Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हातगोडा झमझमाउने समस्या : पेरिफेरल न्यूरोप्याथी

हातगोडा झमझमाउने समस्या : पेरिफेरल न्यूरोप्याथी

धरै मानिसहरूलाई हातगोडा झझमाउने निदाउने पोलेको अनुभव हुने जस्ता समस्या भइरहेको हुन्छ। मानिसहरूमा यस्तो समस्या किन भएको हो भन्ने कुराका अन्योल भएको देखिन्छ। यस्ता समस्या प्राय: हाम्रो शरीरको हाँगा नसा या मसिना नसाहरूको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखा पर्छन्।

मस्तिष्कबाट मेरुदण्डभित्र मूल नसा निस्किन्छ र यहीँबाट हाँगाबिँगा भई शरीरका सबै अंगअंगमा मसिना हाँगा नसाहरू फैलिएका हुन्छन्। यी मसिना नसालाई ‘पेरिफेरियल नर्भ्स’ भनिन्छ। यी हाँगा नसाहरूमा समस्या भएमा देखिने अवस्थालाई ‘पेरिफेरियल न्यूरोप्याथी’ भनिन्छ। यी हाँगा नसाहरूमा यस्ता समस्या या कमजोरी गराउने कारक तत्त्वहरू विभिन्न खालका हुन्छन्। यी नसाको कमजोरीले मानिसको छालामा छोएको थाहा नपाउने, हातगोडा चलाउने वा विभिन्न भित्री ग्रन्थी अंगहरूको सञ्चालनका काममा बाधा पुर्याई समस्या उत्पन्न गर्छन्।

यस्ता समस्या हल्का खालकादेखि अलि गम्भीर प्रकृतिका पनि हुन सक्छन्। त्यसैगरी यस्ता समस्याहरूले एक वा बढी नशाहरूलाई असर गर्न सक्छन्। कतिपय अवस्थामा अचानक लक्षणहरू देखापर्ने खालका समस्या हुन्छन् भने धेरैजसो अवस्थामा लामो समयदेखि क्रमिक रूपमा बढ्दै जाजे खालका लक्षणहरू हुन्छन्।

लक्षण

यस समस्याका लक्षणहरू छोएको चाल पाउने नसा शरीर चलाउने नसा या भित्री अंग तथा ग्रन्थी चलाउने नसामध्ये कुन प्रकारको नसामा असर परेको छ त्यसैको आधामा लक्षणहरू देखिन्छन्।

‘सिनरी’ अथवा छोएको चाल पाउने नसाहरूमा समस्या भएको अवस्थामा झमझमाउने, निदाउने, लाटो हुने र दुख्ने हुन्छ। त्यसैगरी शरीरको सन्तुलन बिग्रिने, हिँड्न अप्ठयारो हुने जस्ता लक्षण देखिन्छन्। काँडाले घोचेको जस्तो हुने लक्षण पनि हुन्छन्। यस्ता लक्षण प्रायः गोडा र हातका पञ्जाहरूबाट शुरु हुन्छन् र क्रमशः माथि माथि बढ्न थाल्छन्।

‘मोटर’ अथवा शरीरलाई चलाउने नसाहरूमा समस्या भएको अवस्थामा भने हातगोडा कमजोर हुने, राम्ररी नचल्ने, मासंपेशी सुक्ने, बाँउडिने र दुख्ने जस्ता लक्षण देखिन्छन्।

‘अटोनोमिक’ अथवा भित्र अंग तथा ग्रन्थीका नसाहरूमा असर भएमा मुख सुख्खा हुने, रिंगटा लाग्ने, दिसापिसाबमा समस्या हुने जस्ता लक्षण देखिन्छन्। प्रायः शुरुवाती अवस्थामा सिनरी अथवा चाल पाउने नसाहरूका लक्षणहरू देखिन्छन् र रोग बढ्दै जाने क्रममा ‘मोटर’ अथवा शरीरलाई चलाउने नसाहरूका लक्षणहरू देखिन थाल्छन्।

कारण

यी समस्या देखिने कारणहरू विविध हुन्छन्। त्यसमध्ये धेरै देखिने कारण–

मधुमेह

थाइराइड ग्रन्थीको समस्या

कलेजो तथा मिर्गाैलाका रोगहरू

रक्सीजन्य पेयपदार्थ तथा चुरोट सेवन

विभिन्न भिटामिनको कमी जस्तै– भिटामिन बी १२, भिटामिन बी १ आदि।

कतिपय औषधिको प्रयोग या विभिन्न रसायनको संसर्गबाट पनि यस्ता समस्या देखिन सक्छन्– जस्तै केमोथेरापीका औषधि।

यीबाहेक पनि वंशाणुगत, नसाका चोटपटक नसा थिचिने, च्यापिने अवस्था हुन्छ। त्यसैगरी नसाहरू सुन्निने ‘इन्फ्लामेटोरी’ जस्ता अलि जटिल अवस्थामा पनि पेरिफेरियल न्यूरोप्याथीका लक्षणहरू देखिन्छन्।

निदान

यसको निदान बिरामीका समस्याहरू चिकित्सकले जाँच्दा पाइने लक्षणहरू र विभिन्न जाँचहरूको आधारमा गरिन्छ।

यसमा गरिने परिक्षणहरूमा नशाको विशेष जाँच ‘नर्भ कण्डक्सन टेस्ट (एनटीसी) र ‘इलेक्टोमिग्राफी’ (ईएमजी) प्रमुख जाँच हुन्। त्यस्तै गरी यो अवस्था सिर्जना गर्ने कारक तत्त्वहरू छन् या छैनन् र छन् भने कुन कति मात्रामा छन् भनी रगत जाँच गरिन्छ। थाइराइड हर्मोनको अवस्था शरीरमा सुगरको मात्रा लगायत विभिन्न भिटिमिनको मात्रा के कति छन् भनी जाँच गरेर हेर्नुपर्छ।

उपचार

यस रोगको उपचार गर्ने क्रममा यसको प्रमुख कारक तत्व पता लगाई त्यो कारकको उपचार गरिन्छ। मधुमेहका बिरामीमा यसरी नशाका समस्या देखिन थालेको अवस्थामा शरीरमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु नै यसको शुरुवाती उपचार हुन सक्छ। त्यसैगरी विभिन्न भिटामिनको कमी छन् भने तिनको पूर्ति गर्नु, हर्मोनको गडबडी छ भने त्यसको उपचार गर्नुपर्छ। कुनै औषधि या रसायनको कारण समस्या देखिएको हो भने ती औषधि रसायन बन्द गर्नुपर्छ। रक्सीजन्य पेयपदार्थ तथा चुरोट सेवन बन्द गर्नुपर्छ।

यसरी कारक तत्त्वबाट छुटकारा पाउँदा कतिपय बिरामीका समस्या बिस्तारै राम्रो हुन थाल्छ।  नसालाई थप कमजोर हुनबाट बचाउन विभिन्न भिटामिन दिनुपर्छ। त्यसैगरी यसरी ‘न्यूरोपेथिक सिमटम’ देखिएको बिरामीलाई नशाका विभिन्न खालका औषधि सेवन गर्नुपर्छ। रोग अलि बढिसकेको अवस्थामा औषधि लामो समयको लागि प्रयोग गर्नुपर्छ। औषधिको प्रयोग गर्दै जाँदा क्रमशः लक्षणहरू कम हुन्छन्।

डा. प्रबीण श्रेष्ठ र डा. ईशा ढुंगानाको स्नायू रोग अर्थात् न्यूरो समस्याहरू एक संक्षिप्त परिचय पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या