‘तिहारको लक्ष्मीपूजा र झिलीमिली मन पर्छ’

दशैँतिहार हाम्रा ठूला र हर्ष–उल्लासका चाड हुन्। यस्ता चाडबाडमा घर, परिवार र आफन्तको विशेष महत्त्व हुन्छ। स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले हामीले सबै चाडपर्व घरमा बसेर परिवार आफन्तसँग मनाउन पाइँदैन। हाम्रो प्राथमिकता भनेको अस्पताल र बिरामी हो। विदामा बसेका वेला पनि हामी अस्पताल र बिरामीप्रति उत्तरदायी हुनुपर्छ। आवश्यक पर्यो भने जुनसुकै अवस्थामा पनि हामी अस्पताल पुग्नैपर्छ।
म स्वास्थ्य क्षेत्रमा लागेको १६ वर्ष पुगिसक्यो। तीन महिनादेखि काठमाडौंस्थित मेट्रो अस्पतालमा कार्यरत छु। म अस्पतालको ओपीडीमा कार्यरत भएको हुनाले यस्ता ठूला चाडपर्वमा अलि सहज हुन्छ। वार्डमा कार्यरत स्ववास्थ्यकर्मी लाई २४ सै घण्टा खटिनुपर्छ। त्यहाँ आलोपालो गरी ड्युटी सेड्युल मिलाइएको हुन्छ। तर ओपीडी दशैँतिहारजस्ता ठूला चाडमा केही दिन नखुल्ने भएकाले घरमा बस्न पाइन्छ।
मलाई सबैभन्दा मनपर्ने चाड नै तिहार हो। त्यसमा पनि लक्ष्मीपूजा त मेरो लागि निकै महत्त्वको दिन। लक्ष्मीपूजाको लागि घरमा म धेरै नै व्यस्त हुन्छु। सबैतिर उज्यालो, सबैतिर झिलिमिली, धनधान्यकी देवी लक्ष्मीको पूजा र दीपावली असाध्यै मनमोहक हुन्छन्।
राजधानी बाहिर घर भएका साथीहरू चाँडै घर फर्किन सम्भव नभएकाले हामी यहाँ रहेकाले ड्युटी गर्नुपर्ने हुन्छ। तैपनि सबैलाई सहज हुनेगरी ‘ड्युटी सेड्युल’ बनाएका हुन्छौँ। गतसाल तिहारमा मेरो ड्युटी कलेजमा परेको थियो। त्यसैले घरमै मनाएको थिएँ। संयोगवस यो वर्ष पनि घरमै मनाउन पाउने भएकी छु। सामान्यतया तिहारमा तीनदिन विदा हुने भए पनि अघिल्लो दिन शनिवार परेकाले चार दिन विदा हुनेछ। टाढा घर भएको साथीहरूलाई पनि सहज हुन्छ जस्तो मलाई लाग्छ।
म सानै उमेरमा स्वास्थ क्षेत्रमा लागेकी हुँ। कतिवटा दशैँतिहार अस्पतालमै मनाएको छु। अस्पतालमा सिनियर र बिरामीको हातबाट पनि टीका लगाएकी छु। एक अर्काको दुःख साटासाट गरेर मनाइन्थ्यो। लगातार १० वर्षसम्म त तिहारमा साइतमा टीका लगाउन पाइनँ। ड्युटी सकेर बेलुकी घर पुगेर दाजुभाइलाई टीका लगाइदिन्थेँ। पहिले पहिले त नरमाइलो पनि लाग्थ्यो। ‘परिवारका सदस्यहरू घरमा रमाइरहनुभएको छ, म भनेँ…’ भन्ने लाग्थ्यो तर पछि पछि बानी पर्दै गयो। घरमा सँगै बसेर चाडपर्व मनाउन नपाउँदा पनि दुःख लाग्न छाड्यो।
किनकी मेरो पेशा नै मेरो लागि महत्त्वको विषय हो। अस्पतालका बिरामी नै मेरा लागि ठूला हुन्। चाडपर्व मनाउने विषय त मेरा लागि गौण हो। भ्याए वा सम्भव भए परिवारसँग मनाउने नभए अस्पताल र बिरामीसँगै रमाउने।
वास्तवमा मलाई सबैभन्दा मनपर्ने चाड नै तिहार हो। त्यसमा पनि लक्ष्मीपूजा त मेरो लागि निकै महत्त्वको दिन। लक्ष्मीपूजाको लागि घरमा म धेरै नै व्यस्त हुन्छु। सबैतिर उज्यालो, सबैतिर झिलिमिली, धनधान्यकी देवी लक्ष्मीको पूजा र दीपावली असाध्यै मनमोहक हुन्छन्। त्यो दिन परिवारसँग मिलेर सेलरोटी पकाउने काममा सहभागी हुन्छु। त्यो दिन साँझमा आउने सानासाना भैलिनीहरूसँग रमाइलो गर्छु। तिहारभरि नै परिवारसँग बसेर एकअर्काको कुरा बुझ्ने, खानपान गर्ने लगायत गरेर रमाइलो गरिन्छ।
हामीजस्तै सबैजना रमाइलो गर्नुहुन्छ। तर रमाइलो गर्ने नाममा खानको सन्तुलन नपुर्याउँदा तिहारलगत्तै धेरैजना बिरामी परेर अस्पताल आइपुग्छन्। तिहारमा विशेषगरी सेलरोटी र मिठाइको विशेष महत्त्व छ। चिल्लो र गुलियो पदार्थ धेरै खाँदा हुने हानिलाई विचार गरेर खानपान गर्नुपर्छ। त्यसैले आफूमा भएको समस्या बुझेर ठिक मात्रामा खानपान गर्न म सबैलाई सुझाव दिन्छु। सबैलाई तिहारको शुभकामना!
कुराकानीमा आधारित
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights