प्रदूषणबाट बच्न प्रयाेग गर्नुस् एन ९५, ९७, ९९ माेडेलका ‘मास्क’
मर्निङ वाकमा निस्किनुकाे साटाे घरमै गर्नुस् व्यायाम
मानिसको बढ्दो चापका कारण देशको राजधानी काठमाडौंमा प्रदूषण निकै बढेको छ। एकातिर सवारीसाधन दिनप्रतिदिन बढिरहेका छन् भने पुराना सवारीसाधन पनि निर्वाध चलिरहेका छन्। बाटाघाटा जतातै बिग्रेका छन्। त्यसका साथै फोहोरको व्यवस्थापनमा पनि हामी कमजोर देखिएका छौँ। यिनै कारण हामी धुलो धुवाँलगायतका प्रदूषण भोग्न विवश छौँ।
यस्तै इँटाभट्टालगायतका कलकारखानाबाट निस्किने धुवाँले पनि वातावरण प्रदूषित बनाइरहेको छ। सरकारले सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने नियम बनाए पनि कडाइका साथ लागु गरेकाे छैन। अनुगमन र कारबाही नहुँदा मानिसहरू खुलेआम धूमपान गरेर हिँडिरहेका हुन्छन्। सार्वजनिक स्थलमा बसेर धुवाँ उडाइरहेका हुन्छन्। त्यसको मार धूमपान नगर्नेले पनि बेहोर्नुपर्छ।
धुलोधुवाँबाट बच्न ‘मास्क’को प्रयोग गर्नुपर्छ। मास्क भन्नेबित्तिकै सामान्य कपडाबाट बनेका मास्क सम्झिइन्छ। काठमाडौंको प्रदूषण सामान्य किसिमका मास्कले नधान्ने भइसकेको छ। यसैले कपडाबाट बनेका मास्क र सर्जिकल मास्कको प्रयोग गर्नुभन्दा एन ९५, ९७, ९९ माेडेलका मास्क स्वास्थ्यका दृष्टिले बढी प्रभावकारी हुन्छ। केही दिन लगाउन असहज भए पनि स्वास्थ्यका दृष्टिले यी प्रभावकारी हुन्छन्।
यो त भयो शहरको प्रदूषणको कुरा हाम्रा गाउँघरतिर अझै पनि दाउरा र गोबरको गुइँठा बालेर खाना पकाउने चलन छ। कतिपय ठाउँमा त्यसलाई पनि आधुनिक तरिकाले प्रयोग गर्न थालिए पनि अझ धेरै ठाउँका चुह्लो परम्परागत किसिमका छन्। यस्तो चुह्लोबाट निस्किने धुवाँले शरीरमा गम्भीर असर पुर्याउँछ।
एक तथ्यांकअनुसार वार्षिक ७० लाख मानिसको मृत्यु प्रदूषणकै कारणले हुन्छ। दक्षिण एसियामा २२ लाखको मृत्यु हुन्छ। भारतमा ११ लाख मानिसको मृत्यु हुने गरेको छ। तर हाम्रो देशमा आधिकारिक तथ्यांक नभएको अवस्था छ।
चिसाे बढेसँगै वायु प्रदूषण पनि बढेकाे छ। गर्मीयाममा सरुवा रोगको प्रकोप भएजस्तै चिसो मौसममा पनि यसका कारण श्वासप्रश्वासलगायत अनेकौँ गम्भीर समस्या निम्त्याउन सक्छ। फोक्सोदेखि मुटु र मष्तिस्कसम्मका महत्त्वपूर्ण अंगमा हानि पुर्याउँछ। वायु प्रदूषणले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्छ। यसको अर्थ युवावस्थाका मानिसलाई नगर्ने भन्नेचाहिँ होइन। प्रदूषणले धर्तीमा रहेका मानिसलाई मात्र होइन आमाको गर्भमा रहेको शिशुलाई समेत नराम्रो असर पुर्याउँछ।
वायुप्रदूषणबाट आमनागरिकलाई बचाउन सरकारले सवारीसाधन जाँचमा कडाइ गर्नुपर्छ। बढी धुवाँ फ्याँक्ने सवारीसाधन चल्न दिनुहुँदैन। सडक मर्मत र फोहोर व्यवस्थापनको काम चाँडो टुंग्याउनुपर्छ। यस्तै उद्योग कलकारखाना बस्तीभन्दा टाढा लैजानुपर्छ।
यो त भयो सरकारले गर्नुपर्ने काम। नेपालजस्तो मुलुकमा यी काम हुन वर्षौँ वा दशकौँ लाग्ने भएकाले नागरिक आफैँ पनि सचेत हुनुपर्छ। प्रदूषणबाट बच्नका लागि व्यक्तिगत वा सामूहिक पहल गर्नुपर्छ। धुलोधुवाँबाट बच्न ‘मास्क’को प्रयोग गर्नुपर्छ। मास्क भन्नेबित्तिकै सामान्य कपडाबाट बनेका मास्क सम्झिइन्छ। काठमाडौंको प्रदूषण सामान्य किसिमका मास्कले नधान्ने भइसकेको छ। यसैले कपडाबाट बनेका मास्क र सर्जिकल मास्कको प्रयोग गर्नुभन्दा एन ९५, ९७, ९९ माेडेलका मास्क स्वास्थ्यका दृष्टिले बढी प्रभावकारी हुन्छ
वातावरण प्रदूषित रहेकाले काठमाडाैंमा अहिले ‘मर्निङ वाक’ नगर्नु नै उपयुक्त हुन्छ। गर्नु नै परे सबेरै वा सवारीसाधनको चाप हुनुभन्दा अघि नै निस्केर घर फर्किसक्नुपर्छ। यसकाे साटाे बरु घरमै बसेर व्यायाम गर्न सकिन्छ।
वायु प्रदूषणबाट हुने असरबाट बच्न धूमपान गरिरहेका व्यक्तिहरूकाे नजिकमा पर्नु उपयुक्त हुँदैन। गाउँघरतिरका चुह्लाेहरूलाई व्यवस्थित पार्न जरूरी छ। त्यस्तै साना बच्चाहरूलाई प्रदूषण भएका स्थानमा लिएर नजानु उपयुक्त हुन्छ।
अशिम सापकाेटासँगकाे कुराकानीमा आधारित
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड