Health TV Online
Health TV Online
Health TV Online

यसरी गर्नुस् जलनको प्राथमिक उपचार

यसरी गर्नुस् जलनको प्राथमिक उपचार

जलन र प्राथमिक उपचारको अर्थ आगोको ज्वाला, तातो उमालिएको तरल पदार्थ तातो वस्तुको सम्पर्कबाट हुने पोलाइ विद्युतीय झट्का र रासायनिक पदार्थको संसर्गका कारण हुने चोटहरूलाई जलन भनेर बुझिन्छ। यसलाई अंग्रेजीमा ‘बर्न्स’ भनिन्छ।

नेपालमा जलनको समस्या प्रत्येक वर्ष विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ। नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकलाई जलनका समस्याले गम्भीर असर पार्न सक्छ।

तुलनात्मक रूपमा जलनको उपचार कठिनाईपूर्ण खर्चिलो र समय लाग्ने हुन्छ। कुनै पनि चोटपटक लागेको अवस्थामा वा कुनै रोगमा परेकालाई जीवन बचाउन गरिने हेरचाह तथा समस्याबाट प्रभावित कुनै पनि व्यक्तिलाई तत्काल दिइने सहायतालाई प्राथमिक उपचार भनिन्छ। साथै रोगको अवस्था बिग्रिनबाट रोक्न गरिने उपचारलाई पनि प्राथमिक उपचार भनिन्छ। सामान्यतया जलन हुनेबित्तिकै घाउ बिग्रिन नदिन वा जलनको बिरामीलाई थप खतराबाट मुक्त गर्न तत्कालै प्राथमिक उपचार गरिन्छ। सबै प्रकारका जलनको पूर्ण उपचार स्वास्थ्यचौकीमा मात्र सम्भव हुँदैन।

सानोतिनो जलनका बिरामीहरू प्राथमिक उपचारपश्चात घर फर्किन सक्छन्। तर जलन गहिरो भएमा त्यस्तो बिरामीलाई थप उपचारका लागि अस्पताल पठाउनु पर्ने हुन्छ। यस्तो बेलामा बिरामीको घाउ सफा गरी वा अन्य आवश्यक प्रारम्भिक उपचार गरी थप उपचारको लागि अस्पताल पठाउनु पर्छ।

जलनको प्राथमिक उपचार

प्राथमिक उपचार अघि जलनमा परेका व्यक्तिलाई उद्धार गर्नु पर्छ।सर्वप्रथम जलिरहेको व्यक्तिलाई जलनको स्रोतबाट हटाई सुरक्षित स्थानमा पुर्याउनु पर्दछ। तर जलन भएको अवस्थामा आत्तिएर दगुर्नु हुँदैन।

जलेको पोलाइलाई कम गर्न चिसो पानी खन्याई राख्नुपर्छ। जलेको भागमा लगभग आधा घण्टा चिसो पानी खन्याउँदा जलनको कारण उत्पन्न भएको पोलाइलाई कम गराँउछ भने यसले जलनको गहिराई र फैलावटलाई पनि रोक्ने कार्य गर्छ। तर यस्तो भागमा आइस (बरफ)को प्रयोग गर्नु हुँदैन।

स–साना बालबालिका र वृद्धावृद्धामा जलन भएको अवस्थामा उनीहरूको शरीरलाई न्यानो राखी जलन भएको भागमा मात्र पानी खन्याउनु पर्छ। रासायनिक पदार्थको सम्पर्कबाट भएको जलनको परिप्रेक्ष्यमा जलेको ठाँउमा धेरै र छिटोछिटो पानी खन्याएर रासायनिक तत्त्वहरू हटाउनुपर्छ। उदाहरणका लागि यदि शरीरको कुनै भागमा एसिड परेर जलन भएको छ भने उक्त भागमा सकेसम्म धेरै पानी खन्याउनु पर्छ।

जलन भएको भागलाई सफा कपडाले छोपेर यथाशिघ्र अस्पताल लैजानुपर्छ। कतिपय स्थानमा जलन भएको भागमा माटो गोबर वा दाँत माझ्ने मञ्जन लगाउने गरिन्छ। यस्तो गर्नु हुँदैन। यसले घाउलाई संक्रमण गर्ने सम्भावना ज्यादा हुन्छ।

जलनको समस्या सामान्यदेखि गम्भीर प्रकारका पनि हुन्छन्। सामान्य जलनलाई घरमा उपचार गर्न सकिन्छ वा स्वास्य चौकीमा गर्न सकिन्छ। तर गम्भीर प्रकृतिका जलनलाई आपतकालीन उपचार चाहिन्छ र यस्तो प्रकारका जलन प्रभावित व्यक्तिहरूलाई अस्पताल नै पठाउनु पर्छ।

प्राथमिक उपचार गर्ने तरिका

मानौँ गृहिणी महिलाले खाना पकाउँदा उनको सारीमा आगोले टिपेर दुवै गोडा पूरै जल्यो भने सर्वप्रथम त उनको शरीरमा लागेको आगो निभाउनु पर्छ। यसका लागि जलिरहेको व्यक्तिलाई भुइँमा लडिबुडी गर्न लगाई आगो निभाउनु पर्छ। वा उनको शरीरमा कम्बल वा सुतीका कपडाले छोपेर आगो निभाउनु पर्दछ। त्यसपछि जलेको भागमा लगभग ३० मिनेट जति चिसो पानी खन्याउनुपर्छ र ढिलो नगरी बिरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।

यदि बिरामीलाई गाउँकै स्वास्थचौकीमा लगिएको छ र बिरामीको जलनको घाउ ठूलो छ भने स्लाइन पानी दिँदै सकेसम्म छिटो अस्पताल पठाउनु पर्छ। यदि जलनको घाउ सामान्य भएको अवस्थामा स्वास्थयचौकीका स्वास्थकर्मीले निम्न कुरा गर्नु पर्छ–

बिरामीलाई सफा स्थानमा सुताउने जलन भएको भाग नजिक कुनै कपडा वा गहना भए सुस्तरी हटाउनुपर्छ। तर जबरजस्ती हटाउन खोजेमा यसले बिरामीको घाउमा अधिक क्षति पुर्याउँछ।

जलनको घाउमा छिटै संक्रमण हुनसक्ने हुँदा जलेको भागलाई सफा कपडाले छोप्नु पर्छ वा सफा ‘ड्रेसिङ’ लगाउनु पर्छ। संवेदनशील भाग जस्तै टाउको घाँटी मेरुदण्ड, छाती, पेट र यौना‌ंगहरूमा जलन भएको छ भने यस्तो जलन उपचारका लागि विशेष सेवाको आवश्यक पर्ने हुँदा तत्कालै अस्पताल पठाउनुपर्छ।

जलेको प्रतिशत र जलनको कारण वा प्रकारको सही आँकलन गर्नुपर्छ। आवश्यकता अनुसार स्लाइन पानी दिने बिरामी आफैँले पिसाब गर्न नसक्ने स्थिति छ भने वा उक्त भागमा जलन भएको छ भने पिसाबको पाइप फोलिज ‘क्याथेटर’ राख्नुपर्छ।

आवश्यकता अनुसार जलनको दुखाई कम गर्ने औषधि दिने यदि सास फेर्न कठिनाई भएको छ भने र अनुहारमा जलन भएको छ भने अक्सिजन दिने। यदि गम्भीर प्रकारको जलन भएको छ भने माथि उल्लेख गरिएको व्यवस्थापनपश्चात बिरामीलाई अस्पताल पठाउनु पर्छ।

डा. रोजिना शिल्पकार, सर्जन, सुषमा कोइराला मेमोरियल अस्पताल

‘जलन’ त्रैमासिकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा