Health TV Online
Health TV Online

कसरी जोगाउने बालबच्चाको मिर्गौला?

कसरी जोगाउने बालबच्चाको मिर्गौला?

नेपालमा कति बालबालिका मिर्गौलाको समस्याबाट ग्रसित छन् भन्ने यकिन तथ्यांक छैन। तर शिक्षण अस्पतालमा भर्ना भएका बालबालिकाहरूमाथि एक वर्षसम्म गरिएको अध्ययनले करिब ६.९८ प्रतिशतमा कुनै न कुनै प्रकारको मिर्गौलारोग लागेको पाइएको थियो। समयमै ध्यान नपुर्याउँदा मिर्गौलारोगका कारण धेरै बालबालिकाको मृत्यु भएको छ भने धेरैजना पछिसम्म समस्या लिएर बसिरहेका छन्।

बालबालिकामा मिर्गौलारोग लाग्ने विभिन्न कारण छन्। कोही त मिर्गौलामा समस्या लिएर नै जन्मेका हुन्छन्। बालबच्चाको मिर्गौला कति स्वस्थ छ भन्ने कुरा आमाको गर्भदेखि निर्धारण हुन्छ। गर्भावस्थामा आमाको खानपान र गरेको क्रियाकलापबाट पनि गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य तय हुन्छ।

त्यसैले गर्भावस्थामा आमाले धूमपान गर्नु हुँदैन। उच्च रक्तचाप तथा मधुमेह छ भने सन्तुलनमा राख्नुपर्छ। आइरन र फोलिक एसिडबाहेक जथाभावी औषधि सेवन गर्नु परे चिकित्सकको परामर्श लिुनुपर्छ।

बालबालिकाको मिर्गौला बिगार्ने मुख्य कारण पिसाब बन्द भइरख्नु र पिसाब फेर्दा समस्या हुनु हो। बालबालिकाहरूलाई पिसाबको समस्या आइरहे मिर्गौलाको समस्याको संकेत हो। पिसाबमा संक्रमणका कारण समस्या आइरहेमा तुरन्त चिकित्सकको परामर्श लिई उपचार गराइहाल्नु पर्छ।

बालबच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउनु पर्छ। फोहोरका कारण पनि पिसाबमा संक्रमण हुने भएकाले सरसफाइमा ध्यान दिन जरुरी छ। नियमित पानी पिउने बानी बसाल्नुपर्छ। लामो समयसम्म पिसाब रोकेर राख्न दिनु हुँदैन। नियमित रूपमा वर्षको एकपटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ। नियमित शारीरिक व्यायाम गराउनुपर्छ। पोषिलो खानेकुरा खुवाउनुपर्छ।

कति बाबुआमाले बालबच्चाको पिसाब संक्रमण हुँदा पनि त्यति ध्यान दिएको पाइँदैन। यसका कारण पछि मिर्गौला फेल भएको पनि पाइएको छ। चिकित्सकलाई देखाइहाले पनि औषधि नियमित नखुवाउने गरेको पनि पाइन्छ। बिचमै ठिक भयो भन्दै पूरै औषधि नखुवाउँदा पछि मिर्गौलाले काम गर्न छाडेको उदाहरण पनि छन्।

आगोले अंग जल्दा, जलवियोजन हुँदा, निरन्तर रगत बग्दा र चोटपटकका कारण बालबालिकाको रक्तचाप कम भई मिर्गौलामा रगत प्रवाह कम हुँदा पनि अल्पकालीन रूपमा मिर्गौला बिग्रिन सक्छ।

मिर्गौला रोगलाई ‘सुसुप्त हत्यारा’ भनिन्छ। यो रोगको कुनै लक्षण हुँदैन। यसले करिब ८० प्रतिशत काम नगर्दा पनि लक्षण थाहा हुँदैन। जब लक्षण थाहा भएर चिकित्सककहाँ पुगिन्छ त्यत्तिखेर निकै ढिला भइसकेको हुन्छ। बाँच्ने उपाय भनेको मिर्गौला प्रत्यारोपण गर्नु वा आजीवन डायलाइसिसमा बस्नु मात्र हो, जुन एकदमै खर्चिलो र झञ्झटिलो हुन्छ।

बालबालिकामा पटक–पटक पिसाबमा संक्रमण भइरह्यो भने यसमा बाबुआमा गम्भीर हुन जरुरी छ। सामान्य औषधिले उपचार गरेर केही समयका लागि निको भए पनि यो समस्या किन आइरहेको छ भन्न थप उपचार आवश्यक हुन्छ। यस्ता समस्यामा चुप लागेर बसे पछि गम्भीर असर परी मिर्गौला बिग्रिन सक्छ।

बालबालिकाले पिसाब फेर्दा कहिलेकाहीँ रगत गयो भने तुरुन्त चिकित्सकको परामर्श लिइहाल्नु पर्छ। पिसाब वा रगत जाँचेर, भिडियो एक्स–रे गरेर वा आवश्यक परेमा बायोप्सी जाँच (मिर्गौलाबाट सानो टुक्रा निकालेर) पनि मिर्गौला रोगको अवस्थाबारे थाहा पाउन सकिन्छ।

बालबच्चामा देखिने अर्को समस्या भनेको ‘नेफ्रोटिक सिन्ड्रोम’ हो। यो भनेको बालबच्चाको पिसाबबाट प्रोटिन जाने समस्या हो। यसरी प्रोटिन गइरहयो भने भित्रभित्रै मिर्गौला बिगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ।

कतिपय बालबालिकाको जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्। यसो भएमा अत्तिनु हुँदैन। दुईवटै मिर्गौला भएको बच्चा जस्तै उसले जीवनयापन गर्न सक्छ। त्यस्ता बच्चालाई बुझ्ने भएपछि उचित परामर्श दिनुपर्छ। नत्र उमेर पुगिसकेपछि उनीहरूमा मानसिक समस्या आउन सक्छ।

कसैको जन्मजात नै मिर्गौला ठीक स्थानमा नभई अन्य स्थानमा हुने, नली सुन्निने, मिर्गौलामा पानीका फोकाहरु (सिस्ट) हुने, पिसाब थैलीमा समस्या हुने तथा जन्मेको केही समयपछि पत्थरी हुने हुनसक्छ। यसो हुँदैमा अभिभावक आत्तिनु हुँदैन। समयमै उपचार गरे यी समस्याबाट मुक्ति पाइन्छ।

बालबच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउनु पर्छ। फोहोरका कारण पनि पिसाबमा संक्रमण हुने भएकाले सरसफाइमा ध्यान दिन जरुरी छ। नियमित पानी पिउने बानी बसाल्नुपर्छ। लामो समयसम्म पिसाब रोकेर राख्न दिनु हुँदैन। साथै बच्चा ९–१० वर्षसम्म पनि ओछ्यानमा पिसाब फेरिरहन्छ भने पनि चिकित्सकको परामर्श लिनुपर्छ। नियमित रूपमा वर्षको एकपटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ। नियमित शारीरिक व्यायाम गराउनुपर्छ। पोषिलो खानेकुरा खुवाउनुपर्छ। यसले बालबच्चाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ।

आमाबाबुको हेलचेक्र्याइँ तथा सामान्य गल्तीले भविष्यका कर्णधार बालबालिकाको मिर्गौला काम नै गर्न नसक्ने अवस्थासम्म पुग्न हुन्छ। मिर्गौला प्रत्यारोपण वा डायलाइसिस जस्तो जटिल अवस्थासम्म पुग्दा लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने अवस्था सिर्जना हुने भएकाले सबै अभिभावक सचेत हुन जरुरी छ।

 

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा