बेलायतका अस्पतालमा अहिले सुनामी आएजस्तै छ: प्रसुना कँडेल, नर्स

प्रसुना कँडेल बेलायतको लण्डन वेस्टनर्थ हेल्थकेयरमा नर्सका रूपमा कार्यरत छिन्। उनी त्यहाँ रजिष्टर्ड क्रिटिकल केयर नर्स हुन्। उनी यतिवेला विदेशमा रहेर कोरोना संक्रमति बिरामीहरूको सेवा गरिरहेकी छिन्। उनै नर्स प्रसुनासँग हेल्थ टिभी अनलाइनका प्रमोद पन्तले गरेको कुराकानी—
म अहिले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न छु। यहाँ स्थिति एकदमै भयावह छ। यो रोग नलाग्दै जति रोकथाम गर्न सकिन्छ, त्यसमै ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ । दुई सातायता बेलायतमा कोरोनाको संक्रमण अत्यधिक बढेको छ। म कार्यरत अस्पतालमा कोरोनाका बिरामीको संख्या प्रत्येक दिन बढ्दो छ। बेलायतका सबै अस्पतालका बेड भरिएका छन्। आईसीयू त पाउनै मुश्किल छ।
बिरामी धेरै आएपछि सरकारले नाइटिंगेल प्रदर्शनी केन्द्रलाई पाँचहजार बेडको अस्पताल बनाएको छ। यहाँ कोरोनाका बिरामीको मात्र उपचार हुन्छ। शुरुमा थोरै बिरामी हुँदा चाहिने जति सबै बिरामीलाई आईसीयूमा राखिन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन। अहिले त हामी कुन बिरामी कस्तो अवस्था र उमेर पनि हेर्ने गर्छौँ। बढी उमेर र भर्खरको बिरामी एकैसाथ आउँदा कम उमेरको बिरामीलाई प्राथमिकता दिन्छौँ। उनीहरूलाई आईसीयूमा राख्छौँ। अन्य अवस्थामा हामी स्वास्थ्यकर्मीका लागि सबै बिरामी समान हुन्।
यो कोरोना भाइरस संक्रमित भएर संघर्ष गरिरहेका र मृत्युवरण गरेका धेरै बिरामीसँग नजिक बसेर काम गरिरहेको छु। त्यसैले यसको पीडा मलाई थाहा छ, जुन शब्दमा व्यक्त गर्न पनि सकिँदैन। यो रोग लागेका धेरै बिरामी जसलाई मैले सेवा गरेँ। कति मेरैअगाडि मरेका छन्। मृत्युपछि झन् महामारी फैलाउने रोग भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ ।
अहिले हामीले साढे १२ घण्टा काम गर्नुपर्छ एउटा सिफ्टमा। अन्य अवस्थामा बेलायतमा नर्सले एक सातामा ३७ घण्टा काम गर्ने हो। चार दिन काम गर्दा तीन दिन छुट्टी पाइन्थ्यो। तर अहिले कसैलाई छुट्टी दिइएको छैन। छुट्टीमा रहेका नर्सलाई पनि काममा बोलाइएको छ। विशेषगरी कोरोनाका बिरामीको केयर गर्न आईसीयू र तालिमप्राप्त नर्सको भूमिका बढी हुन्छ। बेलायतका अस्पतालमा अहिले सुनामी आएजस्तै छ। कसैलाई पनि बोल्ने फुर्सद छैन।
शुरुमा बिरामीको आकलन नभएकाले पीपीई लगायतका सामान अभाव थियो। तर अहिले सरकारले धमाधम पीपीई बनाएर बाँडिरहेको छ।यस्तो वेला बिरामीको सेवा गर्न हामी डाक्टर तथा नर्स एवं स्वास्थ्यकर्मी नै ‘फ्रन्टलाइन’मा हुन्छौं । त्यसैले हामी रोग सर्ने बढी जोखिममा हुन्छौँ। त्यसैले यहाँ हाम्रो बिमा गरिएको छ।
कोरोनाका बिरामीको रोगसँग लडिरहेको नजिकबाट हेरेकाले यसको दुःखदायी अवस्था आफ्नै आँखाले देखेकी छु। त्यसैले नेपालमा अझै फैलिरहेको छैन। यही वेला रोकथाममा ध्यान दिन जरुरी छ। यदि यो फैलिए निकै गाह्रो हुन्छ। ‘हेल्थ सिस्टम’ धेरै राम्रो छ र पनि बेलायतले यो संक्रमण नियन्त्रण गर्न सकिरहेको छैन। बिरामी पनि छानेर उपचार गर्नुपर्ने अवस्था छ। परिवारलाई त्यत्तिकै तनाव हुन्छ। त्यसैले यो वेला रोक्न ‘सोसल डिस्टेन्स’ कायम गरेर घरमै बस्न जरुरी छ।
नेपालमा रहेकाहरूलाई के भन्न चाहन्छु भने कोरोनाबाट बच्न सक्ने उपाय अवलम्बन गर्नुस्। त्यहाँ पनि लकडाउनको अवस्था रहेछ। सरकारले लगाएको नियमको पालना गर्दै केही समय घरबाहिर नजानुस्। यसले तपाईँलाई मात्र होइन, परिवार र समाजलाई नै संक्रमणबाट जोगाउँछ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै