Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

टीका लगाउन थालेको भए बच्चाको ज्यान जाने रहेछ….

टीका लगाउन थालेको भए बच्चाको ज्यान जाने रहेछ….

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराललाई हामीले दशैँ अनुभव र यसपालिको दशैँ कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौँ। उनको जवाफ जस्ताको तस्तै–

यसपालि मैले टीका लगाउन मिल्दैन। ससुरा बुबा बितेकाले हामी टिका लगाउँदैनौं। त्यसैले म यसपटक अलि ‘फ्री’ नै छु भने पनि हुन्छ। टीका नभएकाले यसपटक अरु नै काममा व्यस्त छु। दशैँकै सेरोफेरो पारेर दिल्ली जाँदैछु। ‘क्यान्सर सर्भाइभर’ मनिषा कोइराला, सोनाली बेन्द्रे, इमरान खानसँग टक कार्यक्रम छ त्यहाँ जाँदैछु।

घुम्न जाने ‘प्लान’

त्यहाँबाट फर्केपछि परिवार र साथीभाइहरूसँग रारा घुम्न जाने योजना बनाएका छौँ। त्यसका लागि भनेर यसपटक अलि बढी बिदा पनि लिएको छु। तर कार्यक्रम फिक्स भइसकेको छैन।

डाक्टरको दशैँ

हामीले दशैँ भनेर बिदा पाउने भन्दा पनि ‘रोटेसन’ मिलाएर काम गर्ने हो। त्यसमा पनि हामी केही ‘इमरजेन्सी’ आउन सक्छ कि भनेर ‘अन कल’ बस्नुपर्ने हुन्छ। त्यो भनेको कुनै बिरामी आउने बित्तिकै जहाँ भए पनि दौडिहाल्नुपर्छ । धेरै दशैँहरु मैले अस्पतालमा बिरामीसँग बिताएको छु। अरु जस्तै घरमै बस्छु भन्न पाइँदैन, पेशागत धर्मका कारण।
बिदा नहुने हुनाले अन्य दिन र चाडबाडमा हामीलाई खासै फरक पर्दैन। घरमा बसे वा बाहिर निस्के पनि ध्यान भने अस्पतालबाट फोन आउँछ की भन्नेमा हुन्छ। यसलाई नै रमाइलो मान्नु पर्छ हामीले। अब त बानी नै परिसक्यो । परिवार पनि अभ्यस्त भइसक्यो, यस्तै हो भन्ने।

२४ वर्षअघिको दशैँ

त्यतिवेला म बीएनबी अस्पतालमा काम गर्थेँ। टीकाको तयारी हुँदै थियो। अस्पतालबाट कल आयो, ‘इमरजेन्सी छ तुरुन्त आउनु पर्यो’ भनेर। घरमा ‘तिमीहरू टीका लगाउँदै गर, म बिरामी हेरेर आउँछु’ भनेर हिँडेको तीन दिनसम्म घर जान पाइनँ।
ब्लड क्यान्सर भएको बच्चाको केस थियो। त्यसबेला मैले टीका लगाएर आउँला भनेको भए उसको ज्यानै जाने रहेछ। निकै सिरियस थियो। म गएर उपचार शुरु गरिहालेँ। पछि बच्चा राम्रो भयो। मेरो टीका भन्दा त्यो बच्चाको ज्यान धेरै ठूलो हो नि१ यस्तै कुराले सन्तुष्टि दिन्छ र त चाडबाडमा छुट्टी नपाउँदा पनि कुनै गुनासो छैन ।

आत्मसन्तुष्टि नै ठूलो

हामी डाक्टरका लागि बिरामीको ज्यान बचाउन पाउँदाको जस्तो आत्मसन्तुष्टि अरु केहीमा हुँदैन। हामीले रमाइलो गरेर बस्दा अस्पतालमा उपचार नपाएर बिरामीको ज्यान जानसक्छ । त्यसैले हामी के चाडबाड के अरु दिन भनेर २४ घण्टा नै ड्युटीमा हुन्छौँ।

दशैँका बिरामी

यो बेला मासु, मदिरा र बढी चिल्लो मसालेदार खाना खाएर अझ बढी बिरामी आउँछन्। म क्यान्सर विशेषज्ञ भएको नाताले दशैँपछि क्यान्सरका बिरामीमा बढी नै जटिलता हुने गरेको पाएको छु। यो समय नर्मल बिरामी पनि दशैं त हो भन्दै उत्साहित भएर बढी मासु र अन्य खानेकुरा खाइदिन्छन् जसले गर्दा जटिलता आउँछ। अस्पताल दगुर्नुपर्छ। त्यसैले यो बेला अझ बढी बिरामीको सेवा गर्नुपर्छ ।

सन्देश

घर परिवारसँग बसेर रमाइलो गरेर दशैँ त मनाउँनुस्। तर अनियन्त्रित खानपानका कारण स्वास्थ्यमा समस्या ननिम्त्याउनुस् भन्छु। जथाभावी खाएर बिरामी नपर्नुस्। यसले तपाइँलाई पनि दुःख हुन्छ। हामीलाई पनि सास्ती हुन्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?