Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शरीर र मन व्यवस्थापन गर्न आवश्यक छ योग

शरीर र मन व्यवस्थापन गर्न आवश्यक छ योग

योगको सामान्य अर्थ हुन्छ, जोड्नु। आध्यात्मिक दृष्टिले हेर्ने हो भने आत्मालाई परमात्मासँग जोड्न ऋषिमुनिले अपनाएको जीवनशैली हो योग। यम, नियम, आसन, प्राणायाम, धारणा र ध्यान आदि योगका अंग हुन्। आधुनिक दृष्टिले हेर्दा स्वस्थ रहन अपनाइने एक कर्म हो योग। तर योगको अर्थ यतिमा मात्र सीमित छैन।

साधनाको माध्यमले शरीर र मनको व्यवस्थापन गर्ने प्रक्रिया हो योग। हामी शरीर सफा राख्ने भन्छौँ। बाहिरी सफाइमा बढी ध्यान दिन्छौँ तर योगले भित्रदेखि नै सफा गर्छ। बाहिर देखिने अंग त भइहाले। नदेखिने भित्री अंग पनि शुद्ध पार्छ। योगले मनको चञ्चलता कम गर्छ। सबैमा समताको भाव उत्पन्न गराउँछ।

अचेल दिनप्रतिदिन अव्यवस्थित जीवनशैलीले गर्दा हरेक घरपरिवारमा तनाव बढेको छ, नसर्ने रोग बढेका छन्। भागदौडलाई व्यवस्थित गर्न शरीर, मन र विचार सकारात्मक हुनुपर्छ। यस्ता समस्यालाई समाधान गर्ने बाहिरी औषधि छैन यसको एउटै समाधान भनेको योग हो। मानिसलाई सम्पूर्णरूपले स्वस्थ राख्न योग आवश्यक छ। योगले मनमा एकाग्रता ल्याउँछ। आत्मविश्वास बढाउँछ। नियमित योग गर्दा तनाव व्यवस्थापन गर्न सकिन्छ। योगले शरीर निरोगी त बनाउँछ नै, यसले सकारात्मक सोचको विकास गराई जीवनमा परिवर्तन ल्याउँछ। जीवनमा सफलता पाउन पनि योगले मद्दत गर्छ। शरीरको लचकता, सुन्दरताका लागि पनि योग गर्न आवश्यक छ। मानिसमा रहेका अनेक दुर्गुण, घमण्ड आदि नियन्त्रण गर्न पनि यो प्रभावकारी हुन्छ।योग हरेक उमेर समूहका मानिसका लागि आवश्यक छ।

यो यस्तो ज्ञान हो, जसलाई सबैले लिन सक्छन्। लिएपछि जीवनभर काम लाग्छ। बढ्दो उमेरका बालबालिकाको शारीरीक तथा मानसिक विकासका लागि योगले सहयोग गर्छ। विद्यार्थीको बौद्धिक क्षमता बढाउँछ। अवसाद (डिप्रेसन), आत्महत्याजस्ता विकृति रोक्न पनि योगको महत्त्व छ। वृद्धवृद्धाका विभिन्न समस्यामा पनि योगले फाइदा पुग्छ। अचेल पहिलेको तुलनामा योगप्रतिको आकर्षण बढेको छ। आफूलाई चुस्त दुरुस्त राख्न मानिसहरूले योग गर्न थालेका छन्। योप्रति आकर्षण बढ्नु राम्रो हो, तर लहलहैमा लागेर होइन। योग गर्दा उमेर र शरीरको अवस्थालाई मध्यनजर गर्नुपर्छ।

सर्वप्रथम कुन योग आफूलाई उपयुक्त हुन्छ निक्र्योल गर्नुपर्छ। योग गर्ने समय र ठाउँको पनि उत्तिकै महत्त्व छ। खाली पेट वा बिहानीको समयमा योग गर्दा बढी प्रभावकारी हुन्छ। योग गर्ने ठाउँ पनि प्रदूषणरहित हुनुपर्छ। स्वच्छ हावा बहने ठाउँ हुनुपर्छ। यसरी योग गर्दा शरीरमा अक्सिजन राम्रोसँग सञ्चार हुन पाउँछ। कम्तीमा आधा घण्टा योगाभ्यास गर्नु जरुरी हुन्छ। अचेल सामूहिक रूपमा योग गर्ने चलन पनि बढेको छ। आफ्नो अनुकुलताअनुसार एकल वा सामूहिक रूपमा योग गर्न सकिन्छ। योग शुरु गरेपछि खानपान र जीवनयापन पनि परिवर्तन गर्दै लग्न आवश्यक छ। त्यसैले योगगुरुसँग परामर्श लिनु वा उनैको निर्देशनमा योग गर्दा फलदायी हुन्छ। समय, अवस्था र स्थलको ख्याल नगरी जथाभावी योग गर्दा उल्टो फल दिने कुरामा सधैँ सचेत रहनुपर्छ।

प्रस्तुति– अशिम सापकोटा

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या