तपाइँको बच्चाको आँखामा सेतो दाग त छैन?, ‘रेटिनोब्लास्टोमा’ हुनसक्छ

रेटिनोब्लास्टोमा बच्चाको आँखामा लाग्ने एक किसिमको क्यान्सर हो। यो आँखाको क्यान्सर जन्मेदेखि ५ वर्षको उमेरका बालबालिकामा हुने सम्भावना बढी हुन्छ। अपवादका रूपमा ८–९ वर्षसम्म पनि देखिन सक्छ।
रेटिनोब्लास्टोमा बाहिरी कारण वा खानपानका कारणले हुने रोग होइन। यो रोग बच्चाको विकासको क्रममा जीन डिस्अर्डर अर्थात् जिनमा खराबी भएर हुनसक्छ। वंशाणुगत कारण पनि बच्चामा यो समस्या आउन सक्छ। त्यसैले जो कोहीलाई पनि यो रोग लाग्न सक्छ।
लक्षण
यसको शुरुवाती चरणमा बच्चाको आँखाको कालो भागमा सेतो टिका अर्थात् दाग देखिन्छ। बिस्तारै बच्चाको आँखा डेढो हुँदै जान्छ।
आँखा रातो हुने, चिलाउने, पोल्ने एवं दुख्ने हुन्छ। अन्ततः आँखामा ट्युमर बढ्दै गई आँखा नै बाहिर आउन थाल्छ।
यी लक्षणहरू देखिएमा बाबुआमा चनाखो हुनुपर्छ। किनकी साना बच्चाले आफैँले बोलेर समस्या बताउन नसक्ने हुँदा रोग अन्तिम अवस्थामा मात्र पत्ता लाग्ने गरेको छ। त्यसैले पनि आफ्ना बच्चाहरूमा यस्ता लक्षण देखिए बाबुआमाले तुरुन्त आँखारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ।
बच्चाको आँखामा देखिएको सेतो दाग अँध्यारोमा अझ बढी प्रस्ट भएर देखिन्छ। कहिलेकाहीँ सामान्यरूपमा हेर्दा नदेखिने दाग फोटोमा देखिन सक्छ। यसरी फोटोमा प्रष्ट आँखामा कालो भागमा सेतो दाग देखिन्छ भने त्यो क्यान्सरको शुरुवाती चरण हुनसक्छ।
बच्चालाई शुरुवाती चरणमा दुख्ने पोल्ने नहुने हुँदा यसको कुनै संकेत नै नपाइन सक्छ। आँखाको ट्युमर बढ्दै गएपछि दुख्ने चिलाउने रातो हुने र अन्तिम अवस्थामा आँखा नै बाहिर निस्किँदै जान्छ। कहिलेकाहीँ क्यान्सर अन्य भागमा समेत फैलिसकेको हुन्छ।
पहिचान
सम्बन्धित चिकित्सकले ९० प्रतिशत हेरेर नै पत्ता लगाउन सक्छन्। शतप्रतिशत पत्ता लगाउन सिटी स्क्यान र एमआरआईलगायतका टेस्ट गर्नुपर्छ। यसबाट क्यानसरको अवस्था र उपचारको योजना बनाउन सहज हुन्छ।
रेटिनोब्लास्टोमा २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ। यस रोगले बच्चाको एक वा दुवै आँखा प्रभावित हुनसक्छ। तर धेरैजसो बालबालिकालाई एउटा मात्र आँखामा असर पारेको तथ्यांकले देखाएको छ।
कसलाई हुन्छ रेटिनोब्लास्टोमा?
बच्चाको परिवारमा यदि कसैलाई रेटिनोब्लास्टोमा छ भने उसलाई हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ। बच्चाको परिवारमा कसैलाई छैन तर बच्चामा मात्र छ भने अर्को बच्चालाई हुने सम्भावना १० प्रतिशत मात्र हुन्छ।
परिवारमा कसैलाई यो रोग छैन पहिलो बच्चामा एउटा आँखामा मात्र रोग छ भने दोस्रो बच्चालाई हुने सम्भावना ८ प्रतिशत मात्र हुन्छ।
जाँच र उपचार
आँखाको पर्दाको जाँच गरेर आँखारोग विशेषज्ञले यो रोग पत्ता लगाउन सक्छन्। यो रोगको उपचार नेपालमै सम्भव छ। क्यान्सरको अन्य उपचार जस्तै आँखाको अल्ट्रासाउण्ड, केमोथेरापी, रेडियोथोपी शल्यक्रियाद्धारा यसको उपचार गरिन्छ। कहिलेकाहीँ एकभन्दा बढी उपचार आवश्यक पर्ने पनि हुनसक्छ ।
धेरै यस्ता बिरामी अन्तिम चरणतिर आउने हुँदा आँखा नै निकालेर उपचार गर्नुपर्ने हुन्छ। आँखा बचाउने भन्दा पनि सकेसम्म ज्यान बचाउनतिर लाग्नुपर्छ। त्यसैले आँखा निकालेपछि कृत्रिम आँखा राखेर आँखाको सौन्दर्य र बच्चाको आत्मविश्वास कायम राख्ने गरिन्छ। यसरी राखिएको कृत्रिम आँखाले देख्न भने सकिँदैन।
नेपालमा दूरदराज यस्ता बिरामी पाइएका छन्। त्यहाँ यसको उपचार नै छैन। जसले गर्दा उनीहरू काठमाडौंसम्म आउनुपर्छ। त्यसकारण पनि रोगको पहिचान र उपचारमा ढिलाइ भइरहेको छ।
नेपालमा वार्षिक ३० देखि ४० बच्चा रेटिनोब्लास्टोमा अर्थात् क्यान्सर लिएर आउने गरेको तथ्यांक छ। तीमध्ये ३० देखि ७० प्रतिशत अन्तिम अवस्था अर्थात् क्यान्सर फैलिसकेको अवस्थामा आउने हुँदा उनीहरूलाई बचाउन सकिँदैन।
समयमै उपचार गरेमा उनीहरूलाई बचाउन सकिन्छ। विकसित देशहरूमा १ प्रतिशत मात्र मृत्युदर पाइन्छ। यसको मुख्य कारण हामीकहाँ यसबारे जनचेतना नहुनु नै हो।
त्यसैले बच्चाको आँखामा सेतो दाग देखिनेबित्तिकै लक्षण नकुरीकन परीक्षण गराउनुपर्छ। यसबाहेक पनि बच्चाको नियमित आँखा परीक्षण गराऔँ।
भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा