Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि मात्र होइन बिरामीका लागि विष पनि बन्न सक्छ अनार

औषधि मात्र होइन बिरामीका लागि विष पनि बन्न सक्छ अनार

आफन्त साथीभाइ बिरामी हुँदा भेट्न के लिएर जाने भन्दा सदाबहार उत्तर आउँछ, अनार। सबै उमेर र सबैखालका बिरामीलाई अनार नै उपयुक्त मानिन्छ। तर जुनसुकै रोग लागेका बिरामीले अनार वा यसको रस खान हुन्छ त?

अनार रुखमा फल्ने एक प्रकारका फल हो। यसलाई हामी विभिन्न नामले चिन्छौँ। अंग्रेजीमा यसलाई ‘पोमग्रेनेट’ भनिन्छ भने नेपाली तथा अन्य भाषामा अनारदाना, बेदाना, दाडिम भनेर पनि चिनिन्छ।

वनस्पति विज्ञानमा यसलाई ‘पुनिका ग्रेनेटम एल’ भनिन्छ। यसमा विभिन्न प्रकारको पौष्टिक तत्त्वहरूको अतिरिक्त ‘पोलिफेनल्स’, ‘एन्थोक्यानिन्स’, ‘आइसोफ्लेभोन्स’ जस्ता एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ।

हजारौँ वर्षदेखि अनारको विभिन्न भागलाई विभिन्न उद्देश्यका लागि गर्ने गरिएको छ। सामान्यतया यसको बोक्रा, फल जरा प्रयोग गरिन्छ। बाहिरको बोक्रा कपडाहरू, धागो रंग्याउन उत्तम मानिन्छ।

कतिपय ठाउँमा अनारको दानाबाट तेल पनि निकालिन्छ। अनार र यसको रसलाई औषधिको रूपमा पनि प्रयोग हुँदै आएको छ। यसमा विभिन्न रोगहरूबाट प्रतिरक्षा गर्ने तत्त्वहरू प्रचूर मात्रामा पाइने भएकाले यसलाई उच्चकोटीको फल (सुपरफुड वा मिराकल फुड)को संज्ञा पनि दिने गरिएको छ।

विभिन्न ठाउँमा गरिएका परीक्षणहरूमा यसमा एन्टी ब्याक्टेरियल, एन्टी भाइरल, एन्टी अक्सिडेन्ट तत्त्वहरू रहेको देखाइएको छ। हालसम्मका धेरैजसो परीक्षणहरू प्रयोगशालामा मात्र सीमित रहेको छ। यद्यपि यसमा मानिसहरूका लागि रोगबाट बच्न तथा प्रभावकारी उपचारका लागि आवश्यक तत्त्वहरू छन्, छैनन् भन्ने कुराको यकिन बृहत् अध्ययन तथा अनुसन्धानको खाँचो छ।

अनारको प्रयोजन तथा यसका फाइदा

प्रोस्टेट क्यान्सर पुरुषहरूमा फोक्सो क्यान्सरपछि बढी मात्रामा देखिने क्यान्सर हो। विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणहरूले अनारको रस प्रशोधन गरी निकालिएको तत्त्व एक्ट्र्याक्टले क्यान्सरका कोषिकाहरूको वृद्धि दरलाई घटाउने मात्र नभई क्यान्सरका कोषिकाहरूलाई नष्ट गर्नसमेत मद्दत पुर्याउँछ। एक अध्ययनले प्रतिदिन २३७ मिलि अनारको रस सेवन गरेकाहरूमा पीएसए (प्रोस्टेट स्पेसिफिक एन्टिगेन) को वृद्धिदरलाई १५ महिनाबाट ५४ महिना पर पुर्याउन सफल भएको छ। प्रोस्टेट क्यान्सरका पुरुषहरूले अनारको रस नियमित सेवन गर्दा क्यान्सरका कोषिकाहरूलाई घटाउनसक्ने देखिएको छ।

स्तन क्यान्सर तथा अनार

स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सर हो। प्रयोगशालाहरूमा गरिएका परीक्षणहरूले अनारको एक्स्ट्र्याक्ट नियमित सेवन गर्नाले स्तन क्यान्सरका कोषिकाहरूको पुनर्उत्पादन प्रक्रियालाई रोक लगाउनुको साथै नष्ट समेत भएको देखाएको छ। तर मानिसहरूमा यसको प्रभावकारिताबारे थप अनुसन्धानको खाँचो छ।

अनार तथा रक्तचाप

नियमित अनार सेवनले रक्तचाप कम गर्न मद्दत पुर्याउँछ। प्रत्येक दिन १५० मिलि अनाको रस दुई हप्तासम्म सेवन गर्नेहरूको रक्तचापमा उल्लेख्य कमी आएको एक अध्ययनले देखाएको छ। यसको सेवनले विशेषगरी सिस्टोलिक ब्लड प्रेसरमा कमी ल्याउँछ।

बाथरोगमा अनार

जोर्नी खिइने बाथ पीडादायक रोग हो। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले अनारबाट निकालिएको तत्त्व एक्स्ट्र्याक्टको कारण ‘ओर्टिओअर्थिटिस्’ रोगीहरूको जोर्नीमा असर पुर्याउने इन्जाइमहरूलाई बन्द गरिदिने हुनाले बाथ रोगीहरूलाई फाइदा पुग्ने देखिन्छ। तर यी परीक्षणहरू प्रयोगशालाहरूमा मात्र सीमित रहेकाले यसमा थप अध्ययन गरी बाथ रोगीहरूको उपचार तथा जीवन सहज बनाउने महत्त्वपूर्ण पक्ष हुन सक्छ।

अनार तथा मुटुको रोग

विभिन्न क्षेत्रहरूमा गरिएका अध्ययनले नियमित अनार सेवनले मुटु रोगका जोखिमलाई कम गर्न प्रभावकारी भएको देखिन्छ। यसको नियमित सेवनले रक्त कोलेस्ट्रोल मात्र नभई मुटुका लागि घातक एलडीएल कोलेस्टनेल घटाउन मद्दत पुगेको पाइन्छ। यसको प्रमुख कारणहरूमा अनारमा पाइने पोलिफेनलल्स तथा अन्य थुप्रै ‘एन्टी अक्सिडेन्ट’को मद्दतले अक्सीकरणको कारण जम्मा हुने ‘फ्री र्याडिकल्स’ न्यून गराएर मुटुमा पर्नसक्ने क्षतिलाई कम गराउँछ। यसको नियमित सेवनले रक्तधमनीमा रगतको बहावमा सुधार ल्याउनुका साथै रक्त धमनी बाक्लो तथा कडा हुनबाट जोगाउँछ।

यिनै फाइदाहरूलाई दृष्टिगत गरी ओकलाहामा विश्वविद्यालयले अनारलाई मुटुको लागि उपयुक्त फलफूलको रूपमा समावेश गर्ने सिफारिश गरेको छ। कतिपय पाचन प्रणालीसम्बन्धी समस्या जस्तै पखाला, आउँ, टेपवर्मजस्ता जुकाको उपचारमा पनि अनार प्रयोग गर्न सकिन्छ।

तर के हरेक अवस्थामा अनार र अनारको रस सेवन गर्न सकिन्छ?

‘एसीई इनहाइबिटर’ उच्च रक्तचाप नियन्त्रण, हर्ट फेलर, मिर्गौला रोग, मधुमेहको उपचारमा प्रयोग गरिने औषधि हो। यी औषधि सँगसँगै अनार वा यसको रस सेवन गर्दा औषधिको असर बढाई रक्तचाप कम हुन सक्छ। उच्च रक्तचापको औषधिका साथै अनार पनि खाँदा रक्तचाप एकदम कम हुन सक्छ। स्टेटिन जस्ता रक्त कोलेस्ट्रोल कम गर्ने औषधि सेवन गरेको अवस्थामा औषधिको असर बढाइ यसले प्रतिकुल असर पुर्याउँछ।

‘भल्भ रिप्लेसमेन्ट’, ‘डीप भेन थ्रोम्बोसिस’, ‘एट्रेल फाइब्रिलेसन’ जस्ता रोगको उपचारमा वारफेरिन औषधि प्रयोग गरिन्छ। यो औषधिका साथसाथै अनार तथा यसको जुस पनि सेवन गर्दा वारफेरिनको प्रभावकारिता बढाई रक्तश्राव हुन सक्छ।

साथै क्यान्सरको औषधोपचारमा रहेकाले सम्बन्धित चिकित्सकलाई सूचित गरेपश्चात अनार खाए राम्रो हुन्छ। अनारसँग खाँदा केही प्रकारको औषधिको प्रभावकारिता कम हुने पक्षलाई भुल्नु हुँदैन। त्यसकारण अनारका थुप्रै गुणहरू भए पनि आफ्नो अवस्था तथा रोगलाई नबुझी अत्यधिक मात्रामा सेवन गर्दा फाइदा भन्दा बेफाइदा हुन सक्ने भएकाले चनाखो हुनु जरुरी छ।

डा. सुनिल चन्द्र झाको डाक्टर साहेब भन्नुहुन्छ… पुस्तकबाट

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या