प्रोस्टेटको समस्या र उपचार

महिलामा पाठेघरको समस्या भए जस्तै पुरुषहरुमा प्रोस्टेटको समस्या बढ्दै गएको पाइन्छ । प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ । यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । मुख्य काम वीर्य स्वस्थ राख्ने हो । उमेर बढ्दै जाँदा विभिन्न कारणले पुरुषहरुमा प्रोस्टेटको समस्या देखिन थाल्छ ।
प्रोस्टेटको समस्या कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्ने समस्या हो । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या बढी देखा पर्ने गरेको छ । ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने र मूत्रनलीमा अवरोध उत्पन्न हुनाले प्रोस्टेटको समस्या देखा पर्छ ।
यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ रु यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ । यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउन जरुरी हुन्छ ।
उपचार विधि
प्रोस्टेटको उपचार औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार हुन्छ । सामान्य समस्यालाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ । प्रोस्टेटमा जति छिटो उपचार गर्यो त्यति नै उपचार सहज हुन्छ । रिजल्ट पनि राम्रो हुन्छ ।
प्रोस्टेटको समस्या देखा पर्ना साथ जीवनशैली परिवर्तन गर्नुपर्छ । यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ । त्यसैगरी मकै, गहुँ, जौ, फापर, कोदो, बोक्रासहितका गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा खान उपयुक्त हुन्छ ।
फलफूल र तरकारी नताछी खाने र काँक्रो, गाँजर, मूला र चुकन्दर नियमित सलादको रूपमा खानु प्रोस्टेटका बिरामीका लागि राम्रो मानिन्छ । प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ ।
युरोलोजिस्ट डा दीपक रौनियारसँगको कुराकानीमा आधारित
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights