सचेत रहे बच्न सकिन्छ स्तन क्यान्सरबाट (भिडियोसहित)

फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर बढिरहेको बताइन्छ। यसैको सेरोफेरोमा रहेर स्तन क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यसँग गरिएकाे कुराकानी—
स्तन क्यान्सर भनेको के हो?
स्तन क्यान्सर नामले नै प्रष्ट हुन्छ, यो स्तनमा हुने क्यान्सर हो। याे क्यान्सर विशेषगरी महिलालाई हुन्छ। यसको मतलब पुरुषलाई हुँदैन भन्ने होइन तर महिलाको तुलनामा कम हुन्छ । स्तनमा धेरै तन्तु हुन्छन्। दूध बनाउने ग्रन्थी, दूधलाई मुण्टासम्म लग्ने नली, बोसो, रेसा, मांसपेशी र छाला हुन्छन्। दूध बनाउने ग्रन्थीबाट मुण्टासम्मको नलीमा हुने क्यान्सरलाई स्तन क्यान्सर भनिन्छ। यो क्यान्सर ९५ प्रतिशत भने नलीमा हुन्छ। बोसो, रेसा र मांसपेशीमा तुलनात्मक रूपमा कम हुन्छ।
यो क्यान्सर के कारणले हुन्छ?
दैनिक व्यायाम नगर्ने तथा मोटा महिलामा स्तन क्यान्सरको सम्भावना बढी हुन्छ। वंशाणुगत कारणले पनि हुन्छ। महिनावारी छिटो ढिलो हुनुले पनि यो क्यान्सरसँग सम्बन्ध राख्छ। ढिलाे विवाह ,बढी उमेरमा गर्भधारण बच्चालाई स्तनपान नगराउने गर्दा पनि यो समस्या उत्पन्न हुन्छ। यही समस्याका कारणे गर्दा स्तन क्यान्सर भयो भनेर किटान गर्न भने गाह्रो छ।
नेपालमा स्तन क्यान्सरको अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा क्यान्सर रोगका बिरामी बिरामी पाँच देखि छ हजारजति भएको अनुमान गरिन्छ। आधिकारिक अध्ययन अघि बढेको छ भने परिणाम आउन बाँकी छ। पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लामा भएको अध्ययन अनुसार सबैभन्दा उच्च स्थानमा देखिएको स्तन क्यान्सर नै छ भन्ने गरीन्छ।
धेरैजस्तो महिला स्तन जँचाउने गर्दैनन्। एकातिर स्तन जान्छ भन्ने डर अर्कोतिर ज्यानै जान्छ भन्ने डर। त्यसै समस्या बल्झिँदै जान्छ। स्तन क्यान्सर भन्ने बितिकै स्तन पूरै काट्नु पर्दैन भन्ने बुझ्न जरुरी छ। नेपाल क्यान्सर अस्पतालमा लगभग ६० देखि ७० प्रतिशत स्तन संरक्षण गरेर शल्यक्रिया गर्ने गरेका छौँ।
स्तन क्यान्सरको सन्दर्भमा महिला कतिको सचेत भएको पाउनु भएको छ?
१० वर्ष अघिको कुरा गर्दा महिलाहरू क्यान्सर तेस्रो चरणमा पुगेपछि आउँथे। अहिले सञ्चारमाध्यमकाे विकासले मानिसमा चेतना बढेको छ। पहिलो वा दोस्रोमा चरणमै जाँच गर्न हामीकहाँ आउँछन्। प्रारम्भिक अवस्थामा जाँच गर्न सके स्वास्व र आर्थिक दृष्टिकोणले भार पर्दैन भन्ने चेतना बढेको छ।
सामान्यतया कुन उमेरका महिलालाई यो क्यान्सर हुन्छ?
विश्वव्यापी आँकडा हेर्दा स्तन क्यान्सर सामान्यतया ५० देखि ६० वर्षको उमेरमा हुने गरेको देखिन्छ। पुरुषमा पनि १ प्रतिशत स्तन क्यान्सर हुन्छ। नेपालको सन्दर्भमा स्तन क्यान्सर ४० देखि ५० वर्षको उमेर समूहमा देखिएको छ। यो भयो ग्रामीण परिवेशको कुरा। शहरी क्षेत्रमा बसोबास गर्ने महिलामा त ४० वर्षभन्दा कम उमेरमा पनि यो क्यान्सर भएको पाइएको छ।
यसबाट बच्न हरेक महिलाले ४० वर्ष पुगेपछि स्वास्थ परीक्षण गरी ‘म्यामोग्राम’ गर्न आवश्यक छ। आफैँ पनि जाँच गर्न सकिन्छ। सबै महिलाले महिनावारी भएको समयमा आफ्नो स्तन परीक्षण गर्नुपर्छ। महिनावारी भएका पहिलो हप्ता आफ्नो स्तन आफैँ जाँच्न सकिन्छ। स्तनमा गाँठागुँठी आएको थाहा पाउन सकिन्छ। प्रारम्भिक चरणमै पत्ता लागेमा यसबाट बच्न सकिन्छ।
आफ्नो स्तन परीक्षण कसरी आफैँ गर्ने?
स्तनलाई थिचेर स्तनमा गिर्खा छ कि छैन भनी हेर्ने विधि हो। दायाँबाट बायाँतर्फ र बायाँबाट दायाँतर्फ माथिबाट मुनि हत्केलाले जाँच गर्न सकिन्छ। यो जाँच जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ। परीक्षणका क्रममा स्तनमा गाँठागुठी देखिए वा मुण्टाबाट पिप र रगत आउने जस्ता समस्या देखा परे तुरून्त सम्बन्धित चिकित्सकसँग जाँच गराउनुपर्छ र सल्लाह लिनुपर्छ।
स्तन क्यान्सरको लक्षण के के हुन्?
शुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैन। दुख्दा पनि दुख्दैन। विभिन्न जाँचहरूबाट मात्रै क्यान्सर पत्ता लाग्छ। हाम्रो समाजमा शरीरमा कुनै समस्या नदेखिई उपचार गराउने चलन छैन। जब क्यान्सर बढेर आउन थाल्छ। यसले स्तनमा केही परिवर्तन गर्न शुरु गर्छ। ढिलो अवस्थामा स्तनमा गिर्खा आउने, मुण्टा गाडिने, स्तनको छालाको रंग परिवर्तन हुने र मुण्टाबाट पिप वा फोहोर आउने जस्ता लक्षण देखिन्छन्।
स्तन सामान्य भन्दा केही फरक अवस्था देखियो भने उपचार गरिन्छ र थाहा पाउन सकिन्छ। स्तनको भिडियो एक्सरे( अल्ट्रासाउण्ड) गरिन्छ। शंका लागेको अवस्थाम भने यदी शंका लागेको अवस्थामा शरीरमा भएको मासुको टुक्रा निकालेर क्यान्सर हो वा होइन भन्ने निर्क्याेल गर्न सक्छौँ। स्तन क्यान्सर कुन तहमा छ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सकछौ।
कसरी गरिन्छ यसकाे उपचार?
क्यान्सरको उपचारमा तीन किसिमका विधि प्रचलित छन्, शल्यक्रिया, केमोथेरापी र रेडियो विकिरण। स्तन क्यान्सरको उपचार विधि पनि त्यही नै हो। एउटा विधिले काम नगर्दा अर्को विधि प्रयोग गर्ने हो। क्यान्सर कुन अवस्थामा छ भन्ने कुराले उपचार निर्धारित हुन्छ। जटिल उपचारमा फसेर शारीरिक कष्ट र आर्थिक भार बेहोर्नुभन्दा समयमै पत्ता लगाई निदानतर्फ लाग्नु उचित हुन्छ।
भिडियो:
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै