होलीमा प्रयाेग हुने रंगको असर : छालादेखि मिर्गौला र मस्तिष्कसम्म (भिडियोसहित)

नेपाल र भारतमा वसन्त उत्सवको रूपमा फागुपर्व अर्थात् होली मनाउने परम्परा छ। एकापसमा विविध रंग दल्ने र पिचकारीको माध्यमले पानी छ्याप्ने पर्वको रूपमा यो परिचित छ। इच्छा नभएका मानिसलाई रंग दलिदिने, पानी छ्याप्ने, त्यसमा पनि फोहोर मिसाएको पानी भरेर लोला हान्नेजस्ता विकृति पछि छन्, यो पर्वमा। तर मानिस सचेत भएर हो वा कानुनको डरले हो यो क्रम विस्तारै कम हुँदै गएको छ। संस्कृतिमा पछि थपिएका विकृति हटाउँदै जानु हाम्रो कर्तव्य पनि हो।
होलीको धार्मिक, सांस्कृतिक वा सामाजिक महत्व आफ्नै ठाउँ छन्। तर मैले यहाँ कुरा गर्न लागेको, होलीमा छाला कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भको हो। पहिलेपहिले मानिसहरू प्राकृतिक रंग प्रयोग गरेर होली खेल्थे। गुलाबपत्र, सयपत्री, बेसार, दुवो र मेहन्दी आदिबाट रंग तयार हुन्थ्यो। अर्को कुरा एकआपसमा छ्यापिने पानी सफा हुन्थ्यो।
आज त्यो अवस्था छैन। विभिन्न रसायन मिसाएर बनाएको रंग होली खेल्न प्रयोग हुन्छ। अझ कतिपयले त इनामेललगायत कडा किसिमका रंगले समेत अनुहार र शरीर रंगाएका हुन्छन्। शहरवासीले खान र दैनिक उपभोग गर्नसमेत सफा पानी नपाएको अवस्था छ। होली खेल्न सफा पानी पाउनु टाढाको कुरा हो।
होलीमा गरिने यस्ता प्रकारका गतिविधिले छालामा गम्भीर किसिमको असर पर्न सक्छ। होलीपछि मानिसहरू छालासम्बन्धी विभिन्न समस्या लिएर आउँछन्। बजारमा पाइने गाढा रंगहरुको प्रयोगले छालामा साधारण एलर्जीदेखि दीर्घकालीन समस्यासम्म निम्तिन सक्छ। होलीमा जति कडा रंग प्रयोग भयो उति राम्रो भनेको सुनिन्छ। तर स्वास्थ्यका दृष्टिले जति गाढा रंग भयो उति शरीरमा गम्भीर असर पुग्छ।रंगहरूमा धेरै रसायन प्रयोग भएका कारण एलर्जी हुने, छाला सुक्खा हुने, घाउखटिरा निस्किनेजस्ता समस्या आउँछ। यतिमात्र नभई छाला हुँदै शरीरकाे भित्री अंग मिर्गाैला र मस्तिष्कसम्म असर पुग्छ।
त्यसैले होलीमा प्रयोग हुने रंग सकेसम्म प्राकृतिक हुनुपर्छ। पानी सफा हुनुपर्छ। त्यो सम्भव नभएको खण्डमा छालालाई रंगको प्रभावबाट बचाउन क्रिम वा भिटामिन ई लोसन अथवा ‘मोस्चराइजर’ लगाउनुपर्छ। यसले छालालाई सुख्खा हुनबाट बचाउँछ। छालामा लागेको रङ छिटै हट्छ। रंग तुरुन्त सफा नगर्दा पछिसम्म दाग बस्छ।
यसले छाला पोल्ने जस्ता समस्या सिर्जना हुन सक्छ। विशेषगरी पहिले नै छालामा समस्या भएका, एलर्जी हुने र अनुहारमा डण्डीफोर भएकालाई होलीको रंगले अझ बढी समस्या उत्पन्न गराउँछ। यसले छालालाई मात्र नभई कपाल र नङमा पनि असर गर्छ।
अत्यधिक रंग र फोहोर पानीको प्रयोग कदापि नगर्नुस्। होली खेलेपछि एक दुई घण्टामै रंग पखाल्नुपर्छ। नुहाउँदा नरम किसिमको साबुन र स्याम्पो प्रयोग गर्नुपर्छ। रंग हटाउने नाममा कडा किसिमका साबुन प्रयोग गर्नुहुँदैन। रंग पखालिसकेपछि शरीर सुख्खा पारी मोस्चराइजर लोसन लगाउनु उपयुक्त हुन्छ।
विशेषगरी गर्भवती र बालबालिकाले यस्तो रंग प्रयोग नगर्नु राम्रो। होली खेलिसकेपछि निरन्तर चिलाउने, फोका उठ्ने लगायतका एलर्जी देखिए विशेषज्ञकहाँ गएर जाँच गर्न सुझाव दिन्छु।
हेर्नुहाेस् भिडियाे
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा