Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेदमा पञ्चकर्म : यी समस्यामा प्रभावकारी

आयुर्वेदमा पञ्चकर्म : यी समस्यामा प्रभावकारी

नेपाल आयुर्वेदको भूमि हो। यहाँ जडिबुटीको अमूल्य भण्डार छ। आयुर्वेद बिरामीलाई निको पार्न मात्र नभई रोग लाग्न नदिन पनि प्रभावकारी उपचारपद्धति हो। शरीरभित्र भएका विकारयुक्त वस्तु बाहिर निकालेर उपचार गरिने भएकाले स्वस्थ जीवनयापनका लागि आयुर्वेद प्रभावकारी माध्यम हो।

आयुर्वेदमा पनि विभिन्न उपचार पद्धति छन्। त्यसमध्ये एक हो, पञ्चकर्म। आयुर्वेदमा पञ्चकर्म भन्नाले बमन, विरेचन, बस्ती, नस्य र रक्तमोक्षण पर्दछन्। पञ्चकर्म गर्नुभन्दा अघि पूर्वकर्म गरिन्छ, स्नेहन र स्वेदन। यी दुई विधिहरूले संस्कार गरेर मात्र प्रधान कर्म (उपचार) गरिन्छ।

बमन

शरीरको माथिल्लो भागमा हुने समस्यामा बमन विधि निकै उपयोगी हुन्छ। मानसिक समस्या भएकाहरूको लागि पनि उपयोगी छ। यो विधिमार्फत् शरीरमा भएका विकारयुक्त वस्तुलाई मुखको माध्यमबाट बाहिर निकालिन्छ। बमन विधिअनुसार व्यक्तिलाई पेय पदार्थ खुवाएर चारदेखि आठ पटकसम्म उल्टी गर्न लगाइन्छ । यो प्रक्रिया अपनाएपछि आराम गर्न र मलमूत्र त्याग गर्न लगाइन्छ ।

विरेचन

छालाकाे समस्यामा याे विधि उपयोगी हुन्छ। यसबाट छालामा देखिने सेता दाग, सोरियोसिस, डण्डिफोर, जण्डिस, हेपाटाइटिस, कब्जियत र मोटोपनलगायतको उपचार गरिन्छ । आयुर्वेदमा ‘प्यारालाइसिस इस्टेबल’ भएपछि विरेचन दिने सिफारिस गरिन्छ। यो विधिमार्फत् शरीरबाट पीत विषजीव हटाएर रक्त विषजीवको शुद्धीकरण हुन्छ।

वस्ती

यो पद्धतिमा शरीरमा हुने तीनवटै दोष– बाथ, पित्त र कफबाट उत्पादित विकारलाई गुदा मार्गबाट बाहिर निकालिन्छ । गुदा मार्गबाट औषधि दिई ठूलो आन्द्रा वा आमाशयको उपचार गरिने विधि नै वस्ती विधि हो। स्नायुसम्बन्धी रोग, योनी र पाठेघरमा हुने समस्या, मुटु र मिर्गौलामा पत्थरी रोगमा याे उपचार विधि प्रभावकारी हुन्छ ।

नस्य

नस्य नाकसँग सम्बन्धित उपचार हो। याे पद्धतिअन्तर्गत  कफ, जीवविष सफा गर्न औषधियुक्त तेल नाकमा हालिन्छ । यसपछि उमालेको पानीमा स्वरसको बाफ लिएर उपचार गरिन्छ । माइग्रेन, पिनास र नाकमा मासु पलाउने आदि समस्याका लागि नस्य उपचार पद्धति प्रभावकारी मानिन्छ ।

रक्तमोक्षण

यो विधिअन्तर्गत शरीरबाट दुषित रगत बाहिर पठाएर उपचार गरिन्छ। यो माध्यमद्वारा उपचार गर्दा रगतसम्बन्धी रोग, लुतो, सेतो कुष्ठरोग र छाला चिलाउने रोग निर्मूल पार्न सकिन्छ।

पञ्चकर्मको फाइदा

पञ्चकर्मले शरीरमा स्फूर्ति जगाँउछ। शरीरमा चाँडै बुढ्यौली आउन दिँदैन। शरीरमा भएको तन्तुहरुलाई पुनर्जीवन दन्छ। शरीरको कार्यक्षमता बढ्दै जान्छ। हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका, बाथ, गाउट, हड्डी खिएर हुने बाथ, पिनासबाट मुक्ति पाउन तथा अनिद्रा, तनाव, चिन्ता, र थकान हटाउन यो विधि उपयोगी छ।

आयुर्वेद उपचार पद्धतिमा मुख्य कुरा बिरामीको शरीर कुन प्रकृतिको छ र उसलाई के समस्या छ भन्ने कुरा पहिचान गर्नु महत्त्वपूर्ण मानिन्छ। समस्या पहिचानपछि मात्रै उनीहरूलाई कुन प्रक्रियाले छिटो र सरल तरिकाले निको पार्न सकन्छ भनेर उपचार गर्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार