदि लक्षणहरु यसमा बिशेष गरि देखिन्छ । सिंगान बग्ने तथा हाछ्यु खासै हुदैन्। यसको असर सामान्यदेखि जटिलसम्म हुन्छ । तपाई स्वस्थ र वयस्क हुनु हुन्छ भने ,फ्लू हुँदा गार्हो त अवस्य हुन्छ तर १ २ हप्तामा यो निको भएर जान्छ र यसले कुनै दिर्घ असर छोड्दैन तर यसले जोखिम वर्गमा कहिलेकाही मृत्यु समेत निम्त्याउन सक्छ । जोखिम बर्ग भन्नाले निम्नलाई बुझ्नु पर्छ ।

-६ महिनादेखि ५ बर्ष मुनिका बालबालिका
-६५ बर्ष माथिका व्यक्तिहरु
-दिर्घ रोगीहरु जस्तै:  दम, मधुमेह मोटा व्यक्तिहरु
-रोगसँग लड्ने क्षमता कम भएका बिरामीहरु जस्तै:  क्यान्सर, गर्भवती, सुत्केरी
यसबाट जोगिन हरेक बर्ष फ्लुको भ्याक्सिन लिन सकिन्छ ।

कोभिड -१९ सार्स कोभ २ नामक नौलो भाइरसले गराउने यो रोग पनि स्वासप्रस्वासकै माध्यमबाट सर्छ । फ्लुको भाइरसभन्दा यो भाइरस धेरै नै छिटो फैलिन्छ । यो भाइरसले आक्रमण गरिसकेपछी पनि धेरै दिनसम्म मानिसहरु लक्षणविहिन रहन सक्छन । डरलाग्दो बिषय त के हो भने लक्षण नभएकै अवस्थामा पनि एक व्यक्तिले अर्को व्यक्तिलाई यो रोग सार्न सक्छ ।

सामान्य रुघाखोकी र फ्लू जस्तै मिल्दाजुल्दा लक्षणहरु हुने भएकाले लक्षणहरुकै आधारमा यसलाई छुट्याउन गार्हो हुने भएकोले कोभिड १९ को टेस्ट गरेर यसको निर्क्यौल गर्नु उपयुक्त हुन्छ । तर सबै मिल्दाजुल्दा लक्षणहरु भएकालाई टेस्ट गर्नु न ब्यबहारिक हुन्छ नत यो टेस्टको समुचित प्रयोग भएको नै मानिन्छ । कोभिड १९ नै संका गर्नका लागि केही तथ्यहरुमा ध्यान पुर्याउनु पर्दछ । सामान्य रुघाखोकी र फ्लूमा पनि देखिने लक्षणहरु कोभिड १९ संक्रमित व्यक्तिहरुमा जटिल रुपमा देखा पर्न सक्छ ।

-स्वाद र गन्ध थाहा नपाउने वा परिवर्तन हुने लक्षण कोभिड- १९ मा मात्रै देखिन्छ ।
-फ्लूको लक्षणहरु १ देखि ४ दिनमै देखिन्छ भने कोभिड- १९ का लक्षणहरु देखिन समय बढी लाग्छ ५ देखि १४ दिनसम्म ।
-फ्लूका बिरामीहरुलाई संक्रमित भएको पहिलो हप्तामै गार्हो हुन्छ भने कोभिड १९ का बिरामीहरु दोश्रो हप्तादेखी मात्र सिकिस्त हुन सक्छन्।
-फ्लूका बिरामीहरुले ३ देखि ७ दिनसम्म रोग सार्न सक्छन भने कोभिड १९ का बिरामीहरुले कम्तिमा १० दिनसम्म वा अझै बढी समयसम्म यो रोग सार्न सक्छन्।
-सामान्य रुघाखोकी, फ्लू तथा कोभिड १९ सबै रोग स्वासप्रस्वासको माध्यमबाट फैलिने रोगहरु हुन् र यी रोगहरुबाट बच्ने उपायहरु पनि अत्यन्त सरल र समान छन् ।
-मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भिडभाडमा नजाने  बारम्बार साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

सकेसम्म संक्रमित नहुन जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नु नै बेश। संक्रमित भै हाल्यो भने पनि यी रोगका लक्षणहरु र तिनको जटिलताको आधारमा यिनलाई छुट्टयाउन सकिन्छ । कुनै सन्देह भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंग सल्लाह गरेर ढुक्क हुनु पर्छ ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा