क्यान्सर विजेता प्रमिता भन्छिन्, समयमै उपचार गरे निको हुँदोरहेछ क्यान्सर

प्रमिता खनाल
हरेक वर्ष अक्टोबर महिनालाई विश्वभरी नै स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यो महिना मेरो लागि अझ विशेष बन्दै आएको केही वर्ष भएको छ । जब मलाई स्तन क्यान्सर भयो त्यसपछि हरेक अक्टोबर महिना मेरा लागि विशेष बन्यो । चाहे रोग लागेकै बेलामा होस वा अहिले रोगलाई जितिसकेको अवस्थामा होस्। क्यान्सर शब्द सुन्ने बित्तिकै अझै पनि धेरै जना आत्तिएको पाउँछु। तर यसलाई समयमै उपचार गर्दा निको हुँदोरहेछ जुन म स्वयंले भोगेर आएँ ।
आफूले क्यान्सर जितेपछि अहिले म यस सम्बन्धी छलफल, अन्तरक्रियामा भाग लिंदै आएकी छु । क्यान्सरका बिरामीलाई थोरै पनि आड भरोसा भयो भने यसलाई जित्न सजिलो हुन्छ भनेर मजस्तै क्यान्सर जितेकाहरुको समूह बनाएर नेपाल क्यान्सर सर्भाइभर सोसाइटी भन्ने संस्था स्थापन गररे त्यसमार्फत जनचतना फैलाउने काम गरिरहेका छौं । हामीले क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएकाहरुलाई पनि केही सहयोग गर्दै आएका छौंं । मलाई जुन बेला स्तान क्यान्सर भयो त्यसबेला बच्चाहरु पनि साना थिए । डाक्टरले तपाइँलाई क्यान्सर भएको छ भनेपछि म कति दिन अब मर्छुहोला भन्ने सोचेर नै सुत्न सकिन । म आफूलाई क्यान्सर भएको स्वीकार गर्न मलाई धेरै गाह्रो भयो। तर मैले यसलाई स्वीकार्नु त पर्यो नै। तर सानो उमेरमा क्यान्सर हुनुको पिडा, समाजको हेर्ने दृष्टिकोण, पारिवारिक सहयोगमा मैले राखेको अपेक्षा,पाएको सहयोग अथवा असहयोग आदि ईत्यादि झेल्दै मैले आफ्नो उपचार सक्काएँ।
मेरो रोग समयमै पहिचान हुनु र उपचार गरिहालेको कारणले अहिले मैले क्यान्सर जितेको पनि धेरै वर्ष भइसकेको छ । यो रोग खतरनाक त छ तर यसलाई समयमै पहिचान र सही उपचार गरेमा निको हुने पनि रहेछ ।
मैले आफ्नो उपचार हुँदै गर्दा प्रण गरें म यो क्यान्सरसँग लडेर जितेरै छाड्छू जसको लागि मलाई मेरो आत्मबल बलियो बनाउनु छ, परिवारको सहयोग पाउनु छ, अनी सकरात्मक उर्जा उत्पादन गर्नु छ जुन मेरै हातमा छ। म स्वस्थ भए मात्र मेरो परिवार स्वस्थ हुन्छ र खुशी हुन्छ । मैले संस्था मार्फत बिरामीहरुलाई परामर्श दिने काम गरिरहेकी छु। त्यसमा हामीसँग जोडिनुभएका थुप्रै साथीहरु पनि हुनुहुन्छ । उहाँहरु सबै क्यान्सर लागेर यसलाई जितेर आउनुभएको हो ।
क्यान्सरका बिरामीलाई हामी जस्तै रोग लागेर यसलाई जितेकाहरुले कुरा गरेर यो रोग मैले जितेँ तपाइँले नि जित्नुहुन्छ भन्दा निकै फरक पर्दो रहेछ । हुन त डाक्टर नर्सले पनि परामर्श दिनुहुन्छ । तर पनि आफू जस्तै रोग लागेका र उपचारपछि निको भएकाले भन्दा बढी विश्वास हुँदोरहेछ भन्ने मैले पाएँ । तयसैले हामी विभिन्न अस्पतालमा गई उपचार गरिरहेका बिरामीलाई परामर्श दिने काम पनि गरिरहेका छौं । अर्को कुरा क्यान्सरका बारेमा जनचेतना अझै फैलाउन जरुरी छ यसमा पनि हामी लागिरहेका छौं ।
अक्टोबर महिनामा स्तन क्यान्सर सचेतना महिना मनाइरहँदा एउटा कुरा भुल्नु हुँदैन हामी महिलाहरु पनि आफै सचेत हुन जरुरी छ । आफनो स्तनामा कतै गाँठागुँठी छन् की आफैले जाँच गर्न सकिन्छ ,त्यसैगरी ४० वर्ष पुगेपछि महिलाले डाकटरको सल्लाह लिएर वर्षको एकपटक मेमोग्राम गदौ पनि स्तन क्यान्सरबारे थाहा हुन्छ र रोग भए छिटो पत्ता लाग्छ ।
स्तन क्यान्सर सचेतनाको रंग गुलाफी भएकाले यसलाई गुलाफी महिना पनि भन्ने गरिन्छ। यो महिनामा एक दिन भए पनि गुलाफी रंगको लुगा लगाएर स्तन क्यान्सरसँग लडिरहनु भएका दिदीबैनीहरुको मनोबल बढाइदिनु हुन सबैलाई आग्रह पनि गर्दछु ।
(खनाल नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष हुन्।)
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights